बालिकालाई मृत्युको मुखबाट फर्काए इजरायलमा रहेका नेपालीहरुले, दुखमा साथ दियो सोसाइटी अफ हेल्पिंग हर्ट्सले (भिडियोसहित)

लाइट नेपाल

श्रृजना आचार्य, काठमाण्डौ, २२ साउन । लाइट नेपालको प्रयासमा एउटी १० वर्षीया बालिकाले पुनर्जिवन पाएपछि त्यो खुसी सुनाउन बालिकाका परिवार आइतवार लाइट नेपालको कार्यालयमा  आइपुगे । जाजरकोट स्थायी घर भई बुटवलमा बस्दै आएका लक्ष्मण कुमार सिंह आफ्नी १० वर्षीया छोरी अश्मीलाई लिएर आइतवार काठमाण्डौको अनामनगर स्थित लाइट नेपालको कार्यालय आइपुगेका हुन् ।

केही समय अघि छोरीलाई ब्रेन ट्युमर भएर औषधि उपचार गर्न नसकीरहेको अवस्थामा लाइट नेपालवाट सो सम्बन्धि समाचार प्रशारण भए पछि इजरायलमा रहेका “सहयोगी मनहरुको समाज” मार्फत बालिकाको उपचारका लागि आर्थिक सहयोग संकलन भएको थियो ।

विपन्न सिंह परिवारले आर्थिक अभावका कारण ब्रेन ट्युमर भएकी छोरीको वुटवलमै सामान्य उपचार मात्र गराइरहेका थिए । लाइट नेपालमा समाचार आएपछि सो संस्थाका अध्यक्ष कृष्ण  ज्ञवाली बालिकाका बुवा लक्ष्मणको सम्पर्कमा आए । “लाइट नेपालले हाम्रो कुरा वाहीर ल्याइदियो, लाइट नेपालको कार्यालयमै आइपुगेका सिंहले भने, सबैले हाम्रो समस्या थाहा पाएपछि सहयोगी मनहरुको समाजले आर्थिक सहयोग गर्यो । आज मेरो छोरी तपाईहरुका सामु सकुशल छ ।”उनले छोरीलाई पुनर्जीवन दिने सबैप्रति आभार ब्यक्त समेत गरेका छन् ।

“चिकित्सकले ३ लाख रुपैया डिपोेजिट गर्नुपर्छ, २ हप्ता भित्र शल्यकृया गर्नुपर्छ भनेका थिए, उनले भने, हामीसंग पैसा नभएर उपचार गराएका थिएनौं संस्थाका अध्यक्ष कृष्ण  ज्ञवाली सरले, यसरी हुदैन काठमाण्डौ गएर उपचार गर्नुपर्छ भन्नुभयो पैसा हामी सहयोग गर्छौ भन्नुभयो । अनि अन्नपुर्ण न्युरो अस्पतालमा शल्यकृया भयो ।”
विद्यालयमा पढ्न गएको बेलामा अचानक फेन्ट हुने गर्न थालेपछि परिवारले सामान्य उपचार गरिहेकका थिए । दिनमा ४र५ पटक सम्म फेन्ट हुन थालेपछि मात्र राम्रो अस्पतालमा देखाउंदा २ महिना पछि बे्रेन ट्युमर भयो भन्ने थाहा भएको सिंहले बताए ।

चिकित्सकले २ देखि ६ वर्ष सम्म अझै निगरानीमा राख्नु सुझाव दिएका छन् । फेरी ट्युमर पलाउन सक्ने भएकाले निगरानीमा बस्न सुझाव दिएको हो । “फेरी ट्युमर पालायो भने फेरी पनि शल्यकृया गर्नुपर्छ, उनले भने, हामीलाई सबैको सहयोग चाहिन्छ ।” रोगले छोडे पछि अस्मी पनि निकै खुसी देखिएकी छन् । “ म त विद्यालय जान थालेकीछु । पुनर्जिवन पाएको महशुष भएको छ । मलाई सहयोग गर्ने सबै अंकल आन्टिहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, खुसी ब्यक्त गर्दै अश्मीले भनिन् ।

लाइट नेपालको रोहवरमा सहयोगी मनहरुको समाजले १ लाख ८० हजार रुपैया सिंहको वैकमा दाखिला गरेको भौचर आइतवार सिंहलाई बुझाएका छन् ।
“जसले अश्मीको लागि सहयोग गर्नुभयो उहांहरुले पैसाको सदुपयोग भएको देख्न पाउनुहुन्छ भनेर म पनि तपाईको कार्यालय आएको हुं, कृष्ण  ज्ञवालीले भने, हामीले गरेको प्रयासले अश्मीको अवस्था सुधारमा सुधार आएको देखेर हामी पनि निकै खुसी छौं ।”

लाइट नेपालमा समाचार आएपछि आफुले इजरायलमा रहेका संस्थाका आजिवन र संस्थापक सदस्यहरुलाई अश्मीको अवस्थाका विषयमा बताए पछि सहयोग जुटेको उनले जानकारी गराए । “इजरायलमा साथीहरुले सहयोगका लागि पैसा उठाउंछौं भने पछि मैले पनि अश्मीको वुवालाई हामी उपचार गर्छाै भनेर भने, ज्ञवालीले भने, हामी सबैको प्रयासले अश्मीले नयां जीवन पाएकी छन् ।” इजराजयलमा रहेकी संस्थाको संस्थापक, आजिवन सदस्य इन्दिरा कार्कीले आर्थिक संकलनमा महत्वपुर्ण भुमिका खेलेको उनले जानकारी दिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com