’हाकिमकी श्रीमतीसंग एक पटक’

डा. विजयकुमार पौडेल

आठ दिनदेखि परेको मुसलधारे वर्षाले मुगलिन–नारायणघाट खण्डको सडक ध्वस्त बनाएको थियो भने मुगलिन–पोखरा खण्डको सडक पनि ठाउँठाउँमा भत्केको समाचार सुनिएको थियो ।

हामी पाँचजनाः चैतन्य आचार्य र उनकी आमा, सीताराम अधिकारी, रामप्रसाद श्रेष्ठ र म काम सकिएर काठमाडौंमा बसेको पाँच दिन भइसकेको थियो । अड्कलेर ल्याएको खर्च सिद्दिँदै जान थालेकाले आआफ्ना घरतिर फर्कनै पर्ने भएको थियो । सडक बाटोबाट जिल्ला फर्कन असम्भवजस्तै लाग्यो । सापटी खोजेर भएपनि हवाईजहाज चढेर भैरहवासम्म जाने टुंगोमा हामी चारैजना पुगेका थियौँ ।

वर्षाको च्याउझै बग्रेल्ती उम्रेका हवाईजहाज कम्पनीहरू भए पनि टिकट पाउन सकिएन । सडकयात्रा अवरूद्ध भएकाले पन्ध्र–बीस दिनसम्मलाई टिकट ‘बुक’ भइसकेको कुरा सबैले बताए । आफूले चिनेका मन्त्रीहरूको ‘सोर्र्स’ समेत लगाइयो तर के गर्ने ? कसैले भन्यो भन्दैमा जहाजवालाहरूले हामीलाई छतमा चढाएर लैजान सक्दैनथे । हैरान परेपछि हामीहरूलाई पैदलै भए पनि हिँडौजस्तो लाग्न थाल्यो । रेडियोमा मुग्लिन–आँबुखैरेनी र मुगलिन नारायणघाटबाहेक अन्यत्र यातायात सुचारू रूपमा सुरू भएको समाचार सुनियो । हामीहरूले भोलिपल्टै हिँड्ने निर्णय ग¥यौँ । हाम्रो टोलीको सबैभन्दा कान्छा चैतन्य आचार्यले बसको टिकट काट्ने जिम्मा लिए ।

रातभरि मुसलधारे वर्षा भइरह्यो । बाँकी बचेको बाटो पनि भत्कने हो कि भन्ने पिरलो लागिरह्यो । बिहानै पाँचबजे हामी चारैजनाले फोनमा सम्पर्क गरेर जाने या नजाने विषयमा फेरि छलफल ग¥यौँ । खल्ती रित्तिंदै गएको अवस्थामा काटिसकेको बसको टिकटको माया मारेर बस्नसक्ने स्थिति थिएन । हाम्रो टोलीका हामी तीन जनाले ‘काका’ भन्ने गरेका राम्रसाद श्रेष्ठले, ‘हिँडौँ साथी हो, जे त पर्ला’ भनेपछि मुसलधार पानीको वास्ता नगरेर बसअड्डा पुगियो ।

बस हिँड्नै लागेको थियो, अगाडिपट्टि सेतो प्लेटमा रातो अक्षर भएको कार आएर रोकियो । कारबाट गहनै गहनाले ढपक्कै ढाकिएकी एउटी युवती र त्यस्तै सुटबुटमा ठाँट्टिएको एकजना युवक बाहिर निस्के । युवकचाहिँले खल्तिबाट कुनै कागज झिकेर हे¥यो र हाम्रै बसको चालकनिर गएर केही कुरा गर्नथाल्यो ।

‘यो हाकिम कताबाट यहाँ मर्नआएछ ?’ सीतारामले भन्यो ।
‘तपाईंले चिन्नुभएको छ र त्यसलाई ?’–सोधें ।

‘जहाँ गयो त्यहीँ जनता सताउँदै हिँड्ने मान्छे त हो नि यो ! परारसाल हाम्रो जिल्लामा पनि बस्यो एकवर्ष जति । यसका पालामा जत्तिको प्रशासनिक दमन त पञ्चायती शासनमा पनि भएको थिएन ।’ उसले मुख बिगार्दै भन्यो ।
‘सामुन्नेमा पर्दा कस्तो व्यवहार गर्छ नि त्यस्ले ?’ काका (रामप्रसाद)ले सोधे ।

