धेरै लामो समय पछि भारतलाई ओलीको कडा झटारो : ‘मेरो ज्याकेट खोसेर तपाईंलाई न्यानो होला, मलाई त जाडो हुन्छ नि’ !

लाइट नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । विजय कुमारले ओलीसँग अन्तर्वार्ता लिएका हुन् । अन्तवार्ताको केही अंश यस्तो छ ।

भारतका सम्बन्धमा तपाईंका दृष्टिकोणहरूमा निरन्तरता छ कि मौसमअनुसार तात्ने र सेलाउने बानी छ ?

म एक देशभक्त नेपाली हुँ। नेपालको भूमि, नेपाली जनताको स्वाभिमान र भलाइप्रति बफादार छु। मैले अन्त कतैको शपथ गरेको छैन, नेपालको गरेको छु । हो, मैले पाहुना भएर अन्त खाएको पनि हुँला। पाहुना बफादार हुँदैन धेरै। आफ्नो घरप्रति बफादार हुने हो। कोही पाहुना आयो, तपाईंले उसलाई नास्ता गराउनु भयो भन्दैमा उसबाट धैरै बफादारीको अपेक्षा गर्नु पनि हुन्न। ऊ आफ्नै घरप्रति बफादार हुन्छ भन्ने सोच राख्नु बुद्धिमानी हुन्छ। मेरो कुरा त्यही हो।

मैले हाम्रो देश, हाम्रो भूस्थिति, हाम्रा छिमेकीहरूको अर्थ राजनीतिक व्यवस्थाहरू पनि बुझेको छु। उनीहरूसँग मैत्री सम्बन्ध राखेर मात्रै हाम्रो हित हुन्छ भन्ने पनि मलाई थाहा छ । छिमेकीसँग अनावश्क झमेला बोक्नु हुन्न भन्ने मलाई थाहा छ। हामी कुनै छिमेकीका विरुद्ध केही गर्न सक्ने हैसियतका पनि छैनौं। हामी कसैको कुभलो चिताउन्नौं। हामी फगत आफ्ना हितको रक्षा गर्छौं। यो कुरा हाम्रो कुनै दाउपेच होइन। तर छिमेकीले पनि सम्मानजनक व्यवहार गरून् भन्ने अपेक्षा गर्नु हाम्रो गल्ती हो र ? म विनम्रतापूर्वक भन्न चाहन्छु छिमेकीहरूलाई- सके हामीलाई मद्दत गर्नुस्। नसके हाम्रा आन्तरिक मामिलामा हात हालेर स्थिति नगिजोलिदिनुस्।

अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा म तीन कुरा भन्छु। पहिलो, हामीले सबैले आआफ्नो राष्ट्रिय हितलाई हेर्नुपर्छ । दोस्रो, आआफ्नो राष्ट्रिय हित हेर्दा त्यसभित्र न्याय हुनुपर्छ । मेरो ज्याकेट खोसेर लगेर तपाईंको भलो होला, न्यानो होला । तर मलाई त जाडो हुन्छ नि। न्याय त हुनुपर्‍यो नि। तेस्रो, अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको पनि सबैले ख्याल गर्नुपर्छ। ठूलाठूला देशहरूको प्रतिस्पर्धा होला । भारत र चीनको होला रे। वा अरूको होला रे। हामी सानालाई त्यसमा फस्नु छैन। हामीलाई त बाटो देऊ साथी हो, थिचोमिचो नगर, रगडामा नफसाऊ भन्ने चाहना मात्र छ।

काठमाडौंमा एकथरी वर्षौंदेखि ‘नेपालले चीन र भारतबीच समदूरी (इक्विडिस्टेन्स) राख्नुपर्छ’ भन्छन्। के त्यो सम्भव छ ? इक्विडिस्टेन्स (समदूरी) मान्ने कि इक्विप्रोक्सिमिटी (समसामीप्य) ?

म ‘समदूरी’ शब्द प्रयोग गर्दै गर्दिन। समसामीप्य (इक्विप्रोक्सिमिटी) रुचाउँछु। छिमेकीसँग मात्र होइन, सबैसँग पनि त्यही हो। निकटताको कुरा हो। दूरीको कुरा होइन। कसैको शरीरमा दुई मिटर कपडाले कोट बनाउन पुग्छ । कसैको शरीर अलि ठूलो होला कपडा अलि बढी लाग्ला । असमानता होइन त्यो। मित्रता भन्ने कुराको गणितीय मापन हुन सक्दैन।
तर जब हामी भारत र चीनसँग समसामीप्यको कुरा गर्छौं, भारतसँग जुन विविध आयामहरूमा सम्बन्ध फैलिएका छन्, त्यो प्रसंगमा मैले यो कुरा झिकेको हो।
समानता र समसामीप्यबाटै यसलाई हेर्नुपर्छ। सम्बन्ध बराबर नहुँदा भनेको के हो ? एउटाले भनेको अलि बढी मान्ने अर्कोले भनेको अलि थोरै मान्ने हो र ? पक्कै होइन । हामी दुवैको उत्तिकै हित चिताउँछौं। हामी आफ्नो राष्ट्रिय स्वार्थअनुसार गर्छौं। सुदामा र कृष्णको मित्रतालाई हेर्नुस् न। दुवैको दिने क्षमतामा धेरै अन्तर थियो। सुदामाले कनिका दिए, कृष्णले घरबंगला दिए। तर त्यसले मित्रतामा फरक पर्‍यो र!

