मदनभण्डारीलाई आदर्श राजनीतिज्ञ मान्ने बीपीको विचारलाई सम्मान गर्ने देवी ज्ञवालीः जसले मन जिते मत जितेनन्

लाइट नेपाल

मामाहरु राजनीतिज्ञ नै त थिएनन् तर बामपन्थी विचारलाई समर्थन गर्थे । स्थानीय स्तरमा हुने राजनीतिक क्रियाकलापमा सहभागी हुन्थे । २०१९ सालमा पर्वतमा जन्मिएका देवी मामाहरुकै कमिजको फेर समाएर हिँड्थे । पुष्पलाल सांस्कृतिक समूहमा मामा र दाई आबद्ध थिए ।

त्यो समूहले विसं. २०३० सालमा नाटक गर्ने भयो । नाटक थियो–‘५० रुपैयाँको तमसुक’ । त्यो नाटकमा बालपात्र चाहियो ।देवी बालपनमै हिँडिरेका थिए । उनलाई मामा र दाईले नाटकमा खेल्न भने । बालसुलभ उनलाई केही थाहा थिएन । थियो त केवल आफू भन्दा ठूला मान्छेले भनेको मान्नुपर्छ । उनले आज्ञा शिरोपर गरे । नाटक खेले । ‘नुमा’ भन्ने बाल पात्रमा उनले अभिनय गरे । “त्यो बेला म बामपन्थी हुँदैछु भन्ने थाहा थिएन ।

तर राजनीतिमा तानिएको भनेँ त्यही बेलादेखि हो,” देवीले आफ्ना पुराना दिन सम्झिए,“पछि उहाँहरुसँग हिँड्दै जाँदा शोषक, सामान्त र गरिबका पक्षमा लड्ने बामपन्थीले नै रहेछ भनेर थाहा भयो । म उनीहरुबाट प्रभावित हुँदै गएँ र त्यतैतर्फ आकर्षित भएँ ।”

पर्वत रानीपानी गाविसबाट देवीको परिवार आफ्नो थातथलो छोडेर चितवन झर्यो । ०४३ सालमा उनी स्कुलमा पढ्दै थिए । तत्कालीन मालेका नेता गोपाल शाक्य देवीका शिक्षक विष्णु घिमिरेकोमा आउँदा रहेछन् । देवी र उनका शिक्षक विष्णुको घर सँगै थियो ।

देवी लगनशील विद्यार्थी थिए । विष्णुले राम्रो विद्यार्थी भन्दै उनलाई बामपन्थी पुस्तकहरु ‘आमा’, ‘अग्नी दिक्षा’ जस्ता किताव दिन्थे । देवी सानै उमेर भए पनि ति पुुस्तक अक्षरस पढ्थे । ति पुस्तकको अध्ययनले बामपन्थी राजनीतिप्रति देवीको झुकाव झनै चहकिलो बनाइदियो ।
० ० ०
गोपाल शाक्य नख्खु जेल तोडेर नवलपरासी हुँदै चितवन पुगेका रहेछन् । उनीसँग देवीको भेट भयो । पछि केदार न्यौपाने, मुकुन्द न्यौपानेसँग पनि देवीको भेट भयो । उनीहरुले देवीलाई पार्टीको काम लगाउन थाले । देवीडाक्टर हुन चाहन्थे । तर, सम्पर्कमा रहेका बामपन्थी नेताहरु उनलाई राजनीतिक क्रियाकलापमा केन्द्रित गर्न थाले ।

देवीले भने, “म राजनीतिज्ञ होइन डाक्टर हुन चाहन्छु ।” उनीहरुले देवीलाई प्रश्न गरे,– तपाइँ डाक्टर हुँदा मान्छेको उपचार गर्नुहुन्छ । तर देशलाई नै रोग लागेको छ भने देशको उपचार कसरी गर्ने ? जब देश नै रोगी छ भने तपाइँले एक/दुई जना रोगी मान्छेको उपचार गर्दैमा देश बन्छ ?

६ कक्षामा पढ्दै गरेका उनलाई गोपाल, केदार र मुकुन्दको त्यो प्रश्नले मुटुसम्मै छोयो ।

उनले गम्भीर भएर सोचे । ‘मान्छेको उपचार गर्ने कि देशको ?’ देशकै उपचार गर्नुपर्छ भन्ने जिक्र्यौल निकाले र राजनीतिमा होमिए ।

लगनशील देवी ०३७ सालमा चितवनमा अखिलको अध्यक्ष भए । अखिलको केन्द्रीय नेतृत्वले सम्मेलन गर्दै देवीलाई चितवनको अध्यक्ष बनाइदियो । एमालेका अहिलेका पोलिट्ब्यूरो सदस्य कांशीनाथ अधिकारी चितवन गएपछि उनलाई अध्यक्ष बनाएर देवी सचिव पदमा बसेर काम गर्न थाले ।

०३८ साल भर्खर सुरु भएको थियो । देवीलगायतका कार्यकर्तालाई पढाई छोडाएर पार्टीले पञ्चायत विरोधी आन्दोलनमा लगायो । देवी पढाई, घरपरिवार सबै छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता हुँदै राजनीतिक परिवर्तनका लागि समाहित भए ।

