मैले एड्स सरेको छ दाइ, प्लिजभन्दा उनीहरूले बाहना बनाएको भनेर भन्दाभन्दै जबरजस्ती यौन सम्पर्क गरे

लाइट नेपाल

स्टेजमा रंगीबिरंगी बत्ती बलिरहेको छ । साथमा चर्को आवाजमा गीत बजिरहेको छ, ‘छुनलाई होइन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ…’ । त्यही गीतको हाउभाउमा नाचिरहेकी छिन्, कविता -नाम परिवर्तन) । केही क्षणमा गीत सकिन्छ । तर, बत्ती निभ्दैन । तुरुन्तै सुरु हुन्छ नयाँ हिन्दी गीत, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए..’ । तर, कविताको ठाउँमा अर्कै एक युवती स्टेजमा देखापरिसकेकी छिन् ।

कविता फ्लोरमा बसेका ग्राहकनजिक जान्छिन् र चर्को गीतको आवाजका कारण ग्राहकको कानैमा गएर सोध्छिन्, ‘दाइ, के ल्याउ“, मलाई जुस त खुवाउने होला नि ?’ ‘होइन केको जुस, तिमीलाई त म ज्यानै दिन तयार छु नि, कम्ताकी राम्री छौ तिमी,’ उत्तर पूरा हुँदा नहुँदै कवितालाई अर्को टेबलमा जाने हतार भइसकेको छ । अर्को टेबलमा पनि उनको त्यही प्रश्न ।

गोरो अनुहार, प्रकाशमैत्री र छोटा कपडाले कवितालाई सुन्दर देखाएको छ । झट्ट हेर्दा उनको जीवनको रंग अत्यन्तै रमाइलो जस्तो लाग्छ । तर, उनको कथा सुन्ने हो भने उनको यो अवस्था त सोकेसमा सजाइएको कुनै सुन्दर फूल मात्रै हो भन्ने सहज अनुमान हुन्छ । ‘अब त यही पेसामा लागेको ६ वर्ष भइसक्यो, विगत सम्झँदा पनि मुटु भक्कानिएर आउँछ’ कविता भन्छिन्, ‘सुरुमा बारमै भए पनि नाचगान गर्दा कलाकार हुने बाटोमा छु भन्ने लागेको थियो तर कहाँ त्यसो रहेछ र ? आखिर सरसंगतले रात्रिजीवन नै प्यारो लाग्न थालेको छ ।’

रात्रिजीवन प्यारो नलागोस् पनि किन, कविताले काठमाडौँलाई पाँच वर्षसम्म दिउँसोको चर्को घाम या झरीमा हेर्नै पाएकी छैनन् । रातभर ठमेलको डान्सबारमा काम गर्ने उनी दिनभर सुत्छिन् । साँझ उठेर केही गर्न पाएको हुँदैन, रेस्टुरेन्टबाट फोन आइहाल्छ, ‘तिम्रो डिमान्ड आयो, चाँडै आऊ न ।’ उनले काम गरेको रेस्टुरेन्ट चारतले घरको तेस्रो तलामा छ । सिँढी उक्लिँदै तेस्रो तलासम्म पुग्दा उनले ठूलो स्वरमा बजाइएको गीत सुन्छिन्, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ । तर, मनमनै गीत गुनगुनाउँदै सिँढी उक्लिन्छिन्, ‘जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो बुझ्नै सकिनँ…।’ उनी भन्छिन्, ‘यो भर्‍याङ चढ्दा मैले कहिल्यै पनि खुसीका गीत गाएकी छैन, सधैँ विरहका गीत गाउनुपर्छ । मलाई थाहा छ, एकछिनपछि म मुन्नी बदनाम हुई गीतमा नाच्दै छु, तर सिँढी उक्लदाँ किन-किन जिन्दगीले धोका दिएको गीतको नै याद बढी आउँछ ।’
कवितालाई १५ वर्षकी हुँदासम्म काठमाडौंको एउटा बारमा नाच्छु भन्ने लागेकै थिएन । विद्यालयमा जेहेनदार विद्यार्थीका रूपमा उनको चर्चा हुन थालिसकेको थियो । नहोस् पनि किन, कक्षा आठसम्म उनी कहिल्यै दोस्रो भइनन् । ‘त्यतिवेला त सबैले मलाई माया गर्थे,’ उनी भन्छिन्, ‘माया त अहिले पनि गर्छन्, तर त्यो वेलाको माया र अहिलेको माया, कुन हिसाबमा पो दाँज्न मिल्ला र ?’ सिन्धुपाल्चोकको एउटा गाउँमा रमाइरहेको उनको जवानीले उनलाई नै धोका दियो । जब उनका बाबुले दोस्री आमा ल्याए, उनकी आमाले उनलाई पनि छाडेर अरू कसैसँग गइन् ।
त्यसपछि एक्लो भएको उनको जवानीमा साथ दिन आए गाउँकै एक युवक । त्यो युवकले उनलाई प्रपोज गरे, ‘काठमाडौं हिँड, म तिमीलाई एउटा जागिर लगाइदिन्छु ।’ पढ्दापढ्दैको स्कुल छाडेर उनलाई काठमाडौं आउन पटक्कै मन थिएन तर घरमा बस्ने वातावरण पनि त थिएन । ‘त्यसपछि म एक रात त्यो दाइसँग भागेर काठमाडौं आएँ,’ उनी विगतलाई सम्भिmन्छिन्, ‘तर ती दाइले मलाई राम्रो ठाउँमा जागिर लगाउन सकेनन् ।’ सुन्दर अनुहार, छरितो शरिर र बाहिरी मुस्कान लिएर भित्र जति नै पीडा भए पनि एकदिन उनी ठमेलमा हाल काम गरिरहेको बारमा पुगिन् । उनको सुन्दरतालाई देखेर बारमा सहजै उनलाई काम दिने निर्णय गरियो ।

