पहिलो पटक पुग्यो नेपाल सेमिफाइनलमा,एसीसी यू १९ एसिया कप क्रिकेटमा मंगलवारको खेलमा मलेसियालाई हरायो

Srijana

काठमाण्डु, २८ कात्तिक – नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुगेको पहिलो पटक हो । समूह ए मा बंगलादेश तीन खेलबाट ६ अंक जोडेर समूह बिजेता बनेको छ । तीन खेलबाट चार अंक जोडेको नेपाल समूह उपविजेता बनेको छ ।
मंगलबार भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सहज बनेको हो ।

भारत यसअघिका तीन वटै संस्करणको विजेता हो । पहिलो संस्करणमा पाकिस्तानसँग संयुक्त विजेता बनेको भारतले अघिल्ला दुई संस्करणमा विजयी हात पारेको थियो ।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा अर्को टेस्ट मान्यता प्राप्त भारतलाई १९ रनले हराएको थियो ।

मंगलबारको खेलमा १३ रनको अन्तरमा १० विकेट लिएपछि नेपालले पहिला ब्याटिङ गरेको मलेसियालाई ४५ रनमा समेटेको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले ४।३ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए। यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २ ओभरमा एक मेडन राखेर १ रन खर्चिदै २ विकेट लिए ।

नेपालले ४६ रनको झिनो लक्ष्य ५।१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार शाह २६ रनमा अविजित रहे । कप्तान ऐरीले ३ बलमा २ छक्काको सहयोगमा १२ रन बनाएर पेबिलियन फर्किए ।

मंगलबारको खेलमा बंगलादेशले भारतले दिएको १८८ रनको लक्ष्य २८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान पिनाक घोस ८१ रनमा अविजित रहे । मध्यक्रमका मोहमद ताबहिद रिद्धी ४८ रनमा अविजित रहे । मोहमद नाइम शेख ३८ र कप्तान मोहम्मद शेफ हसन १६ रनमा आउट भए ।

पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै बंगलादेशले जितको आधार बलियो बनाएको थियो । बर्षाका कारण ५० ओभरको खेललाई ३२ ओभरमा छोट्याइएको थियो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com