० ० ०
चितवन, मकवानपुर, सिन्धुली, ललितपुर, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पार्टीले दिएको जिम्मेवारी अनुसार देवीले काम गर्न थाले । त्यतिबेला उनको दिमागमा आफूलाई जन्माएर हुर्काएको परिवार र भविश्यसँग जोडिएको छोडेको अध्ययनको केही ख्यालै हुँदैन थियो । मात्रै बहुदलीय व्यवस्थासहितको समृद्ध नेपालको सपना हुन्थ्यो ।
०४६ सालको जनआन्दोलनमा उनी बारा जिल्लाको पार्टी सचिव भए । (त्यो बेला सचिव मुख्य पद हुन्थ्यो ।)

०४७ सालमा तत्कालीन माले महासचिव मदन भण्डारीले ‘तपाइँ आफ्नै जिल्ला चितवन फर्किनुस् र खुला राजनीति गर्नुस्’ भने । ०४७ को जेठमा उनी गृह जिल्ला चितवन फर्किए । तत्कालीन मालेको जिल्ला सचिव भएर काम सुरु गरे ।

राजनीतिमा अनवरत संघर्ष गर्दै गरेका उनी राजनीतिक खुड्किलो उक्लिँदै गए । ०५० सालमा पार्टीले उनलाई अञ्चल सचिवको जिम्मेवारी दियो । त्यो जिम्मेवारी कुशलतापूर्क निर्वाह गरेको देवी सम्झिन्छन् ।

०५४ सालमा तत्कालीन स्थानीय निकायको निर्वाचन हुने भयो । पार्टीले देवीसँग छलफल गर्यो । भरतपुर नगरपालिकामा चुनाव लड्नुपर्छ भन्यो । उनी भने त्यो समय चुनाव लड्न चाहँदैन थिए । तर, पार्टीले निर्णय गरिसकेको थियो । उनलाई उप–प्रमुखमा लड्न चिठ्ठी लेखिसकेको थियो । अन्ततः उनी उमेदवारमा खडा भए । जनताले उनलाई पत्याए । देवीले पाँच हजार मतान्तरले आफ्ना प्रतिस्पर्धी (कांग्रेस) लाई पाखा लगाउँदै उप–प्रमुखको कुर्सी सुरक्षित गरे ।

० ० ०
उप–प्रमुखको पद सम्हालेको दोस्रो दिन नै दलबलसहित स्थानीय नागरिक उनको कार्यालय घेराउ गर्न आइपुगे । उनीहरुको माग थियो, ‘हामीलाई खाने पानी देऊ’ । जेठको अन्तिम समय थियो । चर्को धुप थियो । इनार र कल सुकेका थिए । नागरिक पानी मागिरहेका थिए । देवीले कार्यभार समेटेको दुई दिनमा भएको थियो त्यो घटना ।

देवीले भने,–“पानीका मुहान सुकेका छन् । घरको धारमा म पानी दिन सक्तिन । भाँडा थाप्नुस् म पानी भरिदिन्छु ।” उनले ट्यांकरबाट पानी लगेर नागरिकलाई दिए ।

वर्षा लाग्यो । मुहान पलाए । देवीले ट्यांकरबाट नागरिकलाई पानी दिनुपरेन । तर समयको चक्र घुमुरह्यो । फेरी आयो खडेरी । पानीकामुहान उसैगरी सुके । पानीको मुहान सुके सँगै देवीको निद्रा पनि हरायो ।

एडीवी लगायतका दातृ निकायलाई उनले गुहारे । शहरी वातावरणीय आयोजना नामक परियोजना सञ्चालन गरे । यो परियोजना अन्तरगत उनले भरतपुरमा खाने पानी, ढल, वर्षात, फुटपाथ, गरिबी निवारण, ग्रिनरी, बसपार्क, शिक्षा लगायतका क्षेत्रमा काम गरे । यसका लागि एडीबीसँग उनले ७२ करोड रुपैयाँ लोन लिएका थिए ।

उनले फोर व्यवस्थापनका लागि नयाँ परियोजनाको प्रस्ताव एडीबीसँग गरे । “एडीबीले असम्भव हावादारी प्रस्ताव भन्दै अस्वीकार गर्यो । मैले उसलाई मेरो ड्रिम प्रोजेक्ट भनेर कन्भिन्स गरें । चितवनको सम्पत्ति नेसनल पार्क हो । यहाँका जनावर फोहोर मास्दैछ । त्यसलाई रोक्नुछ भनेँ । नारायणी चितवनको सम्पत्ति हो यसका जलचर जनावर मर्छन् त्यसलाई मैले बचाउनुछ भनेँ,” उनले सम्झिए ।