मैले उठाउन खोजेको सन्दर्भ त्यति सजिलो होइन ओलीजी। दुनियाँमा कुन देश यस्तो छ, जसको दुई देशसँग बराबरीको सम्बन्ध छ ? बेलायतको अमेरिका र रूससँग वा जापानको चीन र अमेरिकासँग सम्बन्ध उत्तिकै बराबर छ र ? हुन सक्छ र ?

(लामो मौन) बराबर सम्बन्ध भनेको व्यापार हो ? रिलेसनसिप भनेको व्यापारको परिमाण मात्र होइन। तपाईंले आवागमनका कुरा गर्नु होला, तपाईंले भौगोलिक सहजताका कुरा गर्नु होला। हामीले यहाँनेर छिमेकीसँग बराबरी भनेको हो । घच्चापच्ची नसहने भनेको हो। पारस्परिक सम्मानको कुरा गरेको हो। एकअर्काका जायज, संवेदनशील स्वार्थ र गुनासालाई ध्यान दिनुपर्छ भन्या हो। हामी कसैका विरुद्ध छैनौं। दुवैका विरुद्ध उत्तिकै छैनौं। यो व्यापार र आवागमनको कुरा मात्र होइन।

उदाहरणका लागि मेरो घरछेउमा दुई पसल छन्। एउटा रासन पसल अर्को पान पसल। दुवै मेरा निम्ति जरुरी छन्। एउटाबाट म महिनाको एकपटक रासन किन्छु। धेरै रकम खर्च हुन्छ। महिनामा एकपटक मात्र जान्छु। पान पसलको मित्रकहाँ मेरो धेरै रकम खर्च हुन्न। तर म त्यहाँ दिनको दुईपटक जान्छु। तर दुवैसँग मेरो मित्रता छ। लेनदेनको वा आवागमनको मात्रा तलमाथि होला तर मित्रता दुवैसँग छ।अहिले हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण कुरा अहस्तक्षेपको हो। हामी फगत यति चाहन्छौं, सके मद्दत गर्नुस्। नसके हाम्रो आन्तरिक मामिलामा हात हालेर नगिजोलिदिनुस्। सबैभन्दा मुख्य कुरा त्यो हो।

भारत सायद यसकारण अत्यधिक चासो राख्छ किनभने सिमाना खुला छ, नेपालको बाटो भएर भारतमा आतंक मच्चाउन चाहनेहरूको विगत पनि त छ नि । अथवा तिब्बतलाई असन्तुलित बनाउन पनि त सकिन्छ नि ?

त्यो दुवै कुरा गर्न पाइँदैन। मिल्दैन। हुन दिइँदैन। छिमेकी मित्रहरूका जायज चासो रक्षा गर्न हामी यहाँ छैनौं र ? सरकार छैन र ?

तर नेपालको राज्य यति कमजोर छ कि भारतीयले हाम्रो विश्वास नगर्न पनि सक्छन् नि। वा नेपाल सरकारको क्षमता बाहिरका कुरा पनि हुन सक्छ नि ती कुराहरू ?

अनि, बिर्सनु भो अमेरिकामा पनि टिन टावर खस्या होइन ? पेन्टागनमा प्रहार भएको होइन ? अब अमेरिकाले कसलाई अपजस लगाउने ?

यति वर्षदेखि यहाँ जुन प्रकारका गतिविधिहरू भए, त्यसले गर्दा भारतले के हासिल गर्‍यो ?

केही न केही। केही पाएन। एउटा-एउटा मान्छे बोकेर उसले पनि बेकारको हैरानीबाहेक केही पाएन। एजेन्सीहरूका केही मान्छेहरूको निजी अहम् तुष्टि भयो होला। भारतका केही जायज संवेदनशीलता होलान्, हामी बुझ्छौं तिनीहरूलाई। हाम्रा पनि केही जायज संवेदनशीलता छन्। खोइ हामी त त्यहाँ हात हाल्न जाँदैनौं। फलानो मन्त्री चाहियो, फलानो सचिव चाहियो भनेर भन्छौं र ? भारतले पनि बुझिदिनु पर्छ।

म के भन्न चाहन्छु भने नेपाल भारत अत्यन्तै सम्बन्ध सुमधुर र विश्वसनीय हुनुपर्छ। नेपाल चीन सम्बन्ध पनि अत्यन्तै सुमधुर र विश्वसनीय हुनुपर्छ। हामीले एकअर्काप्रति वैरभाव किञ्चित मनमा पनि राख्नु हुँदैन । आशंका पनि गर्नु हुदैन। सहयोगी भावना हुनुपर्छ। एकअर्काका जायज संवेदनशीलतालाई सबैले बुझिदिनुपर्छ।

