काठमाडौं क्षेत्र नं ४ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका यी तीन जुझारु युवाहरू, कसको पल्ला भारी ? यस्तो छ अंकगणित (सुवुना र गगनको घरदैलो अभियानको भिडियोसहित)

Srijana

काठमाण्डौको क्षेत्र नं ४ मा प्रमुख राजनीतक दल नेकपा एमाले, नेपाली कांग्रेस र विवेकशिल साझा पार्टीले युवा र जुझारु ब्यक्तिलाई उम्मेदवार बनाए पछि यहांको निर्वाचन निकै रोचक हुने भएको छ । काठमाण्डौ ४ मा नेकपा एमालेले डा. राजन भट्टाई, नेपाली कांग्रेसले गगन थापा तथा विवेकशिल साझा पार्टीले सुवुना वस्नेतलाई उम्मेदवार बनाएको छ ।

एमाले र कांग्रेसले उम्मेदवार बनाएका दुई प्रखर युवा नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका डा. राजन भट्टराई यस अघि पनि निर्वाचनमा सहभागीता जनाइसकेका छन् । तर सुवुना बस्नेत भने नयां राजनीतिक विचार वोकेर आएकी युवा महिला हुन् । गगन र राजन बिचको प्रतिस्पर्धालाई मात्र विवेचना गरेर क्षेत्र नं ४ को चुनावी हिसाव किताव पक्कैपनि पुरा हुन सक्दैन । आफुलाई वैकल्पिक राजनीतिक दलका रुपमा प्रस्तुत गर्ने विवेकशिल साझा की सुवुना पनि उत्तिकै बलियो उम्मेदवार हुन् ।

यि तीन जना युवा युवतीले अहिले मुलुककै ध्यान तानिरहेका छन् । पुराना र धेरै पटक प्रयोग गरिसकेका नेताहरुका काम देखि वाक्क भएका नागरिकका लागि नयां र जुझारु युवा पुस्ता एउटै क्षेत्रमा प्रतिस्पर्धा गर्न आए पछि मतदातालाई भने समस्या परेको छ ।

थापा र भट्टराई दुवै निवर्तमान सांसद हुन । सुवुना पहिलो पटक निर्वाचनमा सहभागी हुदैछन् । यी तीन जना युवा नेताहरु मंसिर २१ गते हुने मतदानमा मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानदेखि, प्रचारप्रसार र भेलाजस्ता कार्यक्रमलाई तिब्रता दिइरहेका छन् । सबै युवाले आफ्नो जित निश्चित भएको प्रतिकृया समेत दिएका छन् ।

को हुन डा. राजन भट्टराई ?

काठमाण्डौ चावहिलका स्थायी बासीन्दा हुन राजन भट्टराई । एमालेका केन्द्रिय सदस्य भट्टराईलाई नेकपा एमालेले समानुपातिक तर्फको सांसद बनाएको थियो । एमाले भित्र बौद्धिक छवि बनाएका भट्टराईलाई परराष्ट्र मामिला विज्ञ मानिन्छ । उनका नेपालको सुरक्षा तथा विदेश नीतको बारेमा पुस्तक प्रकाशित भएका छन् ।
उनले काठमाण्डौको चाबहिल स्थित पशुपति मित्र माविवाट अध्ययन सुरु गरेका थिए तर एसएलसी भने पद्यमोदय माविवाट दिए ।
लण्डन युनिभर्सिटीको सेवास कलेजवाट स्नाकोत्तर गरेका भट्टराईले भारतको प्रतिष्ठित जवहरलाल नेहरु विश्वविद्यालयवाट सन् २०११ म पीएचडी गरेका हुन् ।
बौद्धिक ब्यक्तित्वका धनि डा. भट्टराईको राजनीतिक यात्रा नेपालमा मात्र मिमित भएन । उनी एसियाकै विद्यार्थी नेता बने । एशियन स्टुडेन्स एशोसियशनको सहमहासचिव निर्वाचित भएर उनी सन १९९३ देखि चार वर्ष हगंकगंमा बसेर एशियन विद्यार्थीहरुको राजनीतिमा सकृय रहे । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुदा उनी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार
थिए ।

को हुन् गगन थापा ?

