च्याम्पियन्स लिग : एथ्लेटिको मड्रिडको यात्रा टुंगियो, चेल्सी अन्तिम १६ मा

लाइट नेपाल

काठमाडौं, २० मंसिर । स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । अवे मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा इंग्लिस क्लब चेल्सीसँग १–१ को बराबरीमा रोकिएसँगै एथ्लेटिकोको यो वर्षको च्याम्पियन्स लिग यात्रामा पूर्ण बिराम लागेको हो । यो बराबरीले एथ्लेटिको यात्रामा टुंगो मात्रै लगाएन समूह विजेता बन्ने चेल्सीको बाटो पनि रोकियो ।

खेलमा दुवै गोल एथ्लेटिकोका खेलाडीले गरेका हुन् । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए । तर ७५ औं मिनेटमा एथ्लेटिकोका स्टेफान साविकले आत्मघाति गोल गरेपछि खेल १–१ को बराबरी भयो । चेल्सीका अल्भारो मोराटा र इडन हजार्डले गोल गर्ने सुन्दर प्रयास गरेका थिए । तर त्यसमा उनीहरु सफल हुन सकेनन् ।

बराबरीपछि चेल्सी समूह ‘बी’ उपविजेतामा सीमित भयो । उसको ६ खेलबाट ११ अंक भएको छ । यस्तै राति नै भएको खेलमा एफके क्वाराब्यागलाई १–० ले हराएको रोमा भने समूह विजेता बन्यो । उसको पनि ११ अंक नै छ तर गोल अन्तरका आधारमा चेल्सीलाई पछि पारेको हो । चेल्सीले अन्तिम १६ मा बार्सिलोना वा पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नु पर्ने हुन सक्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com