यस कारण भएको रहेछ गौचनको हत्याः हत्यामा संलग्न भारतीय नागरिक सहित पांच जना पक्राउ परेपछि खुल्यो रहस्य, मुख्य योजनाकार अझै फरार (भिडियोमा हेर्नुहोस हत्याका अभियुक्त)

Srijana

काठमाण्डौ २८ कात्तिक – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।

प्रहरीले सम्मेलन गरेर सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन् ।हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेत हत्याका मुख्या योजनाकार हुन् । उनकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता छ ।

मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत असोज २३ गते बानेश्वरमा घरबाट निस्किएको केही मिटर पर मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए ।


गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो । ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका समिरमान नेपाल वाहिर छन् । उनले देश वाहिर वाटै हत्याको योजना बनाएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार भएका हुन् ।

प्रहरीको अनुसन्धान अनुसार गौचनले फिरौती नदिएकै कारण हत्या गरेको निष्कर्ष निकालेको छ । तर उनीहरुले गौचनसंग कति रकम फिरौती मागेका थिए भन्ने कुरा भने वाहिर ल्याइएको छैन । लामो समयको योजना सहित गौचनको हत्या गरिएको प्रहरीको भनाई छ । उनीहरुले झण्डै एक महिना देखि हत्याको योजना बनाएका थिए । हत्यामा प्रयोग भएको मोटरसाइकल समेत भारतबाट चोरर ल्याइएको प्रहरी अनुसन्धानमा खुलेको छ । जसमा नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो ।

पक्राउ परेका मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । अन्य आरोपी भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी हुन् । हत्यामा संलग्न समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ । हत्या भएको लामो समय वितिसक्दा पनि हत्यारा पक्राउ नगरिएको भन्दै गौचनका आफन्त र ब्यवासायीहरुले विरोध गरेका थिए । उनीहरुले आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com