नेपाली कांग्रेसका युवा नेता गगन थापाको जन्म बि.सं.२०३३ सालमा सोलुखुम्बुमा भएको हो । उनका बुबाको नाम महेन्द्रकुमार थापा र आमाको नाम रामेश्वरी थापा हो । काठमाडौंको सिद्धार्थ वनस्थली हाईस्कुलबाट पढेका थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । थापाले बि.सं. २०४६ सालबाट राजनीति सुरु गरेका हुन् । उहाँ बिसं २०५९ देखि बिसं २०६१ सालसम्म नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको महामन्त्री थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन विरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका नेता थापा आफ्नै पार्टीका शिर्ष नेताहरुका समेत आलोचक हुन् ।

उनी यसअघिको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक समुहबाट सभासद् भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका थापा प्रखर वक्ताका रुपमा स्थापित छन् । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गरेका थापाकी एक छोरी छन् । समुह बनाएर व्यवसायीक कृषि पेशा गरिरहेका थापाले काठमाडौंमा मासु पसल सञ्चालन गरेका छन् ।

को हुन सुवुना बस्नेत

म इलाममा जन्मेकी सुवुना अहिले काठमाण्डौमा बसीरहेकी छन् । चार दिदीवहिनी मध्ये चौथो सन्तान सुवुना पछि कान्छो भाई जन्मेको हो । आमा बुवाले छोराको आश गर्दा सुवुना चौथो सन्तानका रुपमा जन्मेकी हुन् । घर परिवारमा छोरा जस्तै हुर्केकी सुवुनाको बाल्यकालमा गेटअप, हिंडाई वोलाईको शैली सवै छोरा मान्छे जस्तै हुन्थ्यो । ताइकण्डुकी खेलाडी सुवुनाले इलाममै प्रारम्भिक शिक्षा लिएकी हुन् ।

काठमाण्डौको टिचिगं अस्पतालमा दिदीको जागिर फिक्स भएपछि ८ वर्ष अघि काठमाण्डौ आएकी सुवुना यतै बसिन् । काठमाण्डौ आउनासाथ मैले उज्जवल थापालाई भेट्ने मौका पाएकी सुवुना विवेकशिल साझा पार्टीको प्रारम्भिक चरण देखि नै जोडिएकी हुन् । उद्यमशिलता सम्बन्धि सानै देखि चासो भएकाले उनी उज्जवल थापा संग जोडिएकी हुन् । त्यतिवेलै देखि विवेकशिल सम्बन्धि नयाँ कन्सेप्ट सुरु भएको थियो । उज्ज्वल थापाको संस्थामा उनले उद्यमशिलता विभाग स्थापना गरेर काम गरेकी थिइन् । पछि सोही संगठन राजनीतिक दलका रुपमा विवेकशिल नेपाली भनेर आइसकेपछि उनी त्यसको केन्द्रिय सदस्य बनीन् ।
सो संगठनमा उद्यमशिल महिलाको हैसियतले गरेको कामको मुल्याकंन गर्दै एमविएमा उद्यमशिलता विषयमा अध्ययन गर्न उनले छात्रवृत्ती समेत पाइन् । उनले एमविएको पढाई सकेको दुई वर्ष भयो ।

यस्तो छ चुनावी अंकगणित

स्थानीय विकासे एजेन्डादेखि राष्ट्रिय राजनीतिमा आफूले पार्ने प्रभावबारे तीन युवाले मतदातालाई आश्वस्त पार्दै आफूतिर तान्न हरसम्भव प्रयास गरिरहेका छन् । कांग्रेस उम्मेदवार थापाले अघिल्लो निर्वाचनमा स्वतन्त्र र अरु पार्टीका प्रतिबद्ध कार्यकर्ताको पनि मत पाएको र यस पटक पनि दोहोरिने अपेक्षा गरेका छन् । पछिल्लो ४ वर्षमा आफूले विश्वासको पुँजी अझै बढाएको उनको अनुभव छ ।
यसअघि आफूले नै जितेको यो क्षेत्रमा फेरि मतमाग्न क्रियाशील थापाले पूर्वाधार निर्माणमा भएको कामप्रति आफैपनि सन्तुष्ट हुन नसकेको स्वीकार्ने गरेका छन् । संविधान निर्माणमा बढी समय दिनुपर्दा मतदाताको चाहनाअनुसार काम गर्न नसकिएको भन्दै उनले अबका दिनमा जनताले प्रश्न उठाउन नपाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता भट्टराईले देशको संविधानको रक्षा र उचित कार्यान्वयनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रियता बलियो बनाउँदै राष्ट्रलाई समृद्ध बनाउने एमालेको अभियानलाई मलजल गर्ने आफ्नो लक्ष्य भएको उनले बताए ।डा.भट्टराईले स्थानीय तहमा देखिएका शिक्षा, स्वास्थ्य र बेरोजगारी जस्ता समस्या समाधान गर्ने उद्देश्यसहित आफू जनताको माझमा आएको बताएका छन् ।संविधान निर्माणदेखि कार्यान्वयनसम्म र भारतको नाकाबन्दीविरुद्ध एमालेले निर्वाह गरेको भूमिकाका कारण आफूलाई मत आउने उनको विश्वास छ ।

