सन्सारबाटै लोप हुन लागेको नेपालमा मात्र पाइने जनजाति, यसरी हुंदैछन् मालामाल

सिर्जना

काठमाण्डौ, २० । सन्सारबाटै लोप हुन लागेको नेपालमा मात्र पाइने जनजाति हायुले उद्यम गर्ने शीप सिकेर अहिले पैसा साथै इज्जत समेत कमाइरहेका छन् । नेपालको रामेछाप लगायतका ४ जिल्लामा मात्र ३ हजार भन्दा कम जनसंख्या रहेको हायु समुदाय लोपोन्मुख जातिमा पर्दछ ।

युएनडिपीको सहयोगमा उद्योग मन्त्रालयद्वारा सञ्चालित लघु उद्यम बिकास कार्यक्रम ९मेडेप०ले सहयोग गरेपछि अहिले भने लोपोन्मुख हायु समुदाय आधुनिक व्यवसाय तर्फ लागेको छ । रामेछाप नगरपालिकास्थित वादी र मुढाजोरका ८० परिवार हायु मौरीपालन व्यवासयतर्फ लागेका हुन् ।

गत बर्ष मेडेप मार्फत ८० हायु परिवारलाई आवश्यक शीप, प्रतिपरिवार ५ घार र सेरेना जातका माहुरी प्रदान गरिएको थियो ।
‘पहिलो बर्षमै १५ किलो मह बेचेँ ।’ ४० बर्षिया सरस्वती हायु भन्छिन्, ‘खेतीपाती र पशुपालन भन्दा माहुरी पालन सजिलो लाग्यो, गत बर्षको कमाईबाट २ घार आफैँले थपेँ ।’ सरस्वतिका अनुसार मौरी पालन गर्दा संरक्षण र चरन व्यवस्थापन गरेको भरमा फाइदा लिन सकिन्छ । चिउरीको फूलमा रस धेरै लागे मह पनि धेरै हुने उनको आशा छ ।

मेडेपले तालिम, मौरी पालनका लागि आवश्यक सामग्री र मौरीसहितका घारका लागि करिव ३८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो । ८० मध्ये ६० घार महिलालाई वितरण गरिएको थियो । सुरुमा घार लिँदा कसरी होला र भन्ने लागेको थियो, तर पछि राम्रो फाइदा भएपछि सबै महिलाको आकर्षण मौरीपालनमा रहेको हायु समाजका केन्द्रिय अध्यक्ष समेत रहेका स्थानीय धनबहादुर हायुले बताए । उनी आफैले गत बर्ष ३५ केजी मह बेचे । ‘मेडेपले मौरी सहयोग ग¥यो, रामेछापका डाँडाभरि चिउरीका बोट छन् । माहुरी जोगाउन सके र फूलमा पर्याप्त रस भए महबाट निकै फाइदा हुँदो रहेछ’ धनबहादुरले भने ।

अशिक्षाका कारण कम जनचेतना रहेको हायु महिलामा पहिलाका तुलनामा अहिले धेरै परिवर्तन आएको उद्यम विकास सहजकर्ता दिपा बराल बताउँछि । बरालका अनुसार हायु समुदाय अहिले आर्थिक विकासका लागि व्यवसायतर्फ लम्कन प्रयास गरिरहेको छ । पहिले पहिले गुजाराका लागि अरुकोमा ज्यालादारी काम गर्न जाने महिला अहिले आफैले व्यवसायमा गरेर आत्मनिर्भर बनेका हुन् । लोपोन्मुख हायु समुदायको जीवनस्तर माथि उकास्न जिल्ला लघु उद्यम संघ लागिपरेको अध्यक्ष गुन्जबहादुर कार्कीले बताए ।

हायु समुदायबाटै पहिलो पटक जमुना हायुले रामेछाप नगरपालिकामा वडा सदस्य पदमा चुनाव जितिन् । उनीपनि माहुरी पालनमा आवद्ध छिन् । हायु महिलालाई उद्यमले पैसाको साथै इज्जत पनि दिइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । मौरी पालनका लागि उपयुक्त हावापानी र उचित चरनको समेत व्यवस्था रहेकाले उक्त ठाउँमा मौरीपालन व्यावसायबाट दीर्घकालिन फाइदा लिन सकिने कार्कीको भनाