बाम एकताले तिलमिलाएको नेपाली कांग्रेसका लागि अबको बाटो

Srijana

श्रृजना आचार्य

आगामी निर्वाचनमा तालमेल सहित पार्टी एकिकरण सम्मको बामपार्टीको योजना सार्वजनिक भएपछि नेपाली राजनीति राम्रैसंग तरंगीत भएको छ । मुलुकको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसमा त्यसले तरंग पैदा नगर्ने कुरै भएन । आगामी मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रबिन्दु बनाएर नेकपा एमाले, माओवादी केन्द्र र नयांशक्ति लगायतका अन्य राजनीतिक दल समेतको चुनावी तालमेल र त्यसपछिको बाम एकताको योजना अप्रत्याशित रुपमा सार्वजनिक भएपछि नेपाली कांग्रेसलाई ठुलै झट्का लागेको छ ।

सत्तामा संगै रहेको माओवादी केन्द्रले आगामी निर्वाचन सम्म साथ दिने बाचा गरेकै अवस्थामा अर्कातिर प्रमुख प्रतिपक्ष दलसंग गरेको अर्कासहमतिले नेपाली कांग्रेसलाई पक्कै धोका भएको हो । एकातिर सरकारमा पनि सामेल हुने अर्कातिर प्रमुख प्रतिपक्षसंग पार्टी एकिकरणका लागि सहमति हुने कुरा माओवादी केन्द्रको दोहोरो चरित्रका रुपमा नेपाली कांग्रेस र राजनीतिक वृत्तमा बुझिएको छ ।

आन्तरीक समस्यामा समेत आक्रान्त बनेको नेपाली कांग्रेसलाई बाम तालमेल र एकिकरणको योजनाले नराम्रो झट्का दिएको छ । पुरानो र ठुलो पार्टीको रुपमा स्थापित नेपाली कांग्रेसका लागि अब राजनीतिक अस्थित्व बचाई राख्न र कार्यकर्ताको मनोबल बढाउन समेत निकै ठुलो चुनौती छ ।

पार्टी भित्रको आन्तरिक गुटबन्दीले समेत पार्टी संगठन कमजोर हुदै गएको अवस्था, शेरवाहादुर देउवाको नेतृत्व क्षमतामा देखिएको कमजोरी लगायतका कुराले समेत नेपाली कांग्रेसलाई पुरानो शाख जोगाईराख्न समस्या देखिएको छ । राजनीतिक विश्लेषकहरुले त नेपाली कांग्रेसले पार्टी नीति परिवर्तन नगरे पार्टीनै समाप्त हुनसक्ने खतरा समेत औल्याइसकेका छन् । बाम तालमेल र एकिकरणको रणनीति सार्वजनिक भएपछि नेपाली कांग्रेस पनि सोही बाटोमा अग्रसर हुंदा राजनीतिक धुरविकरण समेत बढाएको छ । नेपाली कांग्रेसले पनि दिनहुं राजनीतिक भेटघाट र छलफलका कार्यक्रमलाई जारी राखेको छ । लोकतान्त्रिक शक्तिका विचमा हुने तालमेलका नाममा दिनहुं बैठक र छलफल भइरहेका हुन् ।

सत्ता समिकरणमा रहेको माओवादी केन्द्रले सरप्राइज दिएपछि नेपाली कांग्रेसले त्यसको सामना गर्न दुई बिकल्प रोजेको देखिन्छ । एक बाम तालमेललाई बदनाम गर्ने अर्कासरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने । अहिले नेपाली कांग्रेस यहि बाटोमा अग्रसर भएको छ । काठमाण्डौमा सम्पन्न नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा कांग्रेसका नेताहरुले अध्यक्ष शेरवहादुर देउवालाई यस्तै सुझाव दिएका छन् ।

बाम एकता र तालमेलले राजनीतिक धुरविकरण बढाएको र त्यो मुलुकका लागि हितकर नहुने भन्दै एमाले माओवादी एकिकरणको बदनाम गर्ने रणनीतिका साथ राजनीतिक गतिविधि बढाएको देखिन्छ । अर्काविकल्प बाम एकता जस्तै लोकतान्त्रिक शक्तिहरु विचको एकतालाई पनि प्राथमिकतामा राखेर अगाडी बढेको हो ।

स्थानिय तहको निर्वाचन पछि आएको परिणामले एकातिर एमाले पहिलो पार्टीका रुपमा देखियो भने अर्कातिर तिनै पार्टी बिच फेरी एकिकरण हुने कुराले मुलुकमा कम्पुनिष्ट पार्टी हावी हुने भयले नेपाली कांग्रेस अत्तालिएको छ । उसले यो तालमेलले संविधान कार्यान्वयनमा पनि चुनौती देखेको छ । साम्यवाद सम्मको उदेश्य राखेर कम्युनिष्ट शक्ति बिच एकिकरण हुन लागेको हो कि भन्ने भय नेपाली कांग्रेसलाई हो ।