‘हाम्रो जिल्लाबाट सरूवा भएपछि यससित भेट भएको भए पो थाहा पाउनु ! मलाई त यसको अनुहारै सम्झन मन लाग्दैन । यसका पालामा दर्ता भएका ‘सार्वजनिक अपराध’ का झुठा मुद्दाहरूको तारिख बोक्दा–बोक्दा हाम्रा साथीहरू अहिले पनि हैरान छन् । अत्यन्त नीच प्रवृतिको मान्छे हो यो त !’ सीतारामको बोलीमा आक्रोश मिसिएको थियो ।

‘त्यो सँगै आउने महिला को हुन् ? त्यसकी श्रीमती ?’ काकाले सोधे ।
‘अँ, कान्छी श्रीमती होली नि । जेठीलाई त पहाडतिरै छोडेको छ रे ।’

श्रीमतीलाई अघि लगाएर हाकिम भित्र पस्यो । सीतारामले उसलाई नदेखेजस्तो गरेर पत्रिका पढेकोजस्तो ग¥यो । ‘ओहो सीतारामजी, नमस्कार !’ हाकिमले आफैँले नमस्कार गरेर हात तेस्र्यायो । सीतारामले मन नलागी–नलागी लुलो हात अगाडि बढायो ।

‘चिन्नुभएन सीतारामजी मलाई ?’ हाकिमको अनुहारमा आश्चर्यको भाव देखिन्थ्यो । ‘तपाईंलाई पनि कहाँ बिर्सन सकिन्छ र ? हाम्रा सयौँ साथीहरूले समेत मुद्दाको तारिख लिन सदरमुकाम जाँदा तपाईंकै नाम जपिरहेका हुन्छन् ।’

हाकिमको अनुहार हेर्दा उसले सीतारामको कुरा रूचाएको छैन भन्ने प्रस्टै देखिन्थ्यो तर उसले प्रकटमा भने अत्यन्त विनम्र हुँदै हात जोडेर भन्यो, ‘हेर्नुस् सीतारामजी, हामी त प्रशासक हौँ । माथिको आदेश पालना गर्दा कतिपय गल्तिहरू भए होलान् । के गर्ने, जसको सरकार छ, त्यसैका नेताहरूले अह«ाएको मान्नै प¥यो । तैपनि व्यक्तिगत रूपमा मबाट केही कमजोरी वा अन्यथा भएको भए क्षमा चाहन्छु ।’
चालकले बसको भोंपु बजायो । परिचालकले हाकिमतिर फर्केर भन्यो, तपाईंको गाडी बसको अगाडिबाट हटाउन भनिदिनुप¥यो ड्राइभरलाई । हामीलाई हतार भैसक्यो ।’

हाकिमले सीतारामको दाहिने हात समातेर भन्यो, ‘ल त सीतारामजी अहिलेलाई बीदा पाउँ ! म मध्यपश्चिमतिर खटिएको छु । मेरी श्रीमतीलाई चिन्नुभएकै होला । बाटोमा आफ्नै बहिनी ठानेर परेको सहयोग गरिदिनु होला । प्लेनको एउटा मात्रै टिकट पाइयो । आजै दिउँसो दुईबजे नेपालगञ्जमा प्रधानमन्त्रीज्यूको कार्यक्रम छ, आफैँ नगई भएन ।’ त्यसपछि उसले आफ्नी श्रीमतीतिर फर्केर भन्यो, ‘राम्ररी जाऊ है सानु ! तिमीलाई लिन गाडी आँबुखैरेनीसम्म नै आउनेछ । केही परे उहाँ सीतारामजीलाई भन्नु । उहाँलाई आफ्नै दाजु ठाने हुन्छ । मुगलिन त दिउँसै पुगिएला नि । त्यसपछि आँबुखैरेनी त कति टाढा छ र !’

