‘हे भगवान्, मेरो छोरालाई बचाइदेऊ’

हेमन्त केसी

जाजरकोट, २६ साउन । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–१३ सिउनका बलबहादुर भण्डारी ३५ वर्षपछि भारतबाट घर फर्के, छोरा र श्रीमतीसहित सबै जहान परिवार लिएर ।

पैँतिस वर्षपछि घर आएका बलबहादुरको जमिनमा कसैले बाली नलगाएका कारण जमिन भने बाँझै रहेको थियो । यता आएलगत्तै एउटा छोरा विरामी भएर उपचार गर्दा पनि निको नभएपछि भण्डारी परिवारलाई ठूलै आपत आइलागेको छ ।

उनको यहाँ अहिले घर पनि छैन, अर्काको घरमा बसिरहेका छन् । बाँझो जमिन तीन रोपनी पाखो बारी छ । छोराको उपचार गर्न सोही बाँझो जमिन पनि प्रतिरोपनी रु ५० हजारमा तीन रोपनी जग्गा बेच्न उनी ग्राहक खोजिरहेका छन् अहिले ।

सम्पत्तिको नाममा भएको तीन रोपनी जग्गा बेचेर कसरी जीविकोपार्जन गर्छ भण्डारी परिवारले ? अनुत्तरित प्रश्नमा आफ्नो छोरालाई स्वस्थ बनाउने सपना बुनेका छन् भण्डारीले । छोरालाई बचाउन सके ज्याला मजदुरी गरेर भएपनि दुई छाक टार्नेबाहेक अरु उपाय छैन उनीसँग ।

भण्डारीका २१ वर्षका छोरा आकाश भण्डारी जिल्ला अस्पताल, जाजरकोटमा जीवनमरणको दोसाँधमा छट्पटाइरहेका छन् । गरिबीका कारण थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जान नसक्दा उनको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ ।

आएको एक महिनापछि अर्थात तीन महिनादेखि उनी बिरामी छन् तर अर्थ अभावका कारण उपचारमा समस्या भएको परिवारले जनाएको छ । विगत ३५ वर्षदेखि भारत (कालापार) गएर ज्याला मजदुरी गरी गुजारा गर्दै आएको उनको परिवार केही समयदेखि गाउँमा बस्दै आएको छ । परिवारमा आकाशका बुबा, आमा, दुई बहिनी र भाइ छन् ।

बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल पर्ने भण्डारी परिवार छोरा बिरामी भएपछि निकै समस्यामा परेको छ । गाउँमा चन्दा उठाएर केही दिनअघि आकाशलाई भेरी अञ्चल अस्पताल, नेपालगञ्ज उपचारका लागि पु¥याइएको थियो । उनलाई पेट, छाती र टाउको दुख्ने समस्या छ ।

नेपालगञ्ज अस्पतालमा दिसा, पिसाब, रगत प्रयोगशालामा परीक्षण गर्दा कुनै रोग पत्ता नलागेको र चिकित्सकले भरतपुर क्यान्सर अस्पताल, चितवन लैजान सिफारिश गरेका छन् ।

नेपाली नागरिकतासमेत नबनाएका आकाशलाई पुनः जाजरकोट ल्याएर भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र बनाइएको छ । नत उनले न उनका भाइबहिनीले पढन् पाएका छन् । “उपचारको लागि खर्च जुटाउन र नागरिकता भए उपचारमा केही सहुलियत हुन्छ कि भनेर नागरिकता बनायौँ अब कसरी चितवन लैजाने हो ?” बलबहादुर भण्डारीले भने ।

अहिलेसम्म अरुले दिएको सहयोगलगायतबाट चालिसहजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । छोराको उपचार गर्न बलबहादुरसँग अब एउटै उपाय बाँकि छ । “गाँउमा तीन रोपनी पाखो बारी छ, त्यही बेचेर भए पनि छोरालाई एकपटक चितवन लैजाने इच्छा छ, तर अहिले कसले जग्गा किनिदिन्छ र म छोराको उपचार गरुँ ?” बलबहादुरले प्रश्न गरे, “हामी गरिबले कसरी उपचार गर्ने ?”

उक्त गाउँमा एक रोपनी जग्गाको मूल्य रु ५० हजार मात्र पर्छ । उनले जग्गा बेच्न खोजे पनि बिक्री हुन सकेको छैन । “छोराको उपचारमा पैसा कति लाग्छ ? कहाँबाट जुटाउने हो ?” बलहादुरले भने, “हे भगवान्, मेरो छोरालाई बचाइदेऊ !” रासस

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com