किन डायनासोर लोप भयो ?

लाइट नेपाल

अल्भारेजले कुनै उल्कापिण्ड पृथ्वीमा खसेपछि डायनासोर लोप भएको अवधारणा अघि सारे।
-द न्यूयोर्क टाइम्स

यो धर्तीमा १६ करोड वर्षभन्दा बढी राज गरेको डायनासोर लोप हुनुको रहस्य वैज्ञानिकहरूले लगभग सुल्झाइसकेका छन्।

उनीहरूका अनुसार ६ करोड ६० लाख वर्षअघि आकाशबाट ठूलो उल्कापिण्ड खस्यो। यसले पृथ्वीको वायुमण्डलमा यस्तो हलचल मच्चियो, डायनासोर र अन्य स्तनधारी जन्तु लोप भए।

के उल्कापिण्ड खस्नुले मात्र डायनासोर लोप भएको हो? वा, जुन ठाउँमा खस्यो, त्यहाँको भूगोलको पनि भूमिका छ?

लामो समयदेखिको निरन्तर अनुसन्धान क्रममा नयाँ तथ्य बाहिर आएको छ।

डायनासोर लोप गराउने उल्कापिण्ड मेक्सिकोको युकातान प्रायद्वीपमा खसेको थियो। त्यो ठाउँ छाडेर कुनै महासागर वा धर्तीकै अन्य भागमा खसेको भए, पृथ्वीको कथा अर्कै हुन सक्थ्यो! हामीले सिनेमा वा किताबमा मात्र भेट्ने डायनासोर आज हामी जीवित देख्न सक्थ्यौं!

कसरी?

यसको जवाफ दिएका छन्, जापानको तोहोकु विश्वविद्यालयका प्राग–पुरातत्वविद् कुनियो काइहोले। उनको अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा गत बिहीबार प्रकाशित छ।

यो अनुसन्धान बुझ्न सबभन्दा पहिला डायनासोर लोप हुनुको कारण पहिल्याउनुपर्छ।

मेक्सिकोको युकातान प्रायद्वीप यस्तो ठाउँ हो, जहाँ सल्फर र हाइड्रोकार्बनजस्ता खनिज इन्धनको पर्याप्त भण्डार थियो। यी इन्धन अत्यन्तै प्रज्ज्वलनशील हुन्छन्। यस्तोमा आकाशबाट खसेको उल्कापिण्ड बज्रिएपछि यहाँको भूगोल चलायमान भयो। अर्बौं अर्ब चट्टान धूलोपिठो भए। चारैतिर आगोको लप्का उठ्यो। यसले मेक्सिकोको सतहमुनिबाट ३ सय अर्ब टनभन्दा बढी सल्फर र ४ सय अर्ब टनभन्दा बढी हाइड्रोकार्बन वायुमण्डलमा मिसिएको अनुसन्धानकर्ताको भनाइ छ।

सल्फरयुक्त धुवाँ र धुलोको मुस्लो यति बाक्लो थियो, त्यसले सूर्यको किरण पृथ्वीसम्म आउने बाटो नै छेक्यो। सामान्य समयभन्दा ८५ प्रतिशत छेकिएको वैज्ञानिकको आकलन छ।

यसले वर्षौं वर्ष पृथ्वीको तापक्रम पानी जम्ने शून्य डिग्रीभन्दा तल झर्यो। यस्तोमा कुनै जीवजन्तु बाँच्ने गुञ्जायस थिएन। नतिजा, पृथ्वीका तीन-चौथाइ जनावर लोप भए। पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचे।

प्राग–पुरातत्वविद् कुनियोको अनुसन्धानअनुसार त्यही उल्कापिण्ड मेक्सिकोको सट्टा पृथ्वीको अन्य भागमा खसेको भए त्यति ठूलो विनाशलीला नमच्चिन सक्थ्यो।

‘पृथ्वीको १३ प्रतिशत भूभाग मात्र मेक्सिकोको युकातान प्रायद्वीपजस्तो थियो, जहाँ त्यति ठूलो विनाशलीला मच्चाउन सक्ने खनिज इन्धन भण्डार थियो,’ उनले भनेका छन्, ‘बाँकी ८७ प्रतिशत भूभागमा जहाँ खसेको भए पनि त्यति ठूलो प्रभाव पर्ने थिएन, पृथ्वीको कथा आज अर्कै हुने थियो।’

उनका अनुसार पृथ्वीको सबै सतहमुनि उही परिमाणको खनिज इन्धन भण्डार हुँदैन। जुन ठाउँमा सल्फर र हाइड्रोकार्बनको परिमाण कम छ, त्यहाँ उल्कापिण्ड खसेको भए प्रभाव अर्कै हुन्थ्यो। वायुमण्डल सल्फर र हाइड्रोकार्बनले ढाकिन पाउँथेन। सूर्यको प्रकाश नै सल्फरयुक्त धुवाँ र धुलोको बाक्लो मुस्लोले ढाकिन्थेन। यसले न पृथ्वीको तापक्रम शून्य डिग्रीभन्दा तल झर्थ्यो न त जीवजन्तु लोप हुन्थे।

