गौचन हत्याले उव्जाएको प्रश्न, सुरक्षा संयन्त्रका लागि अब यस्ता चुनौती

श्रृजना आचार्य

राजधानीको ब्यस्त ठाउंमा दिनदहाडै भएको गोलि काण्डले काठमाण्डौको सुरक्षा चुनौती बढाएको छ । काठमाण्डौको मुटु नयां बानेश्वर नजिकै शान्तिनगर छेउ भएको सो घटनाले काठमाण्डौवासीको मुटु हल्लाइदिएको छ ।

यो घटनाले काठमाण्डौमा मात्र होइन काठमाण्डौ वाहिरका ब्यवसायी समेत असुरक्षित महशुष गरेका छन् । घटना भए लगत्तै अपराधिक समुहले अन्य केही ब्यवसायीहलाई समेत गौचनको जस्तै अवस्था बनाइदिने भन्दै धम्कि दिएका कारण ब्यवसायीहरु असुरक्षित महशुष गरेका छन् ।

काठमाण्डौमा सोमवार दिउसो निर्माण ब्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या भयो । शान्तिनगरको प्रयाग मार्गमा अज्ञात समुहले महासंघका अध्यक्ष शरद कुमार गौचन माथि गोलि प्रहार गरी हत्या गरेका हुन् । सोमबार दिउँसो शान्तिनगरस्थित आफ्नो घरवाट नीजि सवारी कारमा कार्यालय जांदै गर्दा प्रयाग मार्गमा अज्ञात समुहले गोलि प्रहार गरेको हो ।

गौचनको बाँया कोख, छाती र टाउकोमा गोली लागेको थियो । गोली प्रहारबाट घाइते गौचनलाई उपचारका लागि सिभिल अस्पचताल लैजांदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका चिकित्सकले बताएका हुन् ।

गौचन हत्या पछि त्रसित अवस्थाको फाइदा उठाउंदै अन्य अपराधिक समुह पनि सकृय हुन थालेका छन् । सो घटना भए लगत्तै काठमाण्डौका अन्य केही ब्यवसायीलाई पनि पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने भन्दै अपराधिक समुहको फोन आए पछि ब्यवसायीहरु थप असुरक्षित र त्रसित बनेका छन् । लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीप छिरिगं लामालाई घटना भएको केही समय पछि फोन मार्फत कसैले पैसा नदिए गौचनको जस्तै अवस्था बनाइदिने भन्दै धम्की दिएको खबर सार्वजनिक भएको छ ।

त्यस्तै सोमवार नै रुपन्देहीका दुई ब्यवसायीलाई समेत फोनवाट त्यस्तै धम्कि आएपछि उनीहरु प्रहरीकोमा पुगेका छन् । रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोन गरी काठमाण्डौमा भएको खबर थाहा पाइस् होला , हामीलाई पैसा नदिए त्यस्तै हालत बनाइ दिन्छौं भन्दै फोन आएपछि ब्यवसायीहरु सुरक्षाको प्रत्याभुतीको माग गर्दै प्रहरी कार्यालय पुगेका हुन् ।

मुलुकमा राजनीतिक शरगर्मी बढीरहेको अवस्थामा सबैको ध्यान अहिले मंसिर २१ गते हुने निर्वाचनमा केन्द्रित छ । राजनीतिक दल, सुरक्षा निकाय लगायत सर्वसाधारणहरु समेत निर्वाचनको तयारीमा ब्यस्त भएको अवस्थामा एकाएक सबैको ध्यान केन्द्रित गर्ने गरी भएको हत्याको घटनाले अर्कातरंग पैदा गरेको छ । अपराधिक समुहले यस्तै समयको मौका उठाउंदै आफ्नो अस्थित्वको आभास दिएको मुल्याकंन गर्न सकिन्छ ।

