वाम गठबन्धनका महानायक बामदेव र उनको ७ वर्षे उमेरदेखिको वाम राजनीति

rupani

बर्दिया २७ कार्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम नेपाली राजनीति क्षेत्रमा अब्बल खुबी भएका शिखर पुरुषको रुपमा चिनिन्छन् ।

उनको व्यक्तित्वलाई एउटा मात्र विषयबाट जानेर पुग्दैन । उनको अनुभव अरु नेताको तुलनामा अब्बल रहेको छ । स्वभावले अरु नेताको तुलनामा केही कडा र सिधा प्रतिकृया दिने नेताको रुपमा उनी चिनिएतापनि हृदय भने कमलो छ नेता बामदेवको ।

कृयाको प्रकतिकृया दिईहाल्नु पर्ने उनको आचरण भएको हुनालेपनि उनीसंग कुरा गर्नु पुर्व निकै बेर सोच्नु पर्ने बताउँछन् उनका समकक्षिहरु । जीवनका विभिन्न आरोह अवरोहहरु पार गरिसकका नेता गौतमले शुरुवाति दिनदेखि अहिलेको समयसम्म आईपुग्दा थुप्रै चुनावी अभियानहरु पार गरिसकेका छन् ।

कतिपय अभियानमा पर्दा पछाडीको हिरो बनेर अरुलाई चनावी अभियानमा सघाएका छन् भने कतिपयमा चाहीं प्रत्यक्ष रुपमा आफु नै उम्मेद्वार बनेर चुनाव लडेका छन् ।

प्रत्यक्ष रुपमा चुनाव लड्ने क्रममा उनी यो २०७४ को मंसिर २१ मा हुन लागिरहेको प्रतिनीधि सभाको चुनावकालागि पनि तयार भएका छन् । उनी बर्दियाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधी सभाकालागि चुनाव लड्दैछन् । ६ भाई छोरा मध्यका बामदेव भने पहिलो सन्तान हुन् । भाईहरु मध्यमा एक भाई भने भारतमै बेपत्ता छन् । बामदेवका ४ बहीनी छन् । भाईहरुमा सबै व्यावसाय हुन् भने बामदेव मात्र राजनीतिकर्मी बने ।

बाल्यकाल
वि.सं. २००५ साल असार २८ गते प्युठानको दाखाकुवाडीमा जन्मिएका बामदेव सानैबाट चतुर र विद्रोही स्वभावका थिए । आमा पद्यमावती गौतम र बुवा कवीराम गौतमको जेठाका रुपमा जन्मिएका बामदेव गौतम स्वभावैले हठी भएर जन्मिएको उनको प्रस्तुतिले देखाउँदछ ।

उनको बाल्यकाल मावलीमै बित्यो । राजनितिक वातावरण रहेको उनको मावलीबाट नै बामदेवको राजनीतिक यात्रा शुरु भएको हो । मामा घरमा बस्दा उनी ७ वर्षका थिए । वि.सं. २०१२ सालमा गौतमले औपचारिक शिक्षाको शुरुवात प्युठानको पुण्यखोला नजिकैको स्कूलबाट गरेका हुन् ।

मामा घरको वातावरण पुरै कांग्रेसी राजनीतिको भएतापनि उतिबेला गौतमले पढ्ने स्कूलको क्षेत्र र त्यस पुर्वको क्षेत्रमा कम्युनिष्ट पार्टीको प्रभाव शुरु भैसकेको थियो । साँझ र बिहान मामा घरमा बित्ने गौतमको पुरै दिन नै विद्यालयमा बित्न थालेपछि उनले कम्युनिष्टलाई नजिकैबाट बुझ्न थाले ।

घरको भन्दा बाहीरी वातावरणले उनको मन तानिंदै गयो । ममा घरको कांग्रेसी राजनीतिले न उनको मन नत उनको मस्तिष्क दुवैलाई छुन सकेन । तर विद्यालय वरिपरी फैलिएको कम्युनिष्ट राजनीतिमा भने उनी प्रभावीत बन्दै गए ।

गौतमको बाल कम्युनिष्ट पार्टी
त्यतिबेला उनले पढ्ने स्कूलमा बाल कम्युनिष्ट पार्टी खुल्यो । जस्लाईपछि “योङा कम्युनिष्ट लिग” पनि भनियो । त्यस ठाउँमा बाल कम्युनिष्ट पार्टीको इलाका सम्मेलन समेत भएको थियो । सम्मेलनमा उनी मामा र सानीमासंगै बसेका थिए ।