नेपाली कांग्रेसले अहिलेको अवस्थामा भय राखेर लोकतान्त्रिक शक्तिहरुबिच तालमेल गरेर मात्र पार लगाउन सक्दैन । लोकतान्त्रिक शक्ति बिचको तालमेलको कुरा भइरहंदा साना दलले पनि कांग्रेसवाट ठुलो भाग खोजिरहेको अवस्था छ । स्थानिय तहको निर्वाचनमा सामान्य सिट जितेको साना दलले चुनावी तालमेलको नाममा कांग्रेससंग सुन्दै अचम्म लाग्ने माग राखेका छन् । बाम एकतावाट आत्तिएको कांग्रेसले आफ्ना माग सहजै सुनुवाई गर्न सक्ने आंकलनका साथ त्यस्तो माग राखिएको हुनसक्छ ।

कांग्रेसको संधै एउटै कमजोरी रह्यो । अहिलेको एक्काइसौं सताब्दिमा पनि नेपाली कांग्रेसले संधै बिपी र गणेशमानको नाम अलाप्दै उनीहरुको नाममा फाइदा लिने कोशिस गरीरह्यो । तर नीति भने अख्तियार गर्न सकेन । समय सापेक्ष आफुलाई परिमार्जन समेत गर्न सकेको छैन । अहिलेको समाज परिवर्तनशिल, विवेकशिल र राजनीतिक चेतना उच्च छ । तर नेपाली कांग्रेस विपी र गणेशमान जस्ता नेताको नामको ब्याजमा धानिइरहेको छ । त्यसले अहिलेको युगलाई थेग्न सक्दैन । त्यसैले अहिलेको अवस्था सुहाउंदो परिवर्तनकारी नीति र कार्यक्रमको जरुरी छ । जुन कुरा नेपाली कांग्रेसले दिन सकेको छैन । त्यसमाथि ब्यक्तिवादी चरित्र र झुण्डको राजनीतिले नेपाली कांग्रेसलाई कमजोर बनाइरहेको छ ।

नेपाली कांग्रेस भित्र भएका यस्ता समस्या तत्काल समाधान हुने विषय होइनन् । त्यसका लागि कुशल नेतृत्व शैली भएको नेताले पहल गर्नुपर्छ । त्यसका लागि केही समय लाग्छ । तर राजनीतिक तरंगको सामना भने तत्काल गर्नुपरेको छ ।

अब हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउनु परेको छ । तर प्रमुख प्रतिपक्षसंग चुनावी तालमेल र पार्टी एकिकरणमा जान लागेको माओवादी केन्द्रका नेता गृहमन्त्री छन् । यो नेपाली कांग्रेसका लागि अर्काचुनौती हो । त्यसैले माओवादीका मन्त्रीलाई हटाउने तयारीसमेत अगाडि बढाएको छ । कांग्रेसले विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने निष्कर्ष सहित गृहकार्य सुरु गरेको छ ।

नेपाली कांग्रेसले तत्कालका लागि उपयुक्त ठहर्याएका उपायहरु । माओवादी केन्द्रसंग सत्ता समिकरण तोड्ने । माओवादीको ठाउंमा राप्रपालाई सामेल गराउने र महत्वपुर्ण मन्त्रालय दिने । एमाले माओवादीले अविश्वास प्रस्ताव ल्याए त्यसैका आधारमा वाम गठबन्धनको बदनाम गर्ने र वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिने चलखेलका रूपमा प्रचार गर्ने ।

तर नेपाली कांग्रेसको यो रणनीतिले मात्र पनि हुदैन । संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले खबको निर्वाचनमा निकै मेहनत र संघर्ष गर्नुपर्ने देखिएको छ । कांग्रेसभित्र अहिले आफ्नै नेता कार्यकर्ता ब्यवस्थापन गर्न नसक्दा समस्या आएको छ । पार्टीभित्रको गुटको राजनीति अन्त्य गर्दै समय सापेक्ष र लोकपृय कार्यक्रम सहित अगाडी बढ्नुपर्छ । जसरी एमालेले वृद्धभत्ता, आफ्नो गाउं आफै बनाउं लगायतका लोकपृय कार्यक्रम ल्यायो । राम्रो क्षबि भएका नेताहरुका विषयमा राम्ररी प्रचार प्रसार गर्यो । एमालेका गोकर्ण विष्ट, माओवादीका जनार्दन शर्मा लगायतका नेता अन्य पार्टीका लागि समेत लोकपृय भए । नेपाली कांग्रेसमा पनि त्यस्ता नेता नभएका होइनन् तर त्यसको जस भने लिन सकेको छैन् । त्यस्ता कुरालाई पनि ध्यान दिन जरुरी देखिन्छ ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com