नागढुंगाबाट अलिकति पर पुग्नेबित्तिकै आँखाले देखिएजति टाढा–टाढासम्म गाडीहरू लाम लागेर अडिएका देखिए । नौबीसे नजिकै माथिबाट ढिस्को खसेर बाटो रोकिएको हल्ला सुनियो । मुसलधारे पानी उस्तै ढंगले परिरहेको थियो । ‘लौ अब बाटो कतिखेर खुल्ने हो’ भन्दै बसका यात्रीहरू छाता बोकेर तल ओर्लिए । हाकिमकी श्रीमती भने सिटमै बसिराखी । एकछिन पछि बाटो खुल्यो । धार्के कट्नेबित्तिकै फेरि ‘जाम’ सुरू भयो । यसपालि भने हाकिमकी श्रीमती पनि गाडीबाट ओर्लिई ।

ऊ आफ्नो सारीमा हिलो लाग्छ कि भनेर विशेष सतर्क देखिन्थी । एक हातले छाता र अर्को हातले सारी उचाल्दै अलिपर गएर एक्लै उभिई । बाटो वरपर अरू थुप्रै महिला यात्रीहरू थिए जो एक–आपसमा कुरा गरिरहेका थिए तर हाकिमकी श्रीमती भने आफैँमा मग्न देखिन्थी । अरू महिला सामान्य गृहिणीजस्ता देखिन्थे, ऊ भर्खरै अन्माउन लागिएकी दुलहीजस्ती देखिएकी थिई ।
पानी पर्न केही कम भएजस्तो भयो । गाडीहरूको लस्कर फेरि अगाडि बढ्यो । मलेखु पुग्नै लाग्दा फेरि उही दशा सुरू भयो । हाम्रो बसको चालक र अरू केही उत्साही युवाहरू गाडी रोकिनेबित्तिकै ‘के भएछ हँ’ भन्दै अगाडि दौडिन्थे । यसपाली पनि त्यसै गरे ।

‘बाटो खराब छ भनेपछि आफ्नै लाइनमा आउनु नि । एउटाले लाइन मिच्छ दुनियाँलाई आपत । स्साला… ।’ हाम्रो बसको चालक भुत्भुताउँदै आएर आफ्नो सिटमा बस्यो ।

कुरिनटारको ‘केबुलकार’ स्टेसन भन्दा अलिपर पुगेपछि उहीक्रम दोहोरियो । साँझ पर्न थालिसकेको थियो । सिमसिम् पानी परिरहेकै थियो । झर्दा र चढ्दा हैरान परेका यात्रुहरू यसपटक गाडी रोकिए पनि तल झरेनन् । धेरैबेरसम्म बाटो नखुलेपछि भने एक–दुई जना गर्दै सबैजना गाडीबाट ओर्लिए । तल त्रिशुली नदी उन्मत्त भएर बगेको थियो । यसपाली भने हाकिमकी श्रीमती चैतन्यकी आमाको नजिक गएर कुरा गर्न थाली । उसले एकछिनपछि हामी चारैजनासँग परिचय लिने–दिने काम गरी ।

‘लौ हजुर, यहाँबाट उता गाडी जाँदैन । ठूलो पहिरो खसेछ । तपाईंहरू आआफ्नो व्यवस्थामा लाग्नुभए हुन्छ ।’ परिचालकले वरिपरिका सबैले सुन्ने गरी भन्यो ।

गाडीहरूको लाइन छिचोल्दै आ–आफ्नो झोला बोकेर यात्रीहरूको लस्कर अगाडि बढ्यो । झमक्क साँझ परिसकेको थियो । पक्की बाटोमा ठाउँठाउँमा ठूलाठूला ढुंगाहरू गजधम्म परेर बसेका थिए । ठाउँठाउँमा लेदो मिसिएको गग्रेटोले बाटो सम्लक्कै पुरेको थियो । हामीहरूले पाइन्ट फुकालेर जाँघे (हाफपाइन्ट) लगाएका थियौं तथा जुत्ता खोलेर हातमा लिएका थियौँ । चैतन्यकी आमाले धोती माथि सारेर छरितो ढंगले बाँधेकी थिइन् ।

