प्रदेश दुईमा यसरी जित्दैछ एमाले त्यहाँको माहोल देखेर तर्सिए राजनीतक दलहरु, कांग्रेस, माओवादी केन्द्र पछि अब राजपामा पनि भाडभैलो

लाइट नेपाल

काठमाडौ– प्रदेश नम्बर २ का प्राय: सबै जिल्लाहरुमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले अग्रता लिने पक्का भएपछि विपक्षीहरु तिल्मिलाएका छन् । एमालेलाई एक्ल्याउने भन्दै भाषण गर्ने राष्ट्रिय जनशक्ति पार्टीका नेताहरु आफै एक्लिने भएका छन् ।

पछिल्ला समय चुनावी कार्यक्रमका क्रममा जनतासँग भएका छलफल, एमालेले तय गरेका एजेण्डा र मधेशकेन्द्रित अभियानसहितका आधारमा ती जिल्लामा एमालेकै अग्रता हुने प्रष्ट संकेत देखिएको हो ।

पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा एमाले पहिलो पार्टीका रुपमा स्थापित भएको छ । असोज २ गते हुन गइरहेको दोस्रो तहको चुनावमा समेत एमालेको जितलाई कसैले रोक्न नसक्ने देखिएको छ ।

पहिले मधेशविरोधी भनेर कुप्रचार गरिएको भएपनि जनताबीच एमाले लोकप्रिय र मधेशको पक्षमा काम गर्ने पार्टीको रुपमा त्यहाँका जनताले लिने गरेका छन् । यसबीचमा एमालेले मधेशका सबै जिल्लामा घरदैलो, भेला, बैठक, साना ठूला सभा गरिरहेको छ ।

‘जति भ्रम छर्नु पहिले छरे, तर अहिले जनताले चिनिसके । मधेशको पक्षमा काम गर्ने सक्कली पार्टी एमाले नै हो भन्ने जनताले बुझेका छन् । हामी पहिलो शक्तिका रुपमा मधेशमा उदाउदैछौ’ एमाले महोत्तरीका अध्यक्ष जामुन मण्डलले भने ।

महोत्तरीसहित मधेशका ८ वटै जिल्लामा एमाले अग्रस्थानमा छ भने प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेस नै छ । माओवादी केही ठाउमा अघि देखिएको छ । राजपा भने निकै पछि रहेको छ । यसले पनि मधेशका मुद्दा बोक्ने पार्टी अरु नभएर एमाले नै रहेको जनताबीच प्रष्ट भइसकेको छ ।

मधेशीलाई झुक्याइयो : जामुन मण्डल, एमाले अध्यक्ष महोत्तरी
एमाले अध्यक्ष जामुन मण्डल विगत दिनमा मधेशी पार्टीहरुले जनतालाई झुक्याएको बताउछन् । आफ्नो जिल्लामा एमालेले अन्य दललाई निकै पछि पार्ने उनी सुनाउछन् । महोत्तरीमा १० नगरपालिका र ५ गाउपालिकासहित १५ स्थानीय तह छन् ।

एमालेले ५ वटा नगरपालिका जलेश्वर, बर्दीवास, भंगाह, मन्डासिसवा कटैया र रामगोपालपुरमा अत्यधिक बहुमतका साथ सबै पदमा जित्ने उनी सुनाउछन् । त्यस्तै ३ गाउपालिका पिपरा, महोत्तरी र चम्सीमा एमालेको जित निश्चित भएको दावी गर्छन् । १५ स्थानीय तहमा कम्तीमा ८ वटामा एमाले अघि छ ।

एमाले अरुभन्दा उत्तम : राजकिशोर यादव, अध्यक्ष धनुषा
सबैको चासो र केन्द्रविन्दु रहेको धनुषा जिल्लामा पछिल्लो दिन एमालेले पकड बलियो पार्दै लगेको छ । आन्तरिक समस्या सुल्झाई १८ वटा स्थानीय तहमध्ये अधिकमा जित हासिल गर्न लागिपरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव बताउछन् । एमाले मधेशमा अरु भन्दा उत्तम पार्टी रहेको बुझ्न थालेपछि अन्य दल तिल्मिलाइरहेका छन् ।
जनकपुर उपमहानगरपालिका र अन्य ११ नगरपालिका छन् ।

उपमहानगरपालिकामा कांग्रेससग प्रतिष्पर्धा छ । मिथिला, कमला, विदेह, शहिदनगर र सबैला नगरपालिकामा एमाले अग्रस्थानमा सबै सिटमा विजयी हुने यादव बताउछन् । त्यस्तै ६ वटा गाउपालिकामा मुखियापटि मुसरनीया, बटेश्वर, धनौजी र औरहीमा एमाले अघि छ ।

भटाभट एमालेमा : प्रमोद यादव, अध्यक्ष सिरहा
राजपाका नेता, कार्यकर्ताहरु एमाले र अन्य दलमा भटाभट प्रवेश गरेकाले आफ्नो पार्टी सजिलै अग्रस्थानमा आउने एमाले अध्यक्ष प्रमोद यादवको दावी छ । ८ नगरपालिका र ९ गाउपालिका गरी १७ स्थानीय तह छन् ।

त्यसमा ६ वटा नगरपालिकाका प्राय सबै सिटमा एमालेले जित्ने उनको दावी छ । त्यस्तै भगवानपुर, अरनवासहित ३ गाउपालिका एमालेका उम्मेदवार भारी मतले विजय हुने उनले सुनाए । कांग्रेस, माओवादी सत्तागठबन्धने राज्य शक्तिको चरम दुरुपयोग गरेको र आफूहरुले त्यसलाई चिर्दे जनतामाझ पुगेको यादवको धारणा छ ।

