देउवा लगायत कांग्रेस नेताहरुले आफ्ना कार्यकर्तालाई वाम गठबन्धनका विषयमा यसरी दिंदैछन् प्रशिक्षण

Srijana

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादको खतरा औंल्याउंदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन् ।

विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क समितिको राष्ट्रिय भेलालाई विहिवार सम्बोधन गर्दै देउवाले लोकतन्त्रको खोल ओढेर अधिनायकवाद लागू गर्ने विरुद्ध सबै सजग हुनुपर्ने बताए ।

कांग्रेस नेता देउवाले अहिले काँग्रेसमाथि चुनौती आएको भन्दै त्यो लोकतन्त्रमाथिको चुनौती हो भनेका छन् । उनले लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध भएर काँग्रेसलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

भेलामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामपन्थी दलको गठबन्धन साम्यवाद लागू गर्ने उद्येश्यले भएको बताए ।

केही दलबीच भएको एकात्मक साम्यवाद स्थापना गर्ने सहमतिले काँग्रेसलाई झस्काएको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई नै चुनौती दिने गरी भएको गठबन्धनप्रति सबै गम्भीर हुनुपर्ने टिप्पणी गरे ।

काँग्रेस नेता डा प्रकाशशरण महतले मुलुकमा लोकतन्त्रको विकल्प छैन भनी काँग्रेसले नै सबै दललाई लोकतान्त्रिक मूलधारमा ल्याएको बताउँदै विश्वमा असफल भइसकेको साम्यवाद स्थापना गर्ने भनेर गरिएको गठबन्धन दुर्भाग्य भएको विचार व्यक्त गरे । गैरआवासीय नेपाली संघको आसन्न राष्ट्रिय सम्मेलनमा भाग लिन विश्वभरका जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्य राजधानीमा छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com