पतिको मृत्युले दिएको खुसी !

Srijana

कार्यालयमा काम गर्दै थिए । अचानक एउटी महिला हातमा कपडाको झोलामा सानो पोको बोकेर हस्यागं फस्यागं गर्दै आइन् । रतन सर हुनुहुन्छ भन्दै सोधिन् । रतन केही बेर अघि मात्र कार्यालयवाट वाहिर निस्किएका थिए (रतन र म स्कूल पढ्दा देखिको साथी भएकाले हामी कार्यालयमा पनि एक अर्कालाई तिमी नै सम्बोधन गर्छौ) । मैले रतन भर्खर बाहिर निस्केका छन् तपाई को हो भनेर
सोधें । उनले भनिन् म उहांलाई धन्यवाद दिन आएको । मेरो श्रीमान मर्दा उहांले निकै सहयोग गर्नुभएको थियो ।

मत असमञ्जसमा परे । उनको श्रीमान बित्दा रतनले के सहयोग गरेछन् ? अथवा उनको श्रीमान बित्नुमा रतनको कस्तो भुमिका
होला ? स्कूलको साथी भएकाले म रतनलाई राम्रोसंग चिन्थें । उनको स्वभाव पनि राम्रोसंग थाहा छ । तर उनको श्रीमानको मृत्युमा रतनको कस्तो भुमिका ? मलाई सोच्न बाध्य बनायो ।

उनले भन्दै गइन् म सुन्दै गए । रतन सर र तपाईको कार्यालयले लगाएको गुन म कहिल्यै तिर्न सक्दिन । तर धन्यवाद मात्र भएपनि भन्छु भनेर आएको । रतन सर नभएको भए मेरो श्रीमानको लास अस्पतालमै सड्ने थियो । उहांले गर्दा नै मरेको २२ दिन पछि भए पनि मैले मेरो श्रीमानको लास पाएं । आज म निकै खुसी छु । मेरो छोरी पनि स्कूल पढ्न जान्छे । मैले पनि एउटा संस्थामा जागिर पाएकी छु । ४५ सय तलब छ मेरो ।

छोरी पनि संस्थाले नै पढाई दिन्छ । म पनि संस्थामै बस्ने खाने गर्छु । काम गरे बापत मलाई ४ हजार पांच सय रुपैया तलब दिन्छ । म साह्रै खुसी छु । यसमा तपाईहरुको निकै ठुलो योगदान छ । त्यसैले म तपाईहरुलाई धन्यवाद दिन
आएको ।

उनको अनुहारमा निकै ठूलो चमक थियो । आखिर मानिसलाई खुसी हुन के नै चाहिने रहेछ । मायामा खुसी छ भनुं भने उनलाई सबैभन्दा माया गर्ने श्रीमान नै छैनन् । त्यही पनि उनी यतिधेरै खुसी छन् । पैसामा खुसी छ भनुं भने उनको तलब जम्मा ४ हजार पांच सय मात्र छ । त्यति पैसाले जिवन यापन त्यो पनि काठमाण्डौमा हामी सायदै कल्पना गर्न सक्छौं । एउटी अपागं छोरीको जिम्मेवारी सहित । उनको पांच वर्षकी छोरी जो आंखा देख्न सक्दिनन् । जसको उनले पैसा नभएकै कारण उपचार गराउन नसकेको बताएकी थिइन् । ४ हजार ५ सय तलब लिएर उनी जिवन देखि यति धेरै खुसी छन् कि धन्यवाद दिनकै लागि बौद्धवाट अनामनगर हनुमानस्थान आइपुगेकी छन् ।

पत्रकारीताको क्षेत्रमा लागेपछि हामीले धेरै यस्ता मानिसको कथा ब्यथालाई समेट्यौं होला । जसका कारण कति मानिसको जिवनमा त्यसले प्रभाव पार्यो होला । तर यस्ता घटना एउटा संचारकर्मीको जिवनमा कमै आउंछ कि तिम्रो कारणले मेरो जिवनमा यस्तो भयो भनेर कसैले भनेको होस् ।

यो मेरो लागी निकै कम हुने घटना मध्येको एक हो । कि तपाईको कारणले मैले यति धेरै खुसी प्राप्त गरेंकी त्यो ब्यक्त गर्न तपाईलाई खोज्दै आइपुगेको छु । उनले मलाई पटक पटक केही खाइदिनुस् न भनेर आग्रह गरिन् । मैले दिन त के नै सक्छु र मेरो तर्फवाट एक कप चिया खाइदिनुहोस् न उनको म प्रति आग्रह थियो । जसलाई मैले इन्कार गरें । त्यस पछि उनले मलाई चिसोको अफर गरिन् । त्यो पनि मैले स्वीकार गर्न सकिन । उनको अनुनय विनय देखेर मलाई अनौठो अनुभव भयो । मेरो मस्तिष्कमा केवल एउटै प्रश्न आइरह्यो वास्तवमा खुसी के मा छ ?
उनका श्रीमान जो काठमाण्डौमा खाली सिसी बोतल जस्ता चिज बाटोमा टिप्दै हिंड्थे । त्यसैलाई बेचेर आन्दानी जुटाउँथे । उनका श्रीमानको उनी मात्र एक्ली श्रीमती पनि थिइनन् । उनी दोस्रो श्रीमती हुन् ।

