तीज शब्द र बरिलै राख्दैमा सबै गीत तीजको गीत हुदैन, चन्द्रकला शाह , गायिका शाहसंग मार्मिक कुराकानी (भिडीयो सहित)

Srijana

माइत रमाइलो कि घर रमाइलो, चरी भररर,
बाबा ज्यु का धौले घर माइत रमाइलो
बाबा ज्यु का धौले घर माइत रमाइलो

वल्ला घरकी साइली माइली पल्लो घरकी ठुली
तीजका खाजा मिठो खाउं न मिलिजुली
बाबा ज्यु को धौले घर माइत रमाइलो ।

नेपाली महिलाहरुको महान चाड तीजमा आजकल यस्ता गीत सुनिन छोडेका छन् । कुनै जमानामा तीज गीतको पर्यावाची चन्द्रकला शाहलाई आजकलका तीज गीत सबै तीजका हुन् जस्तो लाग्दैन । तीज शब्द र बरीलै शब्द समावेश गर्दैमा सबै गीत तीज गीत हुदैनन् । तीज गीतका लागि भाका पनि उत्तिकै महत्व छ ।
काठमाण्डौमा आयोजित एउटा सांगेतिक कार्यक्रममा भेटिएकी चन्द्रकला शाहले लाइट नेपाल संगको कुराकानीमा यस्तै गुनासो गरीन् ।

उहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै फरक छ । जमिन आसमान फरक छ । त्यो बेलामा हाम्रा चेलीवेटीले तीजका गीत मार्फत आफ्ना दुख दर्द पोख्थे । वर्ष दिनभरी एउटी चेलीलाई के पीडा भइरहेको छ , जसले पीडा दिएको छ त्यो दुख ब्यक्त गर्ने एउटा मात्र माध्यम तीजको गीत हुन्थ्यो । गीतको माध्यमवाट साहित्यीक पाराले चेलीवेटीले आफ्नो मनको वह पोख्थे । त्यतिबेलाको गीत निकै मार्मिक हुन्थे । तीज भन्ने चिज नै नारी स्वतन्त्रता संग जोडिएको छ । धार्मिक हिसावले हेर्दा पनि शिव पार्वतीको विवाहको विषयलाई लिएर तीजका गीत गाइन्थ्यो । पहिला अहिले जस्तो आधुनिकता थिएन, सुविधा थिएन, यातायातको साधन थिएन । दिदीवहिनीहरु सजिलै माइत जान पनि पाउथेनन् । आफ्नो मनको पीडा माइतमा पठाउने साधन पनि हुन्थेन । त्यसैले चरालाई सूचना पुर्याउने माध्यम ठानेर “लैजा चरी मेरो ब्यथा”भन्दै तीजको गीत गाउंथे ।

अहिले आएका तीजको गीत पनि नयां भाकामा छन् । भाका श्रष्ठाले श्रृजना गर्ने हो । उहिले उहिले पनि भाका श्रष्ठाले नै श्रृजना गर्थे । तर त्यतिबेला श्रष्ठाको श्रृजना लिखित थिएन । रेकर्ड थिएन । रेडयो नेपाल आए पछि श्रष्ठाको श्रृजना लिखित, रेकर्डिगं भयो । हाम्रा अग्रजहरुले हाम्रा लागि छोडेका थुप्रै भाका छन् । त्यतिबेलाको पुरानो एउटा गीतको लाइन हामी भाका पनि नबिगारी डराई डराई गाउंथ्यौं । तर अहिले संस्कृतिलाई जोगाउन सकेका छैनन् । अहिलेका नयां पुस्ताले अलिखित श्रष्ठाले रचेका श्रृजनालाई जगेर्ना गर्दै नयां पन दिनुपर्छ । तीजको मर्म र मौलिकतालाई मार्न हुदैन । तर त्यसो हुन सकेको छैन । अब त्यसको संरक्षण गर्ने जिम्मा मिडियाको हो । पुराना भाकालाई पनि मिडियाले स्थान दिए पुरानो श्रृजना पनि बांचिरहन्छ । संगितमा लागको मान्छे सुमार्गमा जान्छ त्यो राम्रो कुरा हो । त्यो समय सापेक्ष विकास हो । तर पुराना श्रृजनालाई पनि जगेर्ना गर्नुपर्छ ।

पहिला केटा र केटीले तिज गीत गाउन हुन्न भन्ने चलन थियो । पहिले चेलीवेटीले मात्र तीज गीत गाउंथे । खासगरी महिलाका पीडा, भक्ति भाव ब्यक्त गरेर गीत गाइन्थ्यो, शिव पार्वतीको आराधना गरेर गाइन्थ्यो । दिनभरी वर्त वसेर बेलुका पुजापाठ गर्ने चलन थियो । तर अहिले तीज पर्व संगितमा मात्र सिमित भएको छ । तीजमा महिला होस वा पुरुष सबै संगितमा रमाएका मात्र छौं । तीज भन्ने शब्द र बरिलै शब्द मात्र राखेर तीज गीत हुदैन भाखा पनि जिवीत राख्नुपर्छ । यसपाली मैले पनि तीजको गीत निकालेकी छु । तर मैले तीजको मर्म र भाकालाई जिबन्त राख्ने प्रयत्न गरेकी छु ।

प्रस्तुतीः श्रृजना आचार्य

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com