अनसन तोड्न डा केसीलाई मन्त्री पोखरेलको आग्रह

Maheshwar123

काठमाडौं, २८ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्न आग्रह गर्नुभएको छ । सरकार बाढी पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकाले अहिलेको संवेदनशीलतालाई ध्यानमा राख्दै अनसन तोड्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले आज एक विज्ञप्ति जारी गरी डा केसीले माग गरेबमोजिम चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भइसकेको र व्यवस्थापिका–संसदमा पेस हुने क्रममा रहेकाले यस प्राकृतिक विपदमा अनसन तोडी अन्य चिकित्सकलाई पनि नियमित काममा फर्कन आग्रह गर्नुभएको हो ।

डा.केसीको अनसनलाई समर्थन गर्दै देशभरका सरकारी तथा निजी अस्पतालका चिकित्सक अन्दोलनमा रहेकाले पीडितको उपचारमा बाधा पुगेको भन्दै मन्त्रीले यस्तो आग्रह गर्नुभएको हो । यसैगरी, मन्त्री पोखरेलले मुलुकभर बाढी र पहिरोबाट पीडित बनेका व्यक्तिको उपचार र औषधिको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

यता डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रामा कमी भई स्वासप्रस्वासमा समस्या भइरहेको र छातिमा दुखाइ बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com