कुवेतमा नेपाली महिलाको कहालीलाग्दो अवस्था, ज्यान जोगाएर नेपाल फर्केकी सिता भन्छिन्, म त्यहां तीन पटक बेचिए, ज्यान जोगाउन तीन तला माथि बाट हामफालें(भिडीयो सहित)

Srijana

श्रृजना आचार्य, काठमाण्डौ, २६ साउन । नुवाकोट पंचकन्या गाविस ४ की ४५ वर्षीया सिता तामागं । एक वर्ष अघि दलालको लहै लहैमा लागेर घरेलु कामदारका रुपमा कुवेत पुगिन । जान त उनी नेपालको बिमान स्थल प्रयोग गरेर कुवेत पुगेकी थिइन् । तर कुन मेनपावर मार्फत उनी त्यहां पुगीन् उनलाई थाहा छैन ।

गाउंकै छिमेकी दलाल थिए, उनले सितालाई कुवेत जाने सल्लाह दिए । भुकम्पले घर ढलाएको थियो । दुई छोरी विवाह गरेर आफ्ना(आफ्ना घर गइसकेका थिए । एउटा छोरा परिवार सहित काठमाण्डौमा बस्थे । पतिको मृत्यु भएका कारण गाउंमा उनी एक्लै थिइन् । छोराले मात्र कमाएको पैसाले घर बनाएको ऋण तिर्न नसक्ने देखेपछि उनी दलालको प्रलोभनमा परिन्, अनि कुवेत पुगीन् ।

तर त्यहां परिस्थिति उनले चाहे जस्तो भएन । कुवेतको बिमान स्थलमा झरे लगत्तै उनको दुखका दिन सुरु भए । उनलाई त्यहां भेंडाबाख्रा जस्तो प्रदर्शनीमा राखियो । एउटा कुबेती नागरीकले १२ सय दिनारमा किनेर सितालाई आफ्नो घरमा लग्यो । “मलाई मालिकले १२ सय केडीमा किनेर लगेको हो, उनले भनिन्, त्यो घरमा मैले ९ महिना काम गरें ।”
कुवेतीका घरमा चार जनाको परिवार थिए । एक दम्पत्ती अनि तिनका दुई छोरी । घरको सबै काम गर्नुपर्ने । साना दुई छोरीको स्याहार सुसार गर्नुपर्ने । उनले जसो तसो काम गर्दै थिइन् । जब त्यहां काम गर्न लागेको केही महिना हुदै थियो । त्यसपछि अनेक बहाना गरेर मालिकले उनलाई कुटपिट गर्न थाल्यो ।

केही महिना सम्म त्यो कुटाइ समेत सहेकी उनको सहनशक्तिले समेत सिमा नाघे पछि मालिकको कुटाई बाट बच्न तिन तला माथि बाट हामफालेर भागीन् । त्यो क्रममा उनको खुट्टा भांचियो । “मलाई कोठामा थुनेर दुई जनाले कुटे, मैले मलाई यहां कुटपिट गरे यहां बस्न सक्दिन भनेर एजेन्टलाई फोन गरें, उनले भनिन्, एजेन्टले तिम्रो कन्ट्याक सकिएको छैन, हामीले तिमीलाई यहां ल्याउन मिल्दैन, जसरी भए पनि त्यहीं बस भने ।”

९ महिना काम गरेको भए पनि उनले ५ महिनाको मात्र तलब पाइन् । सुरुमा उनीसंग मोवाइल थियो त्यही मोवाइलवाट कुवेतमा रहेको एजेन्टको कर्मचारी सपनालाई फोन गरीन् । तर पछि मालिकले त्यो मोवाइल पनि खोस्यो । सम्पर्कको कुनै साधन नपाए पछि उनी माथि झन अत्याचार सुरु भयो । “कसैलाई केही भनुं भने मोवाइल छैन, यहां बसुं ज्यानै जाने खतरा भयो, उनले भनिन्, ढोका थुनेर कुटपिट गरेकै अवस्थामा झ्यालवाट तीन तला माथि बाट हामफालें ।”

ज्यान जोगाउ तीन तला माथिवाट हामफल्दा उनको खुट्टा भांचियो । पैसा कमाउन गएकी सितालाई त्यहां ज्यान जोगाउन पनि मुस्कील भएपछि त्यहांवाट भागेर नेपाली दुतावास पुगिन् । खुट्टा भांचिएका कारण एक महिना अस्पतालमा बसेर उपचार गरीन् ।

दुतावासवाट नेपाल फर्काउने प्रकृयाका लागि उनलाई प्रहरीको जिम्मा लगाइदिए । प्रहरीले फेरी त्यही कुवेतीको घरमा पुर्याइदियो । “पुलिसले मालिकको फोन नम्बर माग्यो, मैले दिएं पुलिसले फेरी त्यही मालिकको जिम्मा लगाइदियो, उनले भनिन्, खुट्टा भांचिएकाले मैले पहिला जस्तो कामगर्न सकिन, फेरी कुटपिट गरे ।”

कुवेती मालिकले पनि फेरी अर्कानयां घरमा एक हजार केडीमा उनलाई बेचिदियो । “एउटा मालिकले अर्काघरमा गर्दै मलाई तीनवटा घरमा बेच्यो, उनले भनिन्, पछिल्लो घरमा मलाई मोवाइल फोनको सुविधा थियो, त्यहांवाट मैले छोरालाई फोन गरें ।”छोरालाई आफ्नो ज्यान जोखिममा रहेको जानकारी गराए पछि उनका लागि नेपाल फर्काउने अभियान सुरु भयो । उनका छोराले केही सहयोगी मार्फत परराष्ट्र मन्त्रालयमा सम्पर्क गरेपछि मन्त्रालयको पहलमा उनी नेपाल आइपुगेकी छन् ।

तर पैसा कमाउन गएकी सिता त्यहां पैसा त कमाउन सकिनन् उनको ज्यान समेत जोखिममा पर्यो । काम गर्न सक्ने स्वस्थ्य शरिर लिएर कुवेत पुगेकी थिइन् त्यहांवाट कमजोर अवस्थामा फर्किइन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com