यु–१९ एसिया कप क्रिकेटमा नेपालको शानदार प्रदर्शन, नेपालद्वारा मलेसिया ४५ रनमै अलआउट

लाइट नेपाल

काठमाडौं, २८ कात्तिक । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियासँगको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गर्‍यो ।
मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र बाहब आलमले समान दुई दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् ।
यस अघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न योको खेलमा मलेसियालाई फराकिलो अन्तरले हराउनुु पर्नेछ । भारत र बंगलादेशबिचको खेलको परिणामले पनि नेपालको सेमिफाइनलमा पुग्ने भाग्य निर्धारण गर्नेछ ।
यो खेलमा बंगलादेश विजयी भएको खण्डमा नेपाललाई सहज हुनेछ । भारत विजयी भएको खण्डमा तीन टोलीको समान ४–४ अंक हुनेछ । यस्तोमा नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com