जनता विकास चाहन्छन् : गोविन्द न्यौपाने, अध्यक्ष सप्तरी
विगतमा मधेशी दलका नेताहरुले युवालाई आन्दोलनमा मात्र बरालेको, विकासको काममा चासो नदेखाएकोले त्यसको परिणाम राजपाले अहिले भोग्ने बताउछन् एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने ।

एमालेले १८ वटा स्थानीय तहमा १० वटामा जित्ने उनको दावी छ । पहिले उनीहरुले अरुका विचार सुन्न दिएनन् । जनताले बल्ल थाहा पाए । एमाले मधेशविरोधी होइन रहेछ भन्ने सबैमा परेको छ, न्यौपानेले भने ।

एमालेको सुरुंगा, खड्ग, चमुनाथ, डाक्नेश्वरी, कञ्चनरुक नगरपालिका सुरक्षित क्षेत्र हो । त्यस्तै सप्तकोशी र राजविराजमा पनि अग्रस्थानमा छ । ९ वटा गाउपालिकामा कृष्णसौरभ, तिरहुत, विलीचपेनासहित ४ वटामा जित निश्चित छ ।

सबैको ध्यान एमालेतिर : रेवती पन्त, अध्यक्ष सर्लाही
सर्लाहीमा पनि एमाले अग्रस्थानमा छ । ११ नगरपालिका र ९ वटा गाउपालिका गरी २० स्थानीय तहमध्ये ११ वटामा एमालेको जित निश्चित देखिएको छ । एमालेका जिल्ला अध्यक्ष रेवती पन्त मधेश, तराईमा एमालेको प्रष्ट नीति, विकासमा चासो र जनताबीच बढी घुलमिल भएका कारण एमालेप्रति आकर्षण बढ्दै गएको बताउछन् ।

इश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, वाग्मती, बरथहवा, कविलासी, मलंगवाजस्ता नगरपालिकामा एमाले अगाडी छ । त्यस्तै पर्सा, विष्णु, चन्द्रनगर, वसवरीया गाउपालिकामा एमालेको जित निश्चित छ । राजपाका नेताहरु एमाले सहितको पार्टीमा गएका कारण पनि एमालेलाई सजिलो भएको हो । ती स्थानीय तहमा एमालेको पछिपछि कतै कांग्रेस र कतै माओवादी केन्द्र छ । राजपा निक्कै पछि छ ।

मधेशविरोधी भन्ने नारा हावा खाइसक्यो : कमल राय यादव, अध्यक्ष रौतहट
रौतहटका एमाले अध्यक्ष कमल राय यादव मधेशी पार्टीहरुले एमालेविरुद्ध पहिले चलाएको मधेश विरोधी पार्टी भन्ने नारा हावा खाइसकेको बताउछन् । रौतहटको १८ वटा स्थानीय तहमा १२ वटामा एमाले अघि छ । पछिपछि कांग्रेस र माओवादी छन् ।
चन्द्रनिगाहपुर, गुजरा, वृन्दावन, गौर, गढीमाई, कटहरिया, विजयापुर, राजपुरलगायत नगरपालिकामा एमालेको पकड छ । दुर्गा भगवती र जमुनामाई दुवै गाउपालिकामा एमाले अग्रस्थानमा छ ।

जनताले कुरा बझे : सुन्दर विश्वकर्मा, अध्यक्ष बारा
बाराका १६ वटा स्थानीय तहमध्ये ९ वटामा एमाले अघि छ । जनताको भावना बुझ्ने, मधेशका समस्यामा काम गर्न सक्ने, वेरोजगारी अन्त र युवालक्षित कार्यक्रम ल्याउने पार्टी भएकाले एमालेलाई जिताउन जनता एकजुट भएर लागेको एमाले बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा बताउछन् ।

जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले अग्रस्थानमा छ । निजगड, बजरौटा, सिम्रोनगौढ, महागढीमाई नगरपालिकामा एमालेका उम्मेदवारहरु प्रतिष्पर्धी कांग्रेस र माओवादी केन्द्र निकै तल छन् । वारागठी, परवानीपुर, पर्सौनी, सुवर्णलगायत ५ वटा गाउपालिकाको चुनावी परिणाम एमालेको पोल्टामा जाने पक्का देखिएको छ ।

अरुमा खैलाबैला : प्रभु हजारा पासवान, अध्यक्ष पर्सा
पर्साको अधिक स्थानीय तहमा एमालेको जित हुने देखेपछि अन्य दलका नेताहरुमा खैलाबैला मच्चिएको र उनीहरु राज्य शक्ति दुरुपयोग गरी चुनाव जित्ने दाउमा रहेको एमाले पर्सा अध्यक्ष प्रभु हजारा पासवान बताउछन् ।

पर्साको १४ वटा स्थानीय तहमा कम्तीमा ९ वटामा एमालले प्रष्ट जित हासिल गर्ने आकलन छ । विरगंज महानगरपालिकामा एमाले उम्मेदवार सबै सिटमा जित्ने पक्का छ । त्यसै पर्सागढी, पोखरीया नगरपालिकामा एमाले अग्रस्थानमा छ । १० वटा गाउपालिकामध्ये पटेरासुवली, सकुवापसौनी, धोवीसहित ६ वटामा एमाले अघि छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com