एनआरएनका ‘इलिट’ हरूका नाममा दीपकराज जोशी

ratan

यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपाल बाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष्ट्रवाद’ प्रदर्शन गर्छन्, अर्ती उपदेश दिन्छन्, नेपालका नेता र पद्धतिलाई सत्तोसराप गर्छन् तर आवश्यक पर्दा ढलेको सिन्को पनि उठाउँदैनन् । मेरो यो खुलापत्र त्यस्तै द्वैध चरित्रका एनआरएनका ‘इलिट’हरूप्रति लक्षित छ । बहुसंख्यक आफ्नो काम गरेर जीवन निर्वाह गर्ने गैरआवसीय नेपालीलाई छोडेर द्वैध चरित्रधारी ठालु एनआरएनलाई लक्षित गरी यस्तो पत्र लेख्नु पर्दा दुःख लागेको छ ।

मेरा अभिव्यक्ति उनीहरूलाई मन नपर्न सक्छ । द्वैध चरित्रधारीहरू आफ्नो विचार र विश्वासमा कति अडिग हुन्छन् भने यिनीहरू सजिलै आफ्नो विचार फेर्न सक्तैनन् । इमानदारी, स्वस्थ र रचनात्मक व्यवहारले व्यक्तिहरूबीचको सम्बन्धलाई असल र सफल बनाउँछ, द्वैधचरित्रले सक्तैन ।

केही नेपाली विदेश बसाइ त्यागेर नेपाल फर्किएका छन् । तिनीहरू नेपालमा अझ ’राम्रो जीवन’ सम्भव होला भनेर आएका छैनन् । उनीहरू आफ्नो सानै हैसियतबाट केही गर्न सकिन्छ कि भनेर आएका हुन् । अरू विदेश बस्ने नेपाली मूलका व्यक्ति पनि नेपाल फर्कनै पर्छ भन्ने छैन । नेपालमा फर्केर सानो समूहलाई सहयोग गर्नेहरू धरै छन् । यो राष्ट्र निर्माण गर्न यस्ता धेरै साना समूहलाई सहयोग गर्नु जरुरी छ । सपना आयात गर्न सकिँदैन, यहीँ देख्न सक्नुपर्छ । तपाईंलाई इच्छा छैन भने कसैले कर लगाएर हुँदैन । यस्तै दृढनिश्चयी हुनुहुन्छ भने तपाईंलाई कसैले रोक्न सक्तैन ।

योगदान गर्न चाहने मानिसहरू पनि छन् तर तिनीहरूमध्ये कतिपय जोखिम उठाउन डराउँछन् । तपाईंहरूमध्ये कतिले जोखिम उठाउनुभएको छ र सफलतापूर्वक परिस्थितिसँग जुधिरहनु भएको छ ? पद्धति कम खतरनाक हुन्थ्यो भने तुलनात्मक रूपमा धेरै मानिस आफ्नो मनमा लागेको कुरा गर्न अगाडि सर्थे । तपाईंले किन यो पद्धतिका गल्तीहरू औँल्याउँदै तिनका समाधानमा नलाग्ने ? चीन र केही हदसम्म भारत पनि यसका राम्रा उदाहरण हुन् । ती मुलुकले विदेशमा भएमा जनशक्तिलाई पुँजीकृत गरिरहेका छन् । ती मुलुकहरू आफ्नो समाजको फाइदाका लागि विदेशमा भएका आफ्ना नागरिकहरूलाई मुलुकमै आकर्षित गर्ने ध्याउन्नमा छन् । मेरो यो पत्र नेपालका समस्याहरूका वास्तविक समाधान दिन सक्ने थोरै गैरआवसीय नेपाली बौद्धिकहरूप्रति भने लक्षित छैन ।

एडमन्ड हिलारी नेपालमा जन्मिएका थिएनन् तर उनले आफ्नो जीवन नेपाली समुदायको भलाइमा समर्पण गरे । तेन्जिङ नोर्गे शेर्पा नेपालमा जन्मिएका भए पनि पछि उनी बसाईं सरेर भारत गए । मुख्य कुरा पहिचान होइन, काम हो । कामले तपाईंको पहिचान बनाउँछ ।

नेपालमा पनि आफ्नो क्षमताले भ्याएसम्मको काम गर्नेको कमी छैन । तीमध्ये कतिपय चर्चामा नआएका होलान् । नेपालमा असल नियतले काम गर्दा नसकेर दिक्क भई विदेश पलायन हुने पनि छन् । यहाँ थोरै मानिस केही सकारात्मक परिवर्तन ल्याउन कम्मर कसेर लाग्नेहरू पनि छन् । तिनले हार मानेका छैनन् । कमसेकम तिनको आशावादी व्यवहार र ऊर्जालाई त कदर गर्नुस् ।