हाकिमकी श्रीमती भने आफ्ना अग्ला एडी भएका जुत्ता (सेन्डिल) लगाएरै हिँडिरहेकी थिई । ऊ हाम्रो साथ नछुटोस् भनेर सकेसम्म छिटो हिँड्ने प्रयास गरिरहेकी थिई । उसलाई आफ्नो सिंगारपटार र पहिरन जोगाएर हामीहरूसँगै हिँड्ने काम गर्न बडो अप्ठेरो भएको देखिन्थ्यो । एकछिन पछि ऊ पछाडि छुटी । एक्कासी पछाडिबाट आत्तिएर चिच्याएको आवाज आयो । हामीहरूले पछाडि फर्किएर हेर्दा हाकिमकी श्रीमती कम्मरसम्म हिलोमा धसिएर छटपटाइरहेकी थिई ।

चैतन्य र सीतारामले उसलाई दुई पाखुरीमा समातेर बल्ल–बल्ल निकाले । उसका खुट्टामा जुत्ता थिएनन् ।

‘लौ न दाइ, जुत्ता पनि खोजिदिनुस् न ।’ उसले बडो विनीत भावमा भनी । उसको आग्रहलाई टार्न नसकेर चैतन्य र सीतारामले एकछिन हिलो खोतलखातल पारे तर जुत्ताको पत्तो लागेन । अँध्यारो छिप्पिएर चकमन्न भइसकेको थियो । रामप्रसाद काकाले झोलाबाट टर्चलाइट झिके । हामीहरू फेरि अघि बढ्यौँ । हाकिमकी श्रीमती घरिघरि छुट्थी, काकाले पछाडि फर्र्किएर उज्यालो देखाउँथे । खालिखुट्टा हिँड्नुपर्दा ऊ बडो कक्रिएकी देखिएकी थिई ।

‘तपाईंलाई साह्रै गाह्रो भएजस्तो छ । यी मेरा चप्पल लगाएर हिँड्नोस त नानी ।’ काकाले आफ्ना चप्पल उसलाई दिँदै भने ।

‘धन्यवाद काका’ चप्पल लगाउँदै उसले भनी । त्यसपछि भने ऊ हाम्रो तारमा हिँड्न थाली । अब उसलाई सारी बचाउने झन्झट पनि थिएन । खेतमा काम गर्ने महिलाहरूलेजस्तै उसले पनि आफ्नो हिलो सारी दोब्य्राएर कम्मरमा घुसारेकी थिई । मुगलिन बजारमा गाडीहरू खचाखच भरिएका थिए ।

जताततै अलपत्र परेका यात्रीहरूको घुईँचो थियो । हामीहरूले बास बस्ने होटल खोज्न थाल्यौँ । सुत्ने ठाउँ कतै पाइएन, सबै होटल र लजहरू भरिभराउ भइसकेका रहेछन् । अघिपछि किच्च दाँत देखाएर ग्राहकको स्वागत गर्ने होटलवालाहरू हामीसँग बोल्न पनि झर्को मानिरहेका थिए ।

‘बसमै बसेको भए बरू यो ज्यानले रातभरि अलि सुबिस्ता पाउँदो हो,’ खुइय गर्दै होटलको सिँढीमा बसेर रामप्रसाद काकाले भने । हाकिमकी श्रीमतीले होटल अगाडिको धारोमा थापिएर कपडैसित नुहाउन थाली ।

‘एकछिन पछि भात खान पनि नपाइएला । पहिले टन्न भात खाऔँ, त्यसपछि जे पर्छ बेहोरौँला ।’
सबैले मेरो प्रस्ताव स्वीकार गरे ।

‘ओहो, रामप्रसाद काका, नमस्कार ।’ बीस–बाइस वर्षकी आकर्षक युवतीले एकहातले भातको बाटा र अर्को हातले पनियो उचाल्दै भनी । रामप्रसाद काकाले एकछिन टोलाएर हेरे । उनले चिनेजस्तो छाँट देखिएन । ‘चिन्नुभएन हगि ! नेताहरू सबै उस्तै हुन्छन् भनेको यही हो । चुनावको बेलामा मैले गीत गाउँदै हिँडेको बिर्सनुभयो ?’ युवतीको अनुहारमा विस्मयको भाव देखिन्थ्यो ।

‘आफ्ना कार्यकर्तालाई पनि कसैले बिर्सन्छ ? नचिन्ने त कुरै भएन नि !’ काकाले आफ्नो बचाउ गर्दै भने ।
‘चिनेको भए मेरो नाम बताउनुस् त !’ युवतीले मस्किदै भनी । ‘हेर छोरी, अहिले भोकले लखतरान परिएको छ । पहिले टन्न खान देऊ । त्यसपछि तिम्रो नालीबेली बताउन सकिनँ भने आज बासै नदिनू ।’