“चितवनको पर्यटनलाई बचाउँदै यहाँबाट प्राप्त हुने आयलाई सुरक्षित गर्छु भनेपछि मलाई एडीबीले पत्त्यायो । सय किलोमिटर कालोपत्रे हामीले ५ वर्षको कार्यकालमा गर्यौं । त्यही बेला म जनताका समस्यासँग एकाकार भएँ । मलाई जनताले विश्वास गर्नुभयो । जनताको मनोभावना अनुसार काम गरेपछि मलाई यहाँका नागरिकले देवी ज्ञवाली इमान्दार रहेछ भनेर चिन्नुभयो,” उनले भने । त्यही बेलाको नागरिकसँगको आफ्नो सम्बन्ध र विश्वासका कारण पार्टीले जनभावनाको करद गर्दै आफूलाई मेयरका लागि टिकट दिएको उनले सम्झिए ।

० ० ०
व्यक्तिसँग लडेको भए आफूलाई समस्या र जितको चुनौती खासै नहुने रहेछ भन्ने अनुमान लगाउँदै देबीले भने, “तर मैले अहिले दुई पार्टी त्यो पनि सत्तारुढ दलसँग एक्लै चुनाव लड्नुपर्यो । यही नै मेरो लागि चुनौती थियो ।”

सत्तारुढ दल मात्रै होइन मुख्य दलसँग उनले लडे । त्यतिमात्रै पनि होइन दुई पूर्वप्रधानमन्त्रीको गठजोड भएका उमेदवारसँग लडे । “प्रधानमन्त्री शेरबहादुरज्यू र तत्कालीन वहालवाला प्रधानमन्त्री ज्यूसँग म चुनाव लडिरेहको मैले अनुभूति गरेँ । म वाहालवाला प्रधानमन्त्री र पटपक–पटक प्रधानमन्त्री भएका दुई प्रधानमन्त्रीसँग चुनाव लडेँ,” देवीले भने, “त्यतिात्रै पनि होइन सिंगो राज्यशक्तिको दुरुपयोग भइरहेको सबैलाई थाहैछ । दुई पूर्वप्रधानमन्त्री र सिंगो राज्यशक्तिसँग एक्लै लडेँ । यति हुँदा पनि मैले सुरुदेखिनै अग्रता लिएँ । मलाई यहाँका नागरिकले माया गर्नुभयो । मप्रति विश्वास देखाउनुभयो । ठूला शक्तिशालीहरुको धेरै स्रोत र साधनको दुरुपयोग भयो । यो कसैबाट लुकेको छैन । म एक्लै भए पनि ढलेको छैन । खडा छु । त्यसैले मलाई साथ दिने नागरिकका लागि म कामगर्छु । भरतपुरबासीको सेवामा अझै पनि समर्पित हुन्छु ।”

प्रतिस्पर्धामा एक्लो भएर खडा हुँदा आफ्नो सीप, बुद्धी र श्रम भने पर्याप्त खर्चिनुपरेको देवीले सुनाए ।

भरतपुर महानगरलाई सुखी समृद्ध बनाउने आफ्नो दायित्व भएको उनको भनाइ थियो । सुखी हुँदैमा कोही खुसी हुँदैन भन्ने उनी भरतपुर महानगरबासीलाई सुखीसँगै खुसी बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । यसका लागि उनी आम नागरिकसँगै चुनावमा आफूसँग प्रतिस्पर्धामा खडा हुने राजनीतिक दल र व्यक्तिलाई पनि सँगै लिएर हिँड्ने बताएका थिए ।
देवी मदनभण्डारीलाई आदर्श राजनीतिज्ञ मान्छन् भने बीपीको विचारलाई सम्मान गर्दै यही दुई नेतालाई नेपाली राजनीतिज्ञका सर्वश्रेष्ठ व्यक्ति मान्छन् । गोपाल शाक्य र जीवराज आश्रितलाई राजनीतिक गुरु मान्छन् भने हात समाएर राजनीतिमा हिँडाउने नेताका रुपमा केदार न्यौपाने, मुकुन्द न्यौपानेलाई ठान्छन् ।

यस्ताथिए उनका विकासे एजेन्डाः

२९ वटै वडाका हरेक घरमा स्वच्छ पानी पिउने व्यवस्था
२९ वटै वडामा १२ महिना रोडकनेक्भिटीको व्यवस्था
वातावरण सुरक्षा सुन्दर शरहर बनाउने
प्रत्यक नागरिकलाई अनलाईन आईडी कार्डको व्यवस्था
वडाहरुलाई ब्लकमा विभाजन गरेर, सूचना प्रदान गर्दै नागरिकलाई राजस्वको दायरमा ल्याउने
शान्ती, सुरक्षाको चुस्त दुरुस्थ व्यवस्था नारायणीलाई चितवनको दुःखबाट बारदाको रुपमा परिणत गर्ने
हाइड्रोपावर, तटबन्द तथा नदीउकासको जग्गा व्यापारिक प्रयोजनमा प्रयोग गर्ने ।
अब्यबस्थित शहरलाई व्यवबस्थित गर्दै व्यवस्थित शहरीकरण गर्ने
सुकुम्बासीहरुलाई नदीउकासबाट आएको जग्गामा केन्द्रित गर्ने

 १२ खरिमा नरेश फुयाँलले लेखेको समाचार हामीले साभार गरेका हौ

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com