उक्त कार्यक्रममा गाईएको जन सांस्कृतिक गीत, नेताले गरेको भाषण र नेतालाई लगाईएको अवीरले बालक गौतमको मन भित्र भित्रै निकै नै रमायो । कार्यक्रम सकिएपछि सानीमा र मामा घरतिर लागेछन् तर गौतम भने नारा जुलुसमा सहभागि भए ।

कम्युनिष्टको झण्डा बोकेको उनको पहिलो जुलुस थियो त्यो ।  जुलुसमा सहभागि हुँदा उनी र उनको मन जति खुशि थियो त्यति नै साँझ मामा घर फर्किएपछि दुखि पनि भयो । दिनभरि कार्यक्रम स्थलमा काखमा राखेकि सानीमाले नै गौतमलाई कम्युनिष्टको झण्डा किन बोकेको भनेर गालामा एक थप्पड लगाईछन् ।

माया गरिराखेकी सानीमाले नै एकाएक थप्पड लगाएपछि उनलाई सानीमादेखि साह्रै रिस उठेछ । दिनभरिको रमाईलोमा फक्रिएको अनुहार साँझ घर फर्कनै नपाउँदा ओलिएपछि कस्लाई रिस उठ्दैन र ?  गौतमलाई पनि उठेछ । रिसले भाउन्न भएर बसेका गौतमले सानीको अब फेरी जाने कि नजाने ? भनेर चर्को स्वरमा सोधिएको प्रश्नको किन पो उत्तर दिन्थे र ? त्यसैले उनी मौन नै बसे ।सानीमाको प्रश्नको जवाफ नदिएपछि बामदेवलाई सानीमाकै हातबाट केही समयकालागि भएपनि बाँधिनु प¥यो ।

सानी छोरीले हजुर आमाको प्यारो नातीलाई बाँधेको थाहा पाएर बामदेवका हजुर आमाले उनलाई बाँधि राखेको डोरी खोलिदिएर फकाउँदै खाना खुवाउनु भएछ । हजुर आमाले मामा कांग्रेसको नेता भान्जा कम्युनिष्टको नेता भनेर फकाएपछि गौतमलाई मामा घरबाट खुलेरै कम्युनिष्टको कार्यक्रममा जान छुट मिलेछ ।

कार्यक्रममा जान छुट मिलेपनि मावली गाउँका अरु साथी कांग्रेस र उनी कम्युनिष्ट भएपपछि साथीहरुसंग राम्रो सम्बन्ध भएन गौतमको । मामा घरका दौंतरीहरुसंग राम्रो सम्बन्ध नभएपछि गौतमलाई त्याहाँ बस्न मन लागेन ।

मनकै राजा उनी मामा घरमा बस्न मन नलागेपछि उनी आफ्नै घर फर्किए । बाल्यकालमा बितेको मामाघरको बसाईबाट कम्युनिष्ट पार्टीको अमित छाप बोकेर फर्किएका गौतमले त्यसपछिको आफ्नो पुरै जीवनलाई निरन्तर रुपमा कम्युनिष्ट पार्टीमा नै डो¥याई रहे ।

औपचारिक रुमा राजनीतिक यात्राको आरम्भ
वि.सं. २०१२ सालमा मामाघरमा बस्न जाँदा उनी केवल ७ वर्षका थिए ।

त्यो ७ वर्षको उमेरदेखि कम्युनिष्टको नीतिलाई बुझने मौका पाएका गौतमले १७ वर्षको हुँदासम्म कम्युनिष्टका बारेमा धेरै कुरा अध्ययन गरे र बुझेपनि ।

त्यसैको नतिजा स्वरुप वि.सं. २०२१ सालको कलिलै उमेरमा गौतमले पार्टीको सदस्यता पाउन सफल भए ।

उनले बाग्लुङ्ग जिल्लाको भीमगिठे गाउँमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । बामदेवले आफ्नो जीवनमा थुप्रै खाले जागिरहरु गरेका छन् ।

केही ठाउँमा केही समय टिकेका छन् भने केही ठाउँहरुमा आफ्नै मालिकलाई कुटेर निस्किएको पनि उनको वास्तविता छ । जागिर गर्दै र छाड्दै गर्ने क्रममा बामदेव पार्टी सदस्यता पाउँदा त्यसबेला बाग्लुङ्गमा पढाउन गएका थिए । उनले पढाउने विद्यालयमा त्यसबेलाका प्रध्यानाध्यापक गोबिन्द बहादुर केसी जोसंग गौतमको चिनजान मामाघरमा बस्दा २०१२÷२०१३ साल पहिला नै भएको थियो । ती प्रध्यानाध्यापक के.सी उतिबेला प्रचारक हुँदा गौतम भने बाल आखाँले उनको प्रचार शैलीलाई हेरि रहेका हुन्थे ।