‘त्यसो भए त ठीक छ । पहिले खाना खानुस् । उहाँहरू को त ?’ हामीहरूतिर संकेत गर्दैै युवतीले सोधी । काकाले हामी सबैको परिचय गराएपछि भने, ‘यो नानीको परिचय भने अहिले दिन्न । भात खाएपछि कोठामा बसेर मजाले बताउँला ।’

काकाको कुरा सुनेर त्यो युवती सन्तुष्ट देखिई र भित्र गई ।

‘तपाईंले चिनेको हो कि त्यसै भनेको ?’ मैले सोधेँ ।

‘के को चिन्नु नि ! चिन्न पाए त बास पक्का भयो साथी हो । भात खाएपछि पल्लो होटलमा गएर भएपनि यो नानीको बारेमा पत्तालगाउने काम तपाईंको ।’ मलाई अह्राउँदै काकाले भने ।

‘ल काका, यो मेरो तर्फबाट !’ छवटा साना रिकापीमा तात्तातो बाफ उड्दै गरेको मासु लिएर त्यही युवती आई । उ एकछिन हाम्रो टेबुल अगाडि उभिएर बडो आत्मीय पाराले हेरिरही । भित्रबाट कसैले ‘ए दुलहीनानी, यता आउ त’ भनेर बोलायो । ऊ भित्र गई ।

‘यो बैनीको यहाँ घर र तपाईंको गाउँ वरपर माइती हो भन्ने कुरा त पक्का भयो । अब लख काट्नुस् त ।’ मैले भनेँ । ‘यत्तिकी राम्री नानी त हाम्रो थोर्गा वरपर कोही भएकै थाहा छैन । कसरी अनुमान लगाउँ ? ।’ रामप्रसाद काकाको कुराले सबैलाई हँसायो ।

‘तल बडिगाड तिरको कुनै थकालीकी छोरी हुन् कि ?’ सीतारामले रहमा ढुंगा फाल्यो ।

‘ठीक, यिनी रामबहादुर शेरचन दाइकी ठूली छोरी शान्ता पो हुन् त ! परारसाल यिनको बिहेमा म आफैँ गएको थिएँ, कस्तो बिर्सिएछ । धत्तेरिका ! आधा चुनाव त यही नानीको गीतले जिताएको हो भनेपनि हुन्छ । यसको गला कस्तो मधुरो छ भने भनिसाद्धे छैन ।’ काकाले बडो सन्तोष मान्दै भने ।

भात खाएपछि काकाले शान्ताको सबै नालीबेली बताए । ऊ दंग परी ।

‘कता हो त हामीले ज्यान बिसाउने ठाउँ ?’ काकाले सोध्नेबित्तिकै ‘ल आउनुस्’ भन्दै ऊ अघिअघि हिँडी ।
‘यही पनि कोही आफन्त आइहाल्नुहुन्छ कि भनेर कसैलाई नदिएर राखेकी थिएँ । जसो–तसो गुजारा गर्नुप¥यो काका ।’ तीनवटा साना खाटहरू भएको कोठामा पु¥याएपछि उसले भनी ।

‘ल, अब महिलाहरू एउटा खाटमा सुत्ने, हामीहरू पनि एउटा खाटमा दुईजनाको दरले घन्चमन्च सुतौँ अब ।’ रामप्रसाद काकाले झ्यालनिरको खाटमा पल्टिँदै भने । ‘मेरो त फेर्ने लुगा पनि छैन काका । हेर्नुस न, हिलो पखाल्दा निथ्रुक्क भिजेकी छु । फेर्ने कपडा किन्न जाउँ न । आजै आबुखैरेनी पुगिन्छ भनेर मैले कपडा नलिइकन आएँ ।’ हाकिमकी श्रीमती यसरी बोली, मानौँ उ रामप्रसाद श्रेष्ठकी साख्खै भतिजी हो ।