कुनियोले ६ करोड ६० लाख वर्षअघि पृथ्वीको स्वरूप कस्तो थियो भनी बुझाउने नक्सा तयार पारेका छन्। अहिलेको खनिज इन्धन भण्डारका आधारमा उनले त्यतिबेला पृथ्वीको कुन भागमा सल्फर र हाइड्रोकार्बन बढी थियो भनी आकलन गरेका छन्। अहिलेको भारत, चीन, अफ्रिका लगायत ८७ प्रतिशत भू–भागमा त्यस्ता खनिज इन्धन भण्डार कम भएको उनको अनुमान छ।

त्यही उल्कापिण्ड मेक्सिकोको सट्टा अहिलेको साइबेरिया, मध्यपूर्व वा उत्तर अमेरिकाको पूर्वी तटीय क्षेत्रमा खसेको भए पनि त्यत्तिकै ठूलो विनाश हुने उनको निष्कर्ष छ। यी खनिज इन्धन भण्डार बढी भएका क्षेत्र हुन्।

केही वैज्ञानिकले भने यो निष्कर्षको आलोचना गरेका छन्।

‘उल्कापिण्ड खसेको ठाउँले त्यसको नतिजा पक्कै तलमाथि हुन्थ्यो होला, तर वायुमण्डलमै प्रभाव पार्ने खालको धूलोधुवाँ कसरी उत्पन्न भयो भन्ने अनुमान विश्वसनीय छैन,’ टेक्सास विश्वविद्यालयका जियोफिजिसिस्ट सिन गुलिकले भने।

उनका अनुसार उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा दस करोड अणुबम एकैचोटि विस्फोट भएजति शक्ति निस्केको थियो। त्यही शक्तिले चारैतिर आगोको मुस्लो उठेर सूर्यको किरण नै छेकिने गरी धुवाँ उडेको उनको भनाइ छ।

बेलायती वैज्ञानिक टोलीले सन् २०१६ देखि उक्त उल्कापिण्डमाथि अनुसन्धान गर्दै आएको छ। उनीहरूका अनुसार उल्कापिण्ड १८ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीसँग ठोक्किएको थियो।

छ करोड ६० लाख वर्षअघिको त्यो विनाशलीलापछि पृथ्वीमा फेरि जीवजन्तु र वनस्पतिको उदय हुन लाखौं वर्ष लाग्यो। त्यसलाई पृथ्वीको पाँचौं आमविनाशकारी घटना मानिन्छ।

अहिलेसम्मको खोजअनुसार उल्कापिण्ड ठोक्किँदा मेक्सिको खाडीमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनेको थियो। खाडलको अधिकांश हिस्सा समुद्रमुनि छ। केही हिस्सा जमिनमा भए पनि आकृति मात्र देखिन्छ। धेरैजसो भाग चुनढुंगा (लाइमस्टोन) को थुप्रोले ढाकिएको छ।

वैज्ञानिक टोलीले यसै वर्ष मे र जुन महिनामा उक्त खाडल उत्खनन् गरेका हुन्। टोलीमा १२ देशका ३० जना वैज्ञानिक थिए।

पृथ्वीको सतहमा उल्कापिण्डले पारेको असरमाथि खोज हुन थालेको निकै समय भइसक्यो। वाल्टर अल्भारेज भन्ने वैज्ञानिकले सबभन्दा पहिला माटोमा ‘इरिडियम’ भन्ने पदार्थ भेटेका थिए। यस्तो पदार्थ बाह्य पिण्डमा मात्र पाइन्थ्यो।

डायनासोर तथा त्यतिबेलाका जीवजन्तु पृथ्वीबाट लोप भएको र माटोमा त्यस्तो पदार्थ मिसिएको समय लगभग एकै थियो। यही आधारमा अल्भारेजले कुनै उल्कापिण्ड पृथ्वीमा खसेपछि डायनासोर लोप भएको हुनसक्ने अवधारणा अघि सारे। उनको अवधारणा सुरुमा निकै विवादित भयो। सन् १९९० मा मेक्सिको प्रायद्वीपमा उल्कापिण्ड खसेर बनेको विशाल खाडल फेला परेपछि बल्ल वैज्ञानिकहरूले अल्भारेजको अवधारणामा विश्वास गर्न थालेका हुन्।

आफ्नो बाटोमा घुमिरेका उल्कापिण्डहरू कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन्। अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डल परिवारमा हलचल ल्याउँछ। त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ।

पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकले भन्दै आएका छन्। उनीहरूका अनुसार भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्छ। तर, त्यस्ता पिण्डको आकार उतिबेलाको भन्दा सानो हुन्छ र त्यो टकराव उहिलेजस्तो भयानक हुँदैन। क्षति पनि खासै ठूलो हुँदैन।

(न्यूयाेर्क टाइम्स-नयाँ पत्रिकाबाट ) ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com