तीनै गोबिन्दले नै गौतमलाई बाग्लुङ्गमा पार्टीको एउटा फारम भराएका थिए । फारम भरेको १५ दिनपछि सदस्यता पत्र दिएर उनलाई सपथ गराउँदै औपचारिक रुपमा नै पार्टीको सदस्य भएको घोषणा गरिएको थियो । बर्दियामा एमाले जन्माएकै बामदेवले हुन् । २०२५ सालमा उनले बर्दियाको सरमुकाम गुलरियामा आफ्नै अध्यक्षतामा कम्युनिष्ट अध्ययन मण्डल खोलेका थिए । ५ जनाको सहमतिमा उतिबेला खोलिएको कम्युनिष्ट मण्डलको परिचय अहिले एमालेमय बर्दिया भनेर चिनिन्छ ।

केही अन्य पार्टीहरु खुलेतापनि बर्दियाको एमालेलाई जित्छौं भन्ने आँट खासै भएको पाईदैन बर्दियामा । प्युठानबाट कम्युनिष्ट बुझेर अंगालेका गौतमले बर्दिया मात्र नभई भैरहवामा पनि सक्रिए भएर पार्टीको काम गरे ।

भैरहवामा काम गर्न जाँदा उनले पाएको पहिलाको पार्टी सदस्यताले काम गर्ने भनिएपछि २०२६ मंसिरमा उनले भैरहवाबाट दोश्रो पटक पार्टी सदस्यता लिनु परेको थियो । दोश्रो पटकको पार्टी सदस्यतापछि उनले भैरहवामा ईलाका कमिटि सदस्य भएर काम गरे ।

भूमिगत जीवन
पार्टीकै काम गर्ने शिलशिलामा सोही वर्ष माघ महिनामा पूर्णकालीन कार्यकर्ता भई उनी भूमिगत पनि भए । भूमिगतपछिको पहिलो जिम्मेवारी बोकेर उनी पाल्पा गए ।

पाल्पामा उनले तानसेन, अर्घेली, पूर्वी पाल्पाको राम्दीघाट नजिकैको अगाहा खोला, मादी लगाएतका ठाउँहरुमा जिम्मेवारी पुर्वक काम गरे ।

त्यो समयमा पार्टीले “शिक्षक बनेर गाउँमा काम गर्नु पर्छ” भनेर प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै भनेछन्,“भूमिगत भएर हिंडेको मान्छे म नोकरी गरेर काम गर्दिन” पार्टीको कुरा नमानेपछि उनी पुनह भैरहवा नै फर्किनु परेको थियो ।

रुपन्देही फर्किएका गौतमले सोही सालमा नै जिल्लाको पानबारी झिमझिमे भन्ने ठाउँमा ईलाका कमिटिको सचिव भएर काम गरे ।

त्यसपछि उनले २०२७ सालमा गजडी गाविसको दानापुर भन्ने ठाउँमा स्कूल खोलेर ६ महिना स्कूलसंगसंगै पार्टीको काम पनि गरे ।

सोही सालको असाढमा क्रान्तिकारी किसान संघ रुपन्देहीको जिल्ला कमिटी गठन भयो । उक्त कमिटीमा उनले सचिव भएर काम गरे । २०२८ सालमा नवलपरासी, कपिलवस्तु, र रुपन्देहीको संयुक्त जिल्ला कमिटीको सदस्य भएर समेत उनले काम गरे ।

२०२९ सालमा जिल्ला कमिटीको उपसचिव भएका गौतम जिल्ला कमिटी सचिव मदन पौडेलले तत्कालीन निरंकुश पञ्चायती व्यवस्थासंग आत्मासमर्पण गरेपछि कार्यबाहक सचिव र त्यसको केही समयपछि नै सचिव भएर काम गरेका थिए । यसरी उनी कम्युनिष्ट पार्टीको जिल्ला कमिटीको मूल नेतृत्वमा पुगेका थिए ।

२०३३ साल फागुनमा उनी जेल चलान भए । राजकाज अपराध ऐन अन्तरगत मुद्या चलाएर उनलाई जेल चलान गरियो । एक वर्ष भैरहवा जेलमा राखिएका गौतमलाई २०३४ सालमा काठमाण्डौ सेन्टर जेल पु¥याईयो । त्यतिबेला उनी २ वर्ष ३ महिना जेल जविन व्यतित गरेर बाहीर निस्किए । जेलबाट निस्कने बित्तिकै उनले पार्टीको काम सम्हाले ।

भूमिगत जीवनपछिको सक्रियता
जेलबाट बाहीरिएपछि गौतम स्याङ्जा पुगे । त्याहाँ उनले पार्टीको काम सम्हाले । गौतम त्याहाँ पुग्दासम्म पार्टीले कुनै प्रकारको काम गरेको थिएन भन्छन् गौतम ।