‘ल युवाहरूमध्ये कोही गइदिनोस् । म त बुढोमान्छे, सुतेँ अब ।’ रामप्रसादले झ्यालतिर कोल्टो फर्कंदै भने । ‘काका नै हिँडिदिनोस् न ! हुन त वहाँहरू पनि मेरा दाइजस्तै हुनुहुन्छ तर पनि पाको मान्छेसित हिँड्नपाए अझै राम्रो ।’ रामप्रसादले नउठी सुख पाएनन् ।

०००
‘दाइ, दाइ उठ्नुस् न । तपाईं त कस्तो निदाउनु भएको ! ल हेर्नोस् त सबैजना उठेर चिया खान थालिसक्नुभो ।’ मलाई घच्घच्याएर उठाउँदै हाकिमकी श्रीमतीले भनी । आँखा मिच्दै उठेँ । उसले चियाको गिलास मेरो हातमा राखिदिई । अरू साथीहरू नित्यकर्म सकेर चिया पिउँदै रहेछन् ।

हामीहरू मुगलिनदेखि आँबुखैरेनीसम्म पैदल हिड्यौँ । सयौँ यात्रीहरू हामीजस्तै पैदल हिँडिरहेका थिए । वर्षाले जताततै ताण्डव मच्चाएको थियो । आँबुखैरेनीको पुलको नाम–निशान थिएन । विद्युतगृह पनि ठूलो क्षतिबाट रौँप्रमाणले जोगिएजस्तो देखिन्थ्यो ।

त्यसदिन हामीसँग हाकिमकी श्रीमती थिइन । ऊ फेरिएर ‘शारदा बैनी’ भएकी थिई । मलाई लाग्योः गहनैगहनाले पुरिएको उसको शरीर र हामीहरूको टोलीमा कसैलाई ‘आमा’, कसैलाई ‘काका’ र कसैलाई ‘दाइ’ भनेको अलि परबाट देख्नेले अनुमान गर्दो हो, ‘यो नानीका माइतीहरू त जसोतसो खानपुग्नेसम्मका रहेछन्, तर छोरीलाई भने निक्कै धनी ठाउँमा दिएका रहेछन् ।’
आँबुखैरेनीमा कुनै सेतो प्लेट भएको गाडी नदेखेपछि मैले शारदातिर फर्किएर सोधेँ, ‘खै, तपाईंलाई लिन गाडी आएन त ?’

‘बुटवल सिद्धबाबानिर बाटो भत्किएर आउन सकेन रे । उहीँ पर्खिएर बसेको छ रे । मैले बिहानै नेपालगञ्ज फोन गरेर पत्ता लगाइसकेँ नि ।’ ‘धत्तेरिका ! सेतो प्लेटको गाडीमा चढेर जान पाइने भो भनेको त भएन है ।’ रामप्रसादले ठट्टा गर्दै भने । शारदा गम्दारी पाराले हाँसी । उसको हाँसोमा कुनै छलकपट वा उत्ताउलोपनाको आभास पाउन सकिएन ।

हामीले पोखरा जाने गाडी समात्यौँ । त्यहाँदेखि पोखरासम्मको बाटो ठाउँ–ठाउँमा बिग्रिएको थियो तर गाडी हिँड्न नमिल्ने गरी भत्किएको थिएन । दिन सफा थियो । बाटो खराब भएपनि वरिपरि देखिने मनमोहक दृश्य हेर्दै साँझतिर पोखरा पुगियो । हामीहरू बसबाट झर्नेबित्तिकै बुटवल जाने रात्रीबसको टिकट काट्न गयौँ ।

‘दोभानसम्म बाटो ठीकै छ । त्यहाँबाट उता भने हिँड्नै पर्ला । सुरूमै भनिदिएको राम्रो, हैन त ?’ टिकट काट्ने भाइले मुसुक्क हाँस्दै भन्यो । चैतन्यले सबैजनाको टिकटको पैसा ति¥यो । शारदाले ‘मैले दिने थिएँ नि दाइ’ भनेर मन दुखाएजस्तो गरी ।

नौडाँडा पुगेपछि रातिको खाना खाइयो । हामीहरू उठ्न नपाउँदै हत्तपत्त गएर शारदाले पैसा तिरी । बस चढेपछि रामप्रसाद काकाले मसँग भने, ‘यो नानी फरासिली रै’छ । त्यस्तो उत्ताउलोपन पनि देखिँदैन । कसरी सौतामाथि गइछ ?’

