माधब नेपाल र ईश्वर पोख्रेललाई दायाँबायाँ राखेर ओलीले भने– ‘एमालेमा केपी ओलीको दादागिरी चल्दैन’

लाइट नेपाल

साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेललाई दाँयाबायाँ राखेर एमाले पार्टीमा अध्यक्षको मात्र दादागिरी नचल्ने बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्न एमाले मुख्यालयमै आयोजना गरेको कार्यक्रममा ओलीले नेपाल र पोख्रेललाई दायाँबायाँ राखेर यस्तो बताएका हुन् । ‘एमालेमा केपी ओलीको मात्र दादागिरी चल्दैन,’ माओवादी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ओलीले दायाँबायाँ बसेका नेपाल र पोख्रेललाई देखाउँदै भने, ‘तर, माओवादीमा अध्यक्षको मात्र दादागिरी चल्ने गरेकाले समस्या भएको छ ।’

ओलीले अहिले माओवादी पदपन्थ, लाभ पन्थ र आफन्त पन्थमा गएकाले पार्टी छाड्नेहरुको सङ्ख्या बढ्दै गएको पनि दाबी गरे । ‘माओवादी अहिले फूल र पात फरेपछिको सिद्रा रुख जस्तो भएको छ,’ ओलीले भने ।

मधेसमा एमाले बोल्दा जनता प्रभावित हुन्छन भनेर रोक लगाउने काम भयो

ओलीले एमाले मधेसी जनताको पक्षमा रहेको भन्दै अहिले एमालेले आफूले मधेसी जनताका पक्षमा गरेका कामको फेहरिस्त बताउदा माहोल एमालेकै पक्षमा आउने भएकाले केही मधेसी दलले मधेसमा रोक लगाएको आरोप पनि लगाए । ‘एमालेलाई अहिले मधेसमा रोक लगाउने काम भएको छ,’ उनले भने, ‘विभिन्न खाले झुट्टा आरोप लगाएर गरिएका त्यस्ता हर्कतको कुनै अर्थ छैन । मधेसबाट पनि एमाले नै पहिलो हुन्छ ।’

हामी एउटा उचाईको उडान भर्दै छौँ

ओलीले एमालेले विकास र सम्वृद्धिको उचाई लिदैँ गएको भन्दै अब देश एमालेमय बन्ने दाबी गरे । ‘राष्ट्रियताका पक्षमा, देशको स्वाभिमानको पक्षमा बोल्ने पार्टी एमाले मात्रै हो,’ उनले भने, ‘विचारमा एमालेसँग प्रतिष्पर्धा गर्ने अरु पार्टी नै छैनन् । त्यसैले एमाले राष्ट्रिय राजनीतिको मूलधारको पार्टी हो ।’

एमाले कचौरे राजनीति गर्ने पार्टी होइन

ओलीले नेपालमा अरुको दीर्घकालिन स्वार्थका लागि क्षणिक स्वार्थमा विकेका केही राजनीतिक दलका कारण समस्या भएको दाबी गरे । ‘एक थरी अहिले सानो कचौरामा मगन्ते पाराको राजनीति गरिरहेका छन्,’ उनले भने, ‘हावा र मौसम अनुसारको राजनीति गर्नेहरुका कारण पनि समस्या भयो । अर्कोथरी चाहिँ हावा जता बगेको छ, आफूहरु त्यतैतिर बग्ने र ‘हिरो’ बन्ने ध्यानमा लागेका छन् ।’

श्रोत पहिलो न्युजबाट

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com