आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५औँ स्मृति दिवस

लाइट नेपाल

काठमाडौ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५औँ स्मृति दिवस विविध कार्यक्रम गरी बिहिबार मनाइँदैछ । विसं २०३९ साउन ६ गते क्यान्सर रोगबाट कोइरालाको निधन भएको थियो । राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भएको थियो । सुवर्ण शम्शेरलगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००६ मा स्थापना भएको नेपाली राष्ट्रिय काँग्रेससँग एकता भएपछि सशस्त्र क्रान्तिको घोषणा भयो । यही क्रान्तिले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना ग¥यो । यसपछि बनेको राणा काँग्रेस सरकारमा कोइराला गृहमन्त्री बने । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।


कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई जेल हाले । विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइयो । विसं २०१५ अघि ‘दोषी चश्मा’ कथा संग्रहमार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका कोइरालाले सुन्दरीजल बन्दी गृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गरे । जेलमा बिपीले रचना गरेका साहित्यिक कृतिमा ‘श्वेत भैरवी’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘हिटलर र यहुदी’ ‘नरेन्द्र दाइ’लगायत छन् ।

बिपीले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पु¥याएको योगदान, जेल जीवनलगायत विषयमा उनसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई भारत निर्वासनबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगेपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ लगायत पुस्तक पनि प्रसिद्ध छन् ।

कोइरालालाई विसं २०२५ मा सुन्दरीजल बन्दी गृहबाट उपचारका लागि रिहा गरिएको थियो । रिहा भएपछि पनि उन प्रजातन्त्र पुनःस्थापनाका लागि पुनःसक्रिय हुनुभयो । जेलबाट रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील भएका कोइराला विसं २०३३ मा राष्ट्रियतामाथि खतराको बादल मडारिएको ठहर गर्दै आठ वटा मृत्यु दण्डका मुद्दाको प्रवाह नगरी एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्के ।

स्वदेश फर्किएर मृत्युदण्डका मुद्दाको सामना गर्दैै कोइरालाले बहुदलीय व्यवस्था र सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाबीच जनमत संग्रह गराउन नेतृत्वदायी भूमिका निर्वाह गरे । जनमत संग्रहमा विभिन्न हत्कण्डा अपनाइ बहुदल पक्षलाई हराए पनि उनले परिणाम स्वीकारे । प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै ६ साउन २०३९ मा उनको दुःखद निधन भयो । कोइराला प्रजातान्त्रिक समाजवादका ब्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत सक्रिय थिए । उनको ३५औँ स्मृति दिवस विभिन्न संस्थाले विविध कार्यक्रम गरी शुक्रबार मनाउँदैछन् । रासस

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com