जिवराज आश्रितकी पत्नि माया ज्ञवालीसंग विशेष अन्तरवार्ता ‘म अवसरवाट बञ्चित पारिएकी महिला हुँ’ (भिडीयो सहित)

सिर्जना

मदन भण्डारी र जिवराज आश्रितलाई नचिन्ने सायदै कम होलान् । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भयो । मदन भण्डारीकी श्रीमति विद्या देखि भण्डारी राजनीतिको नेतृत्व तहमा पुगीन् । उनी अहिले राष्ट्रपति छन् । तर सोही घटनामा आफ्नो जिवनसाथी गुमाएकी माया ज्ञवाली भने गुमनाम थिइन् ।
अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै राजनीतिक दलका नेताहरु चुनावी अभियानमा सकृय छन् । काठमाण्डौमा पनि त्यो माहौल तातेको छ । काठमाण्डौ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका एमाले महासचिव इश्वर पोखरेलको चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम धुम्बाराहिमा भइरहेको थियो । त्यो घरदैलो कार्यक्रममा भेटिइन् जिवराज आश्रितकी श्रीमति माया ज्ञवाली । यो पटक भने एमालेले उनलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । त्यसैले उनी पनि पार्टीको चुनावी अभियानमा सकृय भएर लागेको भेटिइन् । सोही कार्यक्रममा भेटिएकी माया ज्ञवालीसंग लाइट नेपालले छोटो कुराकानी गरेको छ ।

धेरै पछि अहिले समानुपातिकमा एमालेले तपाईलाई सम्झेछ कस्तो लागेको छ ?

पार्टीले मलाई विर्सने कुरै भएन । म त्यही पार्टी भित्रको सदस्य परे । त्यसमा पनि महिला । राजनीतिक हिसावले लामो समय सम्म लागेर पार्टीकै निम्ति जिवनै उत्सर्ग गर्नेको परिवारको सदस्य परें त्यसैले पार्टीले मलाई बिर्सने कुरै भएन ।

यस पटक तपाईलाई समानुपातिमा राखेर संसदिय ब्यवस्थामा अगाडी बढाउन तपाईलाई सारेको छ । तर अलि ढिलो सम्झ्यो पार्टीले भन्ने लाग्दैन ?

ढिलो भएपनि पार्टी भित्र नरहे पनि बाहिर बसेर मैले मुलुकका लागि योगदान गरिरहेकी थिए । पार्टीलाई पनि सहयोग गरिरहेकी थिए । तर यस पटक पार्टीले प्रत्यक्ष जनताको सामु जाने अवसर दियो । यसमा सबै न्यायप्रेमी जनतालाई म के आग्रह गर्छु भने । म यो पार्टी त्यो पार्टी पनि भन्दिन । जिवराज आश्रितले मुलुकका लागि गरेको योगदान सम्झिदिनुहोस् । पार्टी नहेरेर आश्रितको परिवारलाई माया गरिदिनुहोस् । सबैले समानुपातिकमा हाम्रो पार्टीलाई भोट दिएर मलाई जनताको सेवा प्रत्यक्ष रुपमा गर्ने अवसर दिनुहुन अनुरोध गर्छु ।

तपाई अहिले प्रत्यक्ष रुपमा नागरिकको माझमा जांदा कस्तो प्रतिकृया पाउनुभएको छ ?
मलाई प्रत्यक्ष र अप्रत्यक्ष सबै नागरिकले चिन्नुहुन्छ । म मतदाताको माझमा जांदा ‘ए तपाई पनि अगाडी आउनु भएछ निकै खुसी लाग्यो’ भन्नुहुन्छ । मलाई मतदाताले हार्दिकताका साथ स्वागत गर्नुभएको छ । मतदाताले म प्रति देखाएको हार्दिकताले  निकै कृतज्ञ छु । सबैको माया र सद्भाव पाएकी छु । म मात्र होइन । हाम्रो पार्टीमा म जस्ता थुप्रै महिलाले अवसर पाउनु भएको छैन । म उहांहरुको तर्फवाट प्रतिनिधित्व गर्छु । त्यसैले यो पटक बाम गठबन्धनलाई भोट दिएर हामी जस्ता अवसरवाट बञ्चित गरिएका महिला र त्यागी उम्मेदवारहरुलाई विजय गराउनुहुनेछ भन्ने विश्वासमा छु । मुलुकका निम्ति त्याग गर्ने र मुलुकका लागि जिवन अर्पण गर्ने परिवारलाई पक्कै पनि माया गर्नुहुन्छ ।

समानुपातिकमा उम्मेदवार हुनुहुन्छ । तपाईलाई पार्टीले अवसर दिन्छ भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म विश्वस्त छु । औंलामै गन्दा पनि म जस्ता छुटेका महिला अवसरका लागि अनुकुलमा नपरेका महिलाहरु हामी सायद नगन्ने नै छौं । त्यसैले म सय प्रतिशत नै म आउँछु भन्ने लाग्छ । हाम्रो पार्टी यो पटक दह्रो प्रतिशत सहित विजयी हुन्छ । त्यसैले म पनि जनताको सेवागर्न मौका पाउँछु ।

अहिले आएका नयाँ पुस्ताले मदन भण्डारी र जिवराज आश्रितलाई कसरी लिन्छन् जस्तो लाग्छ ?

हुन त म शाह वंशको र राजतन्त्रको विरोध गर्ने ब्यक्ति हुँ । तर राष्ट्र निर्माण गर्ने शाह वंशका पृथ्वी नारायण शाहको योगदानलाई म मान्छु । उनले मुलुकलाई एतत्रित नगरेको भए अहिले विभिन्न प्रदेश छुट्याएर प्रदेशको निर्वाचनमा जान पाउंदैनथ्यौं । त्यस्तै मदन भण्डारी र जिवराज आश्रित जस्ता महान नेताका विषयमा अहिलेको पुस्तालाई जानकारी दिने काम हामीले गर्नुपर्छ । यस्ता महान ब्यक्तित्वलाई इतिहाँसको पाठ पनि बनाउनु पर्छ । विद्यालय र क्याम्पस तहमा उहांहरु जस्ता सबै राजनेताका योगदानका विषयलाई पाठ्य सामग्रीमा समावेश गरिनुपर्छ । त्यस्तो खालको म्युजियम पनि बनाउनुपर्छ । राम्रो कुरा कहिले पनि मेटिदैन ।

जिवराज आश्रितलाई कसरी सम्झ्यो भने उहांको योगदानको कदर हुन्छ भन्ने लाग्छ ?

उहां जनता प्रति इमान्दार हुनुहुन्थ्यो त्यसैले पार्टीमा उहां सफल हुनुभयो । कुशल संगठक हुनुभयो । पहिलो कुरा नेतामा हुनुपर्ने इमान्दारीता हो । अर्को कुरा जनताको सेवा गर्न तत्पर हुनुपर्छ । उहांमा आर्थिक, सांगठनिक रुपमा मात्र नभएर हरेक कुरामा उहां इमान्दार हुनुहुन्थ्यो । त्यही कुराले नै उहां माथि पुग्नुभएको हो । त्यही गुण सम्झिदिए हुन्थ्यो भन्ने लाग्छ र अहिले पनि साथीहरुले सम्झिरहनु भएको पनि छ ।

प्रस्तुती: श्रृजना आचार्य

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com