एमाले उपाध्यक्ष गौतमले,“बामदेव बर्दियाकै हो र बर्दिया बामदेवकै हो” भनेपछि उर्लियो बर्दियामा वाम समर्थकको लहर, आफुहरु कुनैपनि हालतमा विचलित नहुने भन्दै बामदेवलाई नै समर्थन गर्ने जनाए प्रतिवद्धता

rupani

बर्दिया २८ कार्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले मानखोलादेखि पश्चिम राजापुरसम्मको हुलाकी सडकलाई ५ वर्ष भित्रमा फोर लेनको बनाउने घोषणा गरेका छन् । उनले मंगलबार बढैयाताल गाउँपालिकाको वडा नं. ६ मैनापोखरमा चुनावी सभालाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

उपाध्यक्ष गौतमले मैनापोखरदेखि उत्तरमा रहेको महेन्द्र राजमार्गलाई ५ वर्षभित्र ६ लेनको बनाउने बताए । यसका साथै उनले पुर्वको ईलामदेखि सुदुरपश्चिमको डडेलधुरासम्म १३ सय किलोमिटर ६ लेनको बाटो बनाउने भन्दै भौतिक पुर्वाधारहरुको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।बर्दिया क्षेत्र नं. १ बाट प्रतिनीधि सभा उम्मेद्वार एमाले उपाध्यक्ष गौतमले बर्दिया छाडेर प्युठान किन रोजेको भनेर जनताले सोधेको प्रश्नमा प्युठान रोज्नुमा कुनै एक्लौटी निर्णय नभएको बताउँदै केवल पार्टीको निर्देशन अनुसार आफु चलेको प्रष्ट पारे ।

२०७० सालको संविधान सभा चुनाव जितेरपनि बर्दियालाई छाडी प्युठान रोजेका एमाले उपाध्यक्ष गौतमले भने,“म जुन सुकै ठाउँ जाउँ तर मेरो भित्री हृदयदेखिको लगाव र चिन्ता भने सधैं बर्दियालाई नै रहनेछ । किनकी यस क्षेत्रमा एमालेको जग बसाल्ने नै मै हुँ ।” मतदातालाई आफुप्रति मनमा कुनै शंका नउब्जाउन आग्रह गर्दै गौतमले भने,“बामदेव बर्दियाकै हो र बर्दिया बामदेवकै हो ।”नेता बामदेवले मंगलबार बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर र वडा नं. ७ पडरियाका मतदातालाई प्रत्यक्ष भेटेर केन्द्र र प्रदेशमा वाम एकताको सरकार बन्नेमा विश्वस्त हुन आग्रह गरे । साथै उनले कांग्रेसले जस्तो सुकै लोभ लालच देखाएपनि त्यसमा नपर्न सुझाव दिए ।

उपाध्यक्ष गौतमसंग रिसाएका भनिएका उक्त क्षेत्रका मतदाताहरु गौतमले प्युठान रोज्नुको कारण स्पष्ट पारेपछि सबैले गौतमलाई समर्थन जनाउँदै आफुहरु कुनैपनि हालतमा विचलित नहुने प्रतिवद्धता जनाए ।संविधान सभाको दोश्रो निर्वाचनमा विजय हाँसिल गरि बर्दिया छाडेका कारण जिल्ला विकास निमार्णमा पछाडि परेको भन्दै आगामि निर्वाचनहरुमा कुनैपनि हालतमा बर्दिया नछाड्न मतदाताहरुले आग्रह गरेका थिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com