राजधानीमा प्रहरीले गुण्डागर्दीमा संलग्न केही चर्चीत ब्यक्तिहरुलाई पक्राउ गर्ने, कतै इन्काउण्टर गर्ने जस्ता कार्यहरु गरिरहेको बेला भएको यस्तो घटनाले प्रहरीको कारवाहीलाई समेत थप चुनौती दिएको छ । पछिल्लो केही समय यता प्रहरी निकाय गुण्डागर्दी नियन्त्रणका लागि अलि बढी सकृय हुनथाले पछि केही जिल्लामा कृयाशिल त्यस्ता अपराधिक ब्यक्तिहरु आफै प्रहरीकहां आत्मसमर्पण गर्न समेत पुगेका थिए । प्रहरीको सकृय कृयाशिलताको विरुद्ध अपराधिक समुह पनि त्यही अनुसारको तयारीका साथ लागेको सोमवारको घटनाले पुष्टि गरेको छ ।

प्रहरीले दुई दिन अघि मात्र भारतका मोष्ट वाण्टेड सार्प सुटर दुई जनालाई काठमाण्डौवाट पक्राउ गरेको थियो । सो घटनावाट पनि के बुझ्न सकिन्छ भने नेपाली अपराधि समुहले भारतीय अपराधिक समुहसंग मिलेर आफ्ना गतिविधि बढाउन थालेका छन् । गौचन हत्यामा पनि प्रहरीले पेशेवर सार्प सुटरको प्रयोग भएको प्रारम्भिक अनुमान गरेको छ । उनको हत्या सुनियोजित र निकै तयारीका साथ गरिएको भन्ने भनाई प्रहरीको छ ।

एक वर्ष देखि नै अपराधिक समुहको थ्रेटमा रहेका गौचनको सुरक्षाका विषयमा सुरक्षा निकाय गम्भिर नहुदा सोमवार त्यस्तो अपृय घटना हुन पुग्यो । एक वर्ष अघि अपराधिक समुहले चन्दा मागेर आफुलाई थ्रेट गरेको जानकारी उनले प्रहरी प्रशासनलाई दिएका थिए । तर प्रहरी प्रशासनले त्यसलाई गम्भिरताका साथ लिएन । गौचन पनि फेरी दोहोर्याएर प्रहरी कार्यालयमा गुनासो लिएर गएनन् । उनले आफ्नै ढंगले अवस्थाको सामना गरिरहे ।

गुण्डा नाइकेहरुको गतिविधि विरुद्ध अभियान सुरुगरेको प्रहरीका सामुन्ने यो घटनाले विभिन्न चुनौती थपिदिएको छ । ब्यवसायीमा परेको मनोबैज्ञानिक त्रासको ब्यवस्थापन गर्ने । त्रसित अवस्थाको फाइदा उठाउंदै अन्य अपराधिक समुहले टाउको उठाउने प्रयास गरिरहंदा त्यसको ब्यवस्थापन कसरी गर्ने प्रहरीका लागि यि नयां चुनौती हुन् । त्यस वाहेक गौचन हत्यामा संलग्न ब्यक्ति पत्ता लगाई सत्य तथ्य जतिसक्दो छिटो सार्वजनिक गर्नु प्रमुख चुनौती प्रहरी सामु छ । अहिलेको त्रसित अवस्थाको फाइदा उठाउंदै थप नयां समुह र सुसुप्त अवस्थामा रहेका अपराधिक समुहले पनि यहि घटनालाई देखाएर सर्वसाधारणलाई त्रसित बनाउने प्रयत्न गर्नेछन् । प्रहरीले यस्तो सम्भावनालाई पनि मध्यनजर गरेर आफ्ना कारवाही अगाडी बढाउनुपर्ने छ । त्यसवाहेक निर्वाचनको तयारी, सुरक्षा सम्बन्धि दैनिक कृयाकलाप समेतलाई अझ सशक्त बनाउनुपर्ने चुनौती प्रहरी सामु थपिएको छ ।

यो घटनाले निर्वाचनका समयमा चन्दा माग्ने समुहलाई पनि उदाहरण पेश गर्न सजिलो हुने भएको छ । त्यसैले निर्वाचनको गतिविधि सुरु हुनु अगावै प्रहरीले यो घटनाका विषयमा सत्य तथ्य बाहिर ल्याउनु जरुरी छ ।

यद्धपी प्रहरीले घटनामा संलग्न भएको अभियोगमा अहिले सम्म तीन जनालाई हतियार समेत र अन्य केही अभियुक्तलाई समेत पक्राउ गरेको छ । तर उनीहरु नै घटनामा संलग्न हो वा होइन भन्ने विषयमा भने विस्तृत विवरण आइसकेको अवस्था छैन ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com