‘त्यसपछि सुरु भएको मेरो रात्रिजीवन अझै चलिरहेको छ, सायद यही जीवनमा नै अन्त्य हुन्छ होला,’ पछाडि बजिरहेको चर्को संगीतलाई कतै पाखा लगाउँदै उनी मनको बह पोख्छिन्, ‘पहिलो दिन यहाँ नाच्दा मलाई कुनै फिल्ममा काम गर्ने कलाकारसम्म हुन्छु भन्ने लागेको थियो तर त्यो सपना त आफैँ कता बिलायो-बिलायो ? मलाई नै पत्तो छैन ।’ बारमा उनीपछि केही उनकै उमेरका साथी आए । पहिले काम गरिरहेका र नयाँ साथीले उनलाई जीवन बाँच्न यति धेरै सिकाए कि अहिले उनलाई लाग्छ, उनले जीवन पनि पूरै बाँचिसकेकी छिन् । ‘आखिर अब के नै बाँकी पो होला र ?’ उनी भन्छिन्, ‘केही पहिलेसम्म लाग्थ्यो राम्रो पढेर म देशको सेवा गर्नेछु ।’ उनको सपना कुनै नयाँ सपना थिएन । अधिकांश नेपाली बालबालिका तथा युवाले भविष्यमा केही गर्छु भन्ने सोच्ने नै गर्छन् । आफ्नो कुनै योग्यताको उपयोग गर्ने उनीहरूमा दृढसंकल्प हुन्छ ।

तर, यो पेसाका लागि योग्यता भनेको उनको मिलेको शरीर नै काफी भयो । उनको सुन्दरता र मीठो बोली यो पेसाका लागि न्यूनतम र अधिकतम दुवै आवश्यक योग्यता साबित भयो । ‘यहाँ काम गरेर आधा जिन्दगी त बाँचियो तर अब के हुने होला ?’ उनी भन्छिन्, ‘सोच्दा पनि मन जिरिंग हुन्छ । मलाई मेरो जिन्दगी नै कता जाँदै छ भन्ने थाहा छैन ।’ त्यसो त उनी काठमाडौं आएदेखि नै एकपटक पनि गाउँ फर्केकी छैनन् । ‘यो चुरोटको धुवाँले सबै बिर्साउन थालेको छ,’ एक सर्को सूर्य चुरोट तान्दै उनी भन्छिन्, ‘आजभोलि हरेक रात मात्तिन थालेको छु, जिन्दगीदेखि जिन्दगी आत्तिन थालेको छ…।’ उनलाई यसरी मात्तिएको एकदमै मन पर्छ रे । हरेक रात उनी तीन गीतमा नाच्छिन् । अन्तिम गीतमा नाच्दा त उनलाई कसरी नाचिएको छ, थाहा नै हुँदैन, रक्सीको नशाले । ‘पिउन पनि कम पिइँदैन,’ उनी भन्छिन्, ‘यही रक्सीको मातले मेरो जिन्दगीलाई चाँडै बिदा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।’
उनलाई यो संसारमा लामो समय बाँच्न मन पनि छैन । ‘केही वर्ष अगाडिसम्म थियो,’ उनी भन्छिन्, ‘त्यो वेला लामो समय बाँचँुला र जिन्दगीमा केही काम गरुँला भन्ने लागेको थियो, त्यसैले केही पैसा कमाउने सोचमा पनि थिएँ, अलिअलि त बचाएकी पनि थिएँ । तर, अहिले एक सुको कतै राखेको पनि छैन ।’ आखिर दैनिक जीवन चलिरहेको छ भने किन पैसाको खाँचो पर्ला र भन्ने उनलाई लाग्न थालेको छ । उनको यो जीवनबाट बाहिर आएर समाजमा यही पेसामा लाग्ने दिदीबहिनीका लागि केही नयाँ काम गर्ने सोच त्यतिवेला तुहियो जतिवेला उनले आफू एड्सको संक्रमित भएको थाहा पाइन् ।
‘त्यो दिन सम्झन पनि चाहन्नँ,’ उनी भन्छिन्, ‘केही नयाँ गरौँला भनेर एक भारतीयले मलाई प्रस्ताव गरेकाले उनीसँग एकरात बिताएँ । बिहान उनले दिएको पैसाको बिटो पनि लिएर बाटो लागेँ । तर, एक वर्षपछि रगत परीक्षण गर्दा मलाई थाहा भयो, मलाई त एड्स लागेको रहेछ ।’ केवल त्यही एउटा रात उनको जीवनलाई नयाँ मोड दिन काफी भयो । जब उनलाई एड्स लागेको थाहा भयो, त्यसपछि उनको केही भए पनि जागेको जोस आफैँ सेलाउँदै गयो । ‘छिट्टै केही गर्नुपर्छ भन्ने लागेर मैले एक लाखजति जम्मा पनि गरिसकेकी थिएँ तर पछि मलाई किन पैसा चाहियो र भन्ने सोच्दै गएँ, अहिले त एक कौडी पनि छैन मसँग,’ उनी भन्छिन् ।