उनी त्याहाँ गएपछि उनले स्याङ्जामा एरिया कमिटी गठन गरेर आफु त्यसको त्यसको सचिव भएर काम गरेको बताए । त्यो समयमा गौतमले नेकपा माले भएर काम गरेका थिए ।

उनले गण्डकी र धौलागिरी क्षेत्रमा विस्तारित क्रान्तिकारी मालेसंग वार्ता गरि एकीकृत माले गराएर एउटा सिंगो पार्टीको रुपमा काम शुरु गरे ।

२०३६ सालमा नेकपा मालेको केन्द्रिय कमिटीको बैकल्पिक सदस्य भएका गौतम २०३७ सालमा पार्टीको पुर्ण केन्द्रिय सदस्य भए ।  यसरी गौतमले २०४१ सालसम्म गण्डकी धौलागिरी क्षेत्रको पुरै जिम्मेवारी सम्हालेका थिए ।

२०४१ देखी २०४६ सम्म उनले मध्य र सुदुरपश्चिममा पार्टी संगठन विस्तार र परिचालनको काम गरे । नेकपा मालेको नेतृत्वकर्ता बनेर काम गरेका गौतम २०४७ मा भएको माले र माक्र्सबादीको एकिकरणपछि बनेको नेकपा एमालेको संस्थापक केन्द्रिय सदस्य भए । वि.सं. २०४९ सालमा सम्पन्न पार्टीको महाधिवेशनबाट गौतम नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका हुन् । २०४९ देखी २०५४ सम्म आईपुग्दा नेकपा एमाले विभाजन भयो । त्यसपछि २०५८ मा पुन नेकपा एमाले र मालेबीच पार्टी एकता भएपछि गौतम एमालेको स्थायी कमिटी सदस्य बने ।

२०६४ सालमा सम्पन्न पार्टीको ८ औं राष्ट्रिय महाधिवेशनमा बामदेव उपाध्यक्ष पदमा निर्वाचित भए । यसरी बामदेव गौतम सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको रुपमा राजनीतिक नेतृत्व गरिरहेका छन् ।

राजकिय जिम्मेवारी
राजनीतिक विभिन्न आरोह अवरोहहरु पार गरेका गौतमले २०४८ मा भएको आम निर्वाचनमा बर्दिया जिल्ला क्षेत्र नं. १ बाट संसद सदस्यमा निर्वाचित भएर संसदको सार्वजनिक लेखा समितिको सदस्य भएर काम गरे ।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा पुनः गृह जिल्ला बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित भए ।

२०५४ मा लोक बहादुर चन्दको नेतृत्वमा बनेको संयुक्त सरकारको उपप्रधान तथा गृहमन्त्री भएर ७ महिनासम्म राजकीय जिम्मेवारी सम्हालेका थिए गौतमले ।

२०६५ मा नेकपा माओबादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व गर्दै पुनहः उपप्रधान तथा गृहमन्त्री भई ७ महिना नै राजकीय जिम्मेवारी सम्हालेका थिए ।

जिम्मेवारी सम्हाल्ने क्रममै २०७० सालमा भएको दोश्रो संविधानसभाको गौतम बर्दिया र प्युठान क्षेत्र नं. १ गरि दुई स्थानबाट संविधान सभा सदस्यमा निर्वाचित भए । त्यतिबेला सुशिल कोईराला नेतृत्वको संयुक्त सरकारमा नेकपा एमालेको तर्फबाट गौतमले सरकारको नेतृत्व गर्दै पुनहः उपप्रधान तथा गृहमन्त्री भएर राजकीय जिम्मेवारी सम्हालेका थिए ।

पार्टीको निर्देशनलाई पच्छ्याउँदै पार्टीकै नेतृत्व गरेर बामदेव गौतमले धेरै पटक आफ्नो जिम्मेवारी पुरा गरेका छन् । पछिल्लो समयमा भने नजिकिंदै गरेको २०७४ साल मंसिर २१ मा हुन गईरहेको प्रतिनीधि सभाको उम्मेद्वारका रुपमा बर्दिया क्षेत्र नं. १ बाट उठेका छन् गौतम ।

यो समयमा भने नेकपा एमालेको नेतृत्वमा माओबादी केन्द्रसंग वाम एकताको तालमेल गरिएको छ । गौतम यतिबेला चुनावी अभियानकालागि आफ्नै गृहजिल्ला बर्दियामा छन् । उनी मंसिर १० र २१ मा हुन गई रहेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनकालागि बर्दियामा गएका हुन् ।

प्रस्तुति रुपनी जि.एम

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com