दक्षिण अमेरिकी च्याम्पियन चिली आउँदो वर्ष रुसमा हुने विश्वकपमा छनौट हुन सकेन

लाइट नेपाल

काठमाडौं, २५ असोज ।दक्षिण अमेरिकी च्याम्पियन चिली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुन सकेन । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले पराजित भएसँगै कोपा अमेरिका विजेता चिलीको विश्वकप सपना टुटेको हो । चिलीलाई कम्तिमा प्ले–अफमा स्थान बनाउनका लागि एक गोल अन्तरको हार चाहिन्थ्यो ।

तर यसअघि नै विश्वकपमा स्थान बनाएको ब्राजिलसँग चिली निरिह बन्यो र तीन गोल अन्तरले पराजित भयो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा पाउलिन्होले ब्राजिलका लागि गोल गरे । त्यसको दुई मिनेटपछि गाब्रियल जिससले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । इन्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गरेपछि स्टार खेलाडी नेइमारसहितको टिम ब्राजिल ३–० ले विजयी भयो । चिलीका एलेक्स सान्चेज, अटुसो भिडालसहितका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए ।

तर सफल भने हुन सकेनन् । यो हारले चिलीलाई गोल अन्तरमा पछि पर्दै विश्वकपमा स्थान बनाउन असफल बनायो । कोलम्बियासँग १–१ को बराबरी खेलेको पेरु गोल अन्तरमा अघि रहँदै पाँचौं स्थानमा रहेर प्ले–अफमा स्थान बनाउन सफल भयो । पेरु र चिलीको समान २६ अंक भएपनि गोल अन्तरमा पेरु अघि रह्यो । पेरुले विश्वकप छनौटका १८ खेलमा २७ गोल गर्‍यो भने २६ गोल खायो । तर चिलीले २६ गोल गर्‍यो र २७ गोल खायो । यो नै उसका लागि घातक बन्यो । आउँदो वर्षको रुस विश्वकपमा सान्चेज र भिडालसहितका खेलाडीको प्रदर्शन हेर्न नपाइने भएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com