कृपया गुनासोमात्रै गर्न चाहिँ छोड्नुहोस् । के तपाईंहरूमध्ये कोही नेपालमा शिक्षकका रूपमा काम गर्न चाहनुहुन्छ ? तपाईं महिनाको सरदर ३० हजार रुपियाँ जति (वा त्यसभन्दा कम) कमाउन सक्नुहुन्छ । मलाई थाहा छ द्वैधचरित्र भएका ‘इलिट’ यस्तो काम गर्न नेपाल आउँदैनन् । बहुसंख्यक नेपालीले आधारभूत आवश्यकता बल्लतल्ल पूरा गरेको वा गर्न नसकेको जस्तो शैलीमा तपाईं गुजारा गर्न सक्नुहुन्न । द्वैधचरित्रवालाहरू चर्का स्वरमा ठूला कुरा गर्छन् तर काम भने केही गर्दैनन् ।
कुनै पनि प्रणालीमा खोट देखाउन सजिलो छ । मूर्खले पनि यस्तो काम सहजै गर्न सक्छ । यस्ता समस्याबाट मुलुकलाई मुक्ति दिलाउन तपाईंसँग समाधान र सुधारका उपायहरू छन् त ? राष्ट्रनिर्माणका खातिर नेपाल फर्किएर अप्ठेरो सहन तपाईं तयार हुनुहुन्छ त ? सम्भवतः तपाईं तयार हुनुहुन्न ।

बौद्धिकहरूको नेपाल र यहाँको विकासप्रति सकारात्मक धारणा छ भन्ने म ठान्थेँ तर म गलत रहेछुजस्तो लाग्न थालेका छ । जहाँसुकै र जस्तोसुकै हैसियतमा बसेका भए पनि म गैरआवासीय नेपालीको विरोधी चाहिँ होइन । गुनासा गरिरहने तर सकारात्मक परिवर्तन गर्न ढलेको सिन्को पनि भाँच्न नतम्सिनेहरूको मात्रै विरोध गरेको हुँ । फेसबुकमा फोटाहरू हाल्नुले मात्रै तपाईंलाई देशभक्त बनाउँदैन ।

हामीलाई यस्तो देखाउने देशभक्ति चाहिँदैन । यस्तो प्रवृत्ति त नेपालको कुनाकुनामा र विदेशमा रहेका धेरै नेपालीमा पाइन्छ । यहा कामको आवश्यकता छ । हामीलाई भोकालाई खानेकुरा, घर नभएकालाई छानो र आवाज नभएकालाई आवाज दिनेको जरुरत छ । तपाईं संविधानको बारेमा आफ्नो फेसबुकको वालमा लेख्नुहुन्छ तर तपाईं आफैँले चाहिँ हाम्रो संविधान कहिल्यै पढ्नुभएको छ ? कुरै नबुझी आलोचना गर्नु कत्तिको उपयुक्त हो ? आलोचना गर्न सजिलो छ तर काम गर्नसक्ने समाधान खोज्न त्यति सजिलो छैन ।

मैले अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकका चर्चित विश्वविद्यालयमा काम गर्ने तर नेपाललाई बौद्धिक र आर्थिकरूपमा पनि ठूलो योगदान दिएका नेपालीलाई पनि चिनेको छु । राष्ट्रलाई तिनले दिएको असाधारण योगदानका लागि म सलाम गर्छु ।

देशभित्र बस्ने हुन् या बाहिर, नेपाली इलिटहरूको प्रवृत्ति अचम्म लाग्दो छ । यिनीहरू सार्वजनिक सवारी साधन प्रयोग गर्न रुचाउँदैनन् । आफू ठूला र महँगा कार किन्न चाहन्छन् तर नेपालमा सार्वजनिक यातायातको बारेमा गुनासो भने गरिरहन्छन् । यी इलिटहरू तीन हजार डलर पर्ने डीएसएलआर क्यामेराबाट नांगा सडक बालबालिका, बुढी महिला, साधुहरू, स्थानीय चिया पसल र भद्रगोल सवारी व्यवस्थापनको फोटो खिच्छन् र आफैंँलाई सामाजिक अभियन्ता ठान्छन् । अब तिनीहरू दौरा सुरुवाल र ढाका टोपीप्रति आकर्षित हुन थालेका छन् जुन उनीहरू धनी हुनुअगाडि वा विदेश जानुअगाडि कल्पनासम्म पनि गर्न सक्तैनथे ।

यस्ता बौद्धिकहरू आफूलाई सर्वसाधारण नागरिकहरूभन्दा बढी शिक्षित र धेरै जानेको सोचाइ पालेर बसेका छन् । यिनीहरू आफूले धेरै किताब पढेकाले, धेरै सभा समारोहमा भाग लिएकाले वा केही पुरस्कार थापेकाले आफूलाई सुसंस्कृत व्यक्ति ठान्छन् । अर्थात्, यिनीहरू आफूलाई अरूभन्दा बढी चतुर र होसियार ठान्छन् ।

विदेशका महागा विश्वविद्यालयबाट डिग्री लिन नसकेका र फरक ढंगले सोच्ने मानिस पनि छन् । त्यस्तो डिग्री लिन नसक्तैमा तिनीहरू मूर्ख त भइहाल्दैनन् नि ।

म सबै उस्तै हुन् भन्दिन । मसँग सहमत र असहमत हुन तपाईं स्वतन्त्र हुनुहुन्छ र तपाईंको असहमत हुन पाउने अधिकारका बारेमा विवाद गर्नुपर्दैन । यो समाज र मुलुकलाई वास्तवमै योगदान गर्न चाहनेहरूको भने खाँचो छ । त्यस्ता मानिस अब नेपाल फर्कनु पर्छ ।

info@dipkajoshi.com.np

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com