भारतले अन्तराष्ट्रिय नियम मिचेर निर्माण गरेको लक्ष्मणपुर बांधका कारण बांकेका दर्जनौ गाउं डुवानमा, ४ जनाको ज्यान गयो, उद्दारमा जुटे सुरक्षाकर्मी (फोटो फिचर)

sirjana

नेपालगन्ज, २८ साउन । भारतले लक्ष्मणपुर व्यारेजको ढोका नखोलिदा बाँकेका दर्जनौ गाउँ डुवान भएका छन् । भारतीय पक्षले शनिबार साँझ सम्म लक्ष्मणपुर बाध खोलिदिएको छैन । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले भारत बहराइचका डिएमसँग व्यारेजको ढोका खोल्न अनुरोधका लागि पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको बताए । उनले भने, डियमसँग पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क भएको छैन ।भारतले निर्माण गरेको लक्ष्मणपुर, कलकलवा तटबन्ध र सिमा सडकका कारण बर्षेनी बाँकेका दर्जनौ गाउं डुवानमा पदै आएको छ ।

उता परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले बाँकेको लक्ष्मणपूर बाध र सप्तकेशीको ढोका खोलिदिन आग्रह गरेको घण्टौ वितिसक्दा समेत भारतले वास्त गरेका छैन । भारतले लक्ष्मणपूर व्यारेजको ढोका नखिलिदिदा बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका सयौ गाउँ डुवानमा परेका छन् ।
शुक्रबार रातीबाट परेको बर्षाका कारण बाँकेमा ठूलो जनधनको क्षति भएको छ । बर्षातको बाढीका कारण बाँके राप्तीसोनारी–४ स्थित लाललपुरमा घर भत्किदा एक परिवारका तीन बालिकाको मृत्यु भएको छ । कविराज थारुको घर भत्कदा अञ्जु थारु, रिता थारु र सुस्मिता थारुको मृत्यु भएको हो । एक जना पुरुषको शव डुबेको अवस्थामा फेला परेको छ । अविरल बर्षाका कारण राप्ती नदीको सतह खतराको स्तर भन्दा माथि रहेको छ । बाढीले गावरखोला र गढौली नाकाको पुलमा समेत क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नदीहरुमा जलस्तर बढेकाले सचेत रहन आग्रह गरेको छ ।


बाँकेको विभिन्न गाउँहरुमा बाढीले ठूलो क्षति पुर्याएको छ । मटेहियाका ७५ बढी घरहरुमा पानीले क्षति पुर्याएको स्थानीयबासीले बताए । गंगापुरको भोजपुर, कुदरवेटवा, तोन्द्रा, गंगापुर, सोनबर्ष, राप्तीसोनारीको पिप्रहवा, गेदवा, झगडिया, सर्रा, महेमानपुर, सिधनवा, बैजापुर र बिनौनाका केही गाउँ, होलियाको चौफेरी, टेपरी, पिप्रहवा, खडैचा, बेतहनीको सन्तलिया, बेतहनी चौराहा, हलबलडोली, कटलिया, कम्दीको मसहा लगायतका स्थानमा बाढीले क्षति पुर्याएको छ ।
बाँके जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले सुरक्षाकर्मीहरुले उद्दार गरिरहेको सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पनि खटिइसकेको छ । खजुरामा पनि बर्षातको पानीका कारण विभिन्न ठाउँहरु जलमग्न भएका छन् ।

Photo : Ramesh Gautam Vijan

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com