‘यो विचरीलाई हाकिमकी जेठी श्रीमती छ भन्ने कुरा थाहै भएन होला ।’ मैले आफ्नो राय राखेँ । शारदाको व्यवहार यति आत्मीय थियो कि उसमाथि अन्यथा शंका गर्ने ठाउँ देखिँदैनथ्यो । रामप्रसाद काकाले मेरो कुरामा सहमति जनाए ।

बिहान साढेपाँचबजे दोभान पुगेर चिया पियौँ । शारदा पुलिसचौकीमा गई । फर्किंदा ऊ हाँस्दै आएकी थिई । ‘ड्राइभर हिजो यहीँ आएको थियो रे, यहाँ चौकीमा खबर गरेर फर्किएछ । ‘सिद्धबाबाको मन्दिर नजिकै पर्खिएर बस्छु’ भनेर गयो रे ।’ उसले सानी बैनीले खबर सुनाएजस्तो गरी फुरूंग परेर भनी ।

हामीहरू दोभानदेखि पैदल हिड्यौँ । ठाउँ–ठाउँमा घरजत्तिकै ठूला ढुंगाहरू बाटो छेकेर पसारिएका थिए । लेदोसहितको गग्रेटो माटो माथिबाट झरेको–झ¥यै थियो । ज्यान जोगाएर कसरी बुटवल पुग्ने होला भन्ने लाग्यो ।शारदा फुर्तीसाथ चैतन्यकी आमाको झोला बोकेर अघिअघि हिँडिरहेकी थिई । अलिपर पुगेपछि एउटा ठूलै ढुंगो बाटो माथिबाट बिस्तारै माटो भत्काउँदै तल झरिरहेको देखियो ।

‘ए बैनी माथिबाट ढुंगो खस्दैछ, याता फर्कनुस् ।’ चैतन्यले चिच्याएर भन्यो । शारदा तर्सि र ढुंगा खस्नलागेतिरै दौडिई । चैतन्य हाम्फाल्दै गयो र शारदाको हात समातेर दोडाउँदै पछाडि फर्कायो । उनीहरू हामीतिर चारपाइला मात्रै के दौडिएका थिए, त्यो अजंगको ढुंगो ठूलो आवाजका साथ बाटोमा खस्यो । भुईंचालो गएजस्तै बाटो थररर थर्कियो । एक निमेषको अन्तरले चैतन्य र शारदा जोगिए । उनीहरू भक्कानिँदै आएर हामीहरूसँग टाँस्सिए । अप्ठेरो परेको बेलामा औपचारिकताको पर्खाल कहाँ रहन्छ र !

हामी सबैका हातखुट्टा लगलग काँपिरहेका थिए । आआफ्नो झोला अलि पर हुत्याएर थचक्क भुईंमा बस्यौँ । शारदा डराएकी सानी बच्चीजस्तै रामप्रसाद काकासँग टाँस्सिएर बसेकी थिई । धैरैबेर पछि मुटुको गति सामान्य भयो । हामीहरू हिड्यौँ ।सिद्धबाबाको मन्दिरनिर सेतो प्लेटको ‘टोयटा ल्यान्डक्रुजर’ उभिएको थियो । हामीहरूले मन्दिरका सिँढीमा आआफ्ना झोलाहरू बिसायौँ र माथिपट्टिको धारामा हातखुट्टा धुन गयौँ ।

‘शारदा खोइ त ?’ हातखुट्टा धोएर फर्किएपछि चैतन्यले आमासँग सोध्यो ।

‘ए…त्यो आइमाइ त एक वचन नबोली गाडी चढेर गई । यता त फर्केर पनि हेरिन ।’ उदेक मान्दै चैतन्यकी आमाले भनिन् ।हामीहरू एकछिन मुखामुख ग¥यौँ । त्यसपछि झोला बोकेर बुटवलतिर हिड्यौँ ।

‘ए…हाकिमकी स्वास्नी गइछ ।’ धेरैबेरपछि मौनतालाई तोड्दै रामप्रसाद काकाले भने । हामीहरू फिस्स टर्रो हाँसो हाँस्यौँ ।साभार जनता टाइम्स

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com