उनीहरूले आफ्ना जायज संवेदनशीलता र चासोहरू व्यक्त गरे त्यो तपाईंले हेर्नुहुन्छ ?
किन नहेर्ने ? जायज सरोकार छन् भने जरुर हेरिन्छ।

भारतले आफ्ना संवेदनशीलताहरू ‘आफ्ना खास’ मान्छे सत्तामा पुगेपछि मात्र सम्बोधन हुन्छन् भन्ने मानसिकताबाट मुक्त भएर नेपालमा जोसुकै सरकारमा होस्, छिमेकमा जोसुकै सरकार होस्, त्यसको हातमा संवेदनशीलताको सूचीपत्र थमाएर अगाडि बढ्ने नयाँ थालनी गर्दा बढी राम्रो हुन्छ कि ? बेकारको अन्तहीन, गैरउपलब्धिमूलक उछलकुद भन्दा ?

हो, गर्नुपर्ने त्यो हो। हामी पनि त्यही गर्छौं। हाम्रा पनि कुनै जायज विषयहरू छन् भने हामी भारतलाई प्रस्ट भन्छौं, चीनलाई पनि भन्छौं। उहाँहरूका पनि केही छन् भने, हामीलाई प्रस्ट भन्नुहोला। यहाँ उछलकुद गर्ने होइन। हामी त्यसलाई सम्बोधन गर्छौं। मैले सन् २००० तिरै भारतका केही नेतासँग कुरा गरेको थिएँ । भनेको थिएँ, ‘अब हामी नेपाल भारत सम्बन्ध सञ्चालनका पुराना मान्यता, तौरतरिका परिवर्तन गरौं। विश्वव्यापी सर्वस्वीकार्य तरिकाले अगाडि बढौं। हामीलाई सबैभन्दा चित्त दुख्ने कुराचाहिँ हाम्रा राजनीतिक मामिलाहरूमा हस्तक्षेप हो।

सत्तरी वर्षयताको अनुभव हेर्दा भारतले यहाँ आफैं हस्तक्षेप गर्छ कि हामी नै उसलाई हस्तक्षेपको निम्तो दिन्छौं अनि बेकारको हल्ला गर्छौं ?

यो तपाईंले बहुतै महत्वपूर्ण कुरा उठाउनुभयो। सही हो त्यो कुरा। ताली एकोहोरो बजेको छैन । पहिलेदेखि बानी पर्‍यो तिनीहरूलाई। भारतमा बेलायती शासन चल्दा पालादेखि यो क्रम पनि चल्दै आएको छ। कानमा उसले मन्त्र फुक्दा हामीलाई जतिसुकै अप्रिय लागे पनि, आफ्ना अप्रसन्नता हामीले जाहेर गर्न सकेनौं । यता हामीलाई पनि मानसिकता बन्दै गयो कि उता नसोधी हुँदैन। त्यो एउटा समस्याका रूपमा रह्यो । आज म तपाईंलाई फगत यति मात्र भन्दै छु कि यो परम्परालाई छोडेर आपसी सम्बन्धको नयाँ युग थालनी गरौं।

तपाईंले यसो भन्नुभयो भन्दैमा तपाईंलाई ‘एन्टी इन्डियन’ त ठानिनु हुँदैन नि।

म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? कसरी हुने ? हुनुपर्ने कुरै होइन। कोही पनि नेपालको हित चिताउने मान्छे एन्टी इन्डियन हुन सक्दैन। त्यसो भनेर यो अर्थ नलागोस् कि इन्डियाले हेप्दाखेरी नसहनु एन्टी इन्डियन हुनु होइन। इन्डियाले बुझ्नुपर्छ, हामी थिचोमिचोभित्रका एउटा रैती राज्य होइनौं। मित्र हौं।

विगत पचासौं वर्षदेखि जुन नीति भारतले नेपालमा अख्तियार गर्‍यो, त्योबापत के पायो त ?

केही पनि पाएन। केही मान्छेहरू… केही एजेन्सीका मान्छेको अहम् तुष्टि भयो होला, अरू केही भएन। दुवै देशका जनता विकासका अपार सम्भावनाबाट वञ्चित रहे । दुईचारजना मानिसको खुद्रा स्वार्थका कारण दुई देशका बीचमा यत्रो तनाव देखियो, जुन तनाव देखिनुपर्ने कुनै कारण नै छैन। होला, सीमा क्षेत्रमा सानातिना समस्या आउने जाने गरिरहन्छन् तर अब मूलभूत कुराहरूमा खुलस्त रूपले रियलाइज गरेर अगाडि जानुपर्छ। पारस्परिक लाभ, पारस्परिक सम्मान बढाउनु पर्छ, त्यसैबाट पारस्परिक विश्वासको वातावरण बन्छ । त्यसका लागि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन।

भारत नेपालका प्रति विल्कुलै निरपेक्ष बस्यो भने खाली भएको ठाउँमा चीनलाई ल्याउने ? अमेरिकालाई ल्याउने ?

खाली किन ? यहाँ हामी छैनौं ? हामी सरकार चलाउन सक्दैनौं र ? आपसी मित्रताका सकारात्मक र प्रभावकारी नीति बनाउन सक्दैनौं र ?

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com