विदेशमा पाइलै पिच्छे बेचिन्छन् नेपाली चेली, बेच्ने पनि नेपाली (भिडीयो सहित)

sirjana

श्रृजना आचार्य,
काठमाण्डौ, २७ साउन । कुवेतमा रहेका नेपालीका कारण नै नेपाली चेलीहरु कुवेतमा हिंसाको सिकार हुने गरेका छन् । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीहरु नै दलाल बनेर नेपाली चेलीलाई प्रलोभनमा फसाउने गरेका हुन् ।
कुवेतमा झण्डै ७ वर्ष वसेर सामाजिक काममा सकृय रहेका दावा ठोकरले कुवेत पुगेका ८० प्रतिशत नेपाली दलाल भएको बताएका छन् । मकवानपुर, हेटौडा १९ का ठोकरले त्यहां रहंदा थुप्रै नेपाली चेलीहरुको उद्यार गरेको बताएका छन् । उनले त्यहां काम गर्ने नेपालीहरुकै कारण नेपाली चेली कुवेतमा बेचिने गरेको बताए ।
“कुवेत पुगेका धेरै नेपाली नै दलाल छन् । प्रत्यक्ष रुपमा डेढसय जति भए पनि अप्रत्यक्ष रुपमा थुप्रै नेपाली दलाल छन्, उनले भने, मेरो भोगाईमा ८० प्रतिशत नेपालीहरु कुनै न कुनै रुपमा एजेन्ट नै छन्, ।” उनले गाउंवाट चेलीवेटी फकाउने देखि लिएर काठमाण्डौमा एजेण्टको कार्यालय संचालन गर्ने र कुवेतमा समेत कुवेतीको घरमा बेच्ने सम्मको भुमिकामा नेपालीहरु संलग्न हुनेगरेको बताए । नेपालवाट घरेलु कामदारका लागि कुवेत पुरयाए पछि नेपालीले बेच्न राख्छन्,
कुवेतीहरु नेपाली एजेन्टको कार्यालयमा महिला किन्न आउंछन् । उनले आफ्नो भोगाई सुनाए, “कुवेती त किन्न आउने हो, त्यहां भेंडा बाख्रा जस्तो गरेर नेपाली महिलालाई नेपालीले नै बेच्न राख्छन्, विहान खुरुरु भेंडा बाख्रा जस्तो धपाएर आफ्नो कार्यालयमा महिलालाई “सो” गर्छन । सोकेसमा गुडिया राखेजस्तो महिलालाई राख्छन्, अनि कुबेतीले छानी छानी महिलालाई किनेर लैजान्छन् ।” कुवेतमा अहिले त्यहां सबै सेटिगं मिलाएर लैजांदा एउटी महिलाको रेट १२ सय देखि १३ सय दिनार सम्म पर्ने गरेको उनले बताए । एउटा कुबेतीले नेपाली महिला किन्दा उसको झण्डै साढे ३ लाख नेपाली रुपैया खर्च गरेको हुन्छ । त्यसैले बिरामी हुदा कामगर्न नसक्दा समेत महिलाले सुख पाउंदैनन् । महिला अन्तिम अवस्थामा पुगेर काम नै गर्न नसक्ने भयो भने कुवेतीले नेपाली एजेन्टलाई बोलाएर आफ्नो पैसा फिर्ता माग्ने गर्छ । “त्यसैले पनि त्यहांका नेपाली एजेण्टले महिलाका पक्षमा काम गर्दैनन् । “बस्नै नसक्ने अवस्था आयो भने कुवेतीले महिला बेच्ने एजेण्टलाई बोलाएर यो महिलाले कामगर्न सकेन मेरो पैसा फिर्ता दे यो महिला लैजा भन्छ, अनि नेपाली एजेण्टले फिर्ता लैजान्छ फेरी अर्काठाउंमा बेच्छ । यसरी महिला त्यहां दिनदिनै बेचिन्छन् । पाइलै पिच्छे महिलाहरु बेचिन्छन्, श्रम शोसण, शारिरीक शोषण, यौन शोषणमा समेत पर्छन” उनले भने ।

जसरी मासु खाने उद्देश्यले एउटा खसी किने पछि कसरी काट्ने, कसरी पकाउने, कसरी खाने भन्ने कुराको निक्र्यौल खसी मालिकले गर्छ त्यहां महिलाको अवस्था पनि त्यस्तै हो, उनले त्यहांको कहाली लाग्दो अवस्थाको वारेमा वर्णन गरे , उनीहरुले बाख्रा किनेर लगे जस्तो महिलालाई किनेर लगेको हुन्छ । त्यसैले उनीहरुले महिला माथि अत्याचार गर्छन् ।” महिलाले मालिकको घरमा दुख पाएं भनेर त्यहांको दलाललाई फोन गर्दा पनि दलालले समस्या समाधान गर्नुको सट्टा पीडित महिलाको कुरा सुन्दैनन् ।ठोकरले कुवेतमा दलालको कामगर्ने नेपालीहरुले आफ्नो पहिचान समेत लुकाउने गरेको बताए । एउटै मानिसले चार वटा सम्म नाम राख्ने गरेको हुन्छ ।
नुवाकोट पंचकन्या गाविस ४ की ४५ वर्षीया सिता तामागंलाई कुवेतवाट उद्यार गर्ने अभियानका क्रममा काठमाण्डौमा भेटिएका ठोकरले सितालाई बेच्ने दलालले समेत आफ्नो नाम परिवर्तन गरेको पाएको बताए ।
सितालाई कुवेती नागरीकलाई बेच्ने दलालले आफ्नो नाम सपना बताउने गरेको बताए । “उनको नाम सितादेवी दर्जी रहेछ, ताडी मोरगं ८ की सिताले आफ्नो नाम सपना भनेर चिनाउने गर्छिन ।” उनी त्यहां कुवेतको जहारामा बस्ने गरेको समेत ठोकरले बताए । उनले जहारामा बस्ने अधिकांश एजेण्टले कुवेत पुर्याएका महिला समस्यामा पर्ने गरेको आफ्नो अनुभव रहेको समेत बताए । “म त्यहां बस्दा पनि दिदी बहिनीहरुको अवस्था दर्दनाक देखेर सहन पनि निकै गाह्रो हुन्थ्यो, उनले भने,त्यस्ता दिदीबहिनीको लागि आवाज उठाउंदा मलाई पनि अपहरण गरेर नेपाल फर्काइदिए ।”
कुवेतमा महिलाको यस्तो दर्दनाक अवस्था भए पनि घटनाहरु बहिर आउन सकेका छैनन् । इन्टरनेटको पहुंचमा हुनेहरुका मात्र घटना बाहिर आउने गरेका छन् । तर थोरै मात्रामा हुन्छन् । धेरै समस्याहरु देखिदैनन् । कामदारलाई म माथि के घटना हुंदैछ भन्ने समेत थाहा नहुने उनले बताए । “मोवाइल सुविधा भएको र इन्टरनेटको सुविधा भएकाहरुको घटना मात्र बाहिर आउंछन्, उनले भने,त्यहां गए पछि घर मालिकले केही सुविधा पनि दिन्न । त्यस्ता महिलाहरुको घटना बाहिर आउंदैन ।”

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com