विपन्न परिवार भए पनि जसो तसो जिवन चलेकै थियो । तर अचानक उनका श्रीमान एकदिन बिरामी भए । काठमाण्डौको महाराजगञ्ज स्थित शिक्षण अस्पतालममा भर्ना भए । तर उनको उपचार सफल हुन सकेन । उनका श्रीमानको मृत्यु भयो । अस्पताललाई उपचार खर्च बापत १६ हजार रुपैया बुझाउनुपर्ने थियो । त्यो रकम नबुझाएका कारण अस्पतालले उनका श्रीमानको लास अस्पतालमै राखिदियो । पैसा जुटाउन उनी बाटोमा माग्दै हिंड्न थालिन् । सोहि अवस्थामा रतनले उनलाई बाटोमा भेटेका रहेछन् । रतन संगको भेटमा उनले आफ्नो सबै ब्यथा सुनाइन् । त्यसपछि त्यो घटना एउटा समाचारका रुपमा बाहिर आयो । १६ हजार रुपैया तिर्न नसकेका कारण १६ दिन सम्म श्रीमानको लास अस्पतालमै भएको खबर मिडियामा आएपछि त्यसले चौतर्फि दवाव पर्यो ।

तर पैसा जम्मा गर्दा र अस्पतालवाट लास निकाल्ने प्रकृया पुरा गर्दा सम्म २१ दिन बितिसकेको थियो । उनी तामागं परिवारका हुन् । तामागं समुदायमा मृत्यु संस्कारका लागि २२ औं दिन विशेष दिन हुन्छ । संजोगवस त्यो विशेष दिनमा उनले आफ्नो श्रीमानको अन्तिम संस्कार गर्न पाइन् ।

त्यस पछि उनको छोरीको पढाई लगायत उनका लागि उठेको आर्थिक सहयोग पनि उनले प्राप्त गरिन् । उनको जिवन फेरी विस्तारै अघि बढ्न थाल्यो ।

आज अचानक उनी कार्यालयमै आएको खबर मैले फोन मार्फन रतनलाई दिंए । तर जति मलाई यो घटनाले छोयो रतन त्यति उत्साहित भएनन् । तिमीले गरेको कामका लागि तिमीलाई धन्यवाद दिन कोही आएको छ । मेरो लागि त्यो सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । म जति उत्साहित भएं त्यति उत्साहित रतनलाई नभएको देखेपछि फेरी मेरो मनमा अर्काे प्रश्न उब्जियो । कारण के रहेछ भने, उनको घटना भएको करिब २ वर्ष भयो । तर उनले अहिले पनि बारम्बार रतनलाई फोन गरिरहन्छीन् । कहिले कांही त आर्थिक सहयोग पनि माग्छिन् । रतनले कहिले कांही आर्थिक सहयोग पनि गरेका रहेछन् ।

यो विषयमा मेरो छुट्टै धारणा छ । संसारमा जो मानिस एक्लो वा सहारा बिहिन हुन्छ उसलाई जसले सामान्य सहयोग गर्छ त्यो ब्यक्ति संग जिवनभर त्यो सम्बन्ध छुटाउन चाहंदैन । यो संसारमा उनका लागि बोलिदिने, उनको लागि सहयोग गरिदिने रतन मात्र भएका कारणले होला उनले रतनलाई बेला बेलामा फोन गरेर, सहयोग मागेर सताइरहन्छिन् । समुन्द्रमा डुब्न लागेको ब्यक्तिलाई परालको त्यान्द्रो पनि ठूलो सहारा भए जस्तै ।

लाइट नेपाल अहिले उनी जस्ता थुप्रै ब्यक्तिको सहयोगी भएको छ । फरक यति हो कोही त्यसको श्रेय दिन आउंछन् कोही आउंदैनन् । भनौं धेरै आउंदैनन् । हामीले उठाईदिएका मुद्याले धेरैको जिवनमा थोरै मात्र पनि परिवर्तन वा खुसी आउंछ भने हाम्रो पत्रकारीताको धर्म त्यही हो । चाहे कसैले श्रेय देओस् चाहे नदेखोस् । तर कसैले प्रत्यक्ष रुपमा नै तेरो कारणले मेरो जिवनमा यस्तो परिवर्तन भयो भनेर भनिदिन्छ भने त्यो साह्रै आनन्दको पल हुन्छ । आज मैले अनुभव गरेको कुरा यहि हो । यस्तो प्रयास लाइट नेपालको तर्फवाट अहिले पनि जारी छ ।

प्रस्तुती: श्रृजना आचार्य

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com