चुनावी दौडानमा रहेकी सुबुना बस्नेतको पनि आफ्नै एजेण्डा छन् । भ्रष्टाचार उन्मुलन मुख्य एजेण्डाका रुपमा अघि सारेकी सुवुनाले शिक्षा, स्वास्थ्य रोजगारी एवं सार्वजनिक यातायातको ब्यवस्थापनलाई आफ्नो कार्यक्रममा रुपमा अघि सारेकी छन् । उनले काठमाण्डौको सांस्कृतिक महत्वका संरचनालाई संरक्षण गर्ने, वृद्धवृद्धा र बालबालिकालाई पार्किगं बनाउने तथा क्षेत्रनं ४ लाई उद्यमशिल क्षेत्र बनाउने योजना अघि सारेकी छन् ।

खर्चिलो निर्वाचनमा होमिएकी सुवुनाले त्यसका लागि आफुसंग एक रुपैया समेत नरहेको बताएकी छन् । तर म एक रुपैया खर्च नगरीकिन चुनाव लडेर जितेर देखाउंछु, उनको आत्मविश्वास छ । वैकल्पिक राजनीतिक शक्तिलाई मत दिन अपील गर्दै उनले मतदातालाई विवेकको प्रयोग गर्न आग्रह गरेकी छिन् ।

सुवुना बस्नेत उम्मेदवारका रुपमा खडा भएपछि अहिले सो क्षेत्रको चुनावी अंकगणितमा परिवर्तन आउने देखिन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा गगन थापा विजयी भएका यस क्षेत्रमा अब गगनका लागि त्यति सजिलो छैन । सुवुनाका कारण दुवै नेताको मत बांडिने देखिएको छ ।

काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्ने यस क्षेत्रमा २०७० सालमा थापाले एमालेका निर्मल कुईंकेललाई पराजित गरेका थिए . स्थानीय तह निर्वाचनको मतको गणित भने एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ र कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ देखिन्छ ।

काठमाडौं क्षेत्र नं ४ मा करिव ८० प्रतिसत स्थानीय तह जितेको एमालेले यसलाई कत्तिको सदुपयोग गर्छ त्यसले यहाको परिणाममा प्रत्यक्ष असर पार्ने देखिन्छ । निर्वाचन पश्चात प्राप्त सफलताको उर्जालाई प्रयोग गर्न उनले देखाउने चातुर्य र नेतृत्व कलाले उनको आगामी यात्रा सहज वा जटिल के हुने त्यसको निर्धारण गर्ने देखिन्छ । पहिलो पटक निर्वाचनामा होमिएकी सुवुनाको अंकगणित भने यस्तो छ ।

विवेकशिल साझा पार्टीले काठमाण्डौ वाहेक मुलुकभरका १५८ ठाउंवाट उम्मेदवारी दिएको छ । रक्तदानमा प्रोत्साहन गरेर “युथ फर ब्लड” मार्फत लामो समय काम गरेकी सुवुना युवा मतदाता माझ लोकपृय छन् । क्षेत्र नं ४ विवेकशिल नेपाली मञ्च हुंदा सन्तोष प्रधानले कुकुर चिन्ह लिएर निर्वाचन लडेका थिए । गएको स्थानिय तह निर्वाचनमा पनि यो क्षेत्रवाट दुई वटा वार्डमा उम्मेदवार बनाइएको थियो ।

स्थानिय तहको निर्वाचनमा किशोर थापा र रञ्जु दर्शनाले यहि क्षेत्रवाट झण्डै ७ हजार मत पाएको विवेकशिलको विष्लेषण छ । त्यसवाहेक गुणरत्नका मतदाताले प्रत्येक वार्डवाट हालेको मत मध्ये ३ सय देखि ६ सय सम्म मत बदर भएको विवेकशिलको विष्लेषण छ । काठमाण्डौका मेयरलाई दिनुपर्ने मत अन्यत्र परेका कारण सो मत वदर भएको सुवुनाको विष्लेषण छ । यस्तो हिसाव गर्ने हो भने क्षेत्र नं ४ मा सामाजिक काममा समेत सकृय विवेकशिल साझालाई धेरै मत आउने आंकलन सो पार्टीको छ ।

प्रस्तुतीः श्रृजना आचार्य

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com