आफूलाई एड्स लागेको दिनदेखि उनलाई प्रत्येक दिन निरस लाग्दै गएका छन् । वेलावेलामा त उनी आत्महत्या गर्ने सोच पनि बनाउँछिन् तर त्यही कुरा भने लामो समय उनको दिमागमा रहन पाउँदैन । किनकि, जब उनलाई आत्महत्याबारे सोच आउँछ, तब उनी एउटा चुरोट झिकेर सल्काउन थालिहाल्छिन् ।
अफसोस गर्नुपर्ने कुरा उनीसँग धेरै छन् । गाउँबाट भागेको केही महिनामा उनका बाबु उनलाई लिन आएका थिए, उनी फर्किइनन् । एकजना सुन्दर र धनी युवाले बिहेको प्रस्ताव राखेका थिए, उनले इन्कार गरिदिइन् । डान्सबारमा काम गर्न थालेपछि उनलाई एकजना मानिसले सामान्य होटेलमा काम गर्न हिँड भनेका थिए, पैसा कम हुन्छ भनेर उनले त्यो कुरालाई नसुनेजस्तो गरिदिइन् । एक विधुर पुरुषले उनलाई श्रीमती हुने प्रपोज गरेका थिए, उनले हाँसेर नै उडाइन् । तर, जब उनले केही पैसा कमाउने सोच बनाएर एक भारतीयको प्रपोज मानेकी थिइन्, उनको जिन्दगी नै बढो अप्ठ्यारोमा पर्‍यो । उनको एउटै ठूलो सहमतिले उनलाई एड्स सारिदियो ।

तर, सबैभन्दा महत्त्वपूर्ण त उनले अरू दुई जनालाई एड्स सारिदिइन् । यो कुरा उनी भन्न नै चाहन्नन् । ‘मन भएर होइन, बाध्यताले हो,’ उनी भन्छिन्, ‘मैले नमान्दा-नमान्दै दुई युवाले जबर्जस्ती गरे । मैले एड्स सरेको छ दाइ, प्लिजभन्दा उनीहरूले बाहना बनाएको भने । मलाई यो कुराको याद मात्रै आयो भने पनि अत्यन्तै नरमाइलो लाग्छ, दिक्दार लाग्छ ।’ तर, जे-जे लागे पनि उनले आफ्नो कमजोरी स्विकारिन् । आजभोलि उनी त्यही भएर कुनै पनि टेबलका ग्राहकसँग लामो समय बस्दिनन् । ‘बढी सामिप्य भयो भने ग्राहक आफँै कर गर्न थाल्छन्,’ उनी फेरि गल्ती नदोहोर्‍याउने सोचका साथ भन्छिन्, ‘मलाई आफू बिग्रे पनि समाज बिगार्नु छैन ।’

हाम्रो संदेश डटकमबाट साभार 

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com