बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

लाइट नेपाल

 

बिर्तामोड (झापा), २६ साउन । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ ।स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले बताए।

स्वाइन फ्लुको उपचारका लागि सरकारका तर्फबाट विशेष तालीमसमेत लिएर आएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु (सघन उपचार कक्ष) अनिवार्य भएकाले त्यसको पनि बेग्लै व्यवस्था गरिएको छ ।

स्वाइन फ्लुको संक्रमण भए/नभएको पत्ता लगाउने प्रविधि निकै महँगो भएकाले शंकास्पद बिरामीको नमूना संकलन गरी काठमाडौँमा रहेको सरकारको केन्द्रीय प्रयोगशालामा पठाइने र त्यसले दिएको रिपोर्टको आधारमा उपाचार भने बीएण्डसी अस्पतालमा नै हुने समेत डा दिलीप शाहले जानकारी दिए ।

स्वाइन फ्लुबाट जोगिनका लागि अग्रीम खोप पनि लगाउन सकिने र उक्त खोप पनि बीएण्डसी अस्पतालले भोलिदेखि नै प्रयोगमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए। स्वाइन फ्लुको उपचारका लागि बीएण्डसी अस्पतालले सम्पूर्ण तयारी गरेको र सबैका लागि उपचार सहज बनाउन अस्पताल लागिपरेको निर्देशक प्रसार्इंको भनाइ छ ।

स्वाइन फ्लुको संक्रमणको जोखिम बढेसँगै झापामा त्यसको उपचारका लागि बीएण्डसी अस्पतालसँग सरकारीस्तरबाटै सम्झौता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।पौडेलका अनुसार झापामा हल्ला भए जस्तो स्वाइन फ्लुको खतरा नरहेको र अवस्था सामान्य तथा नियन्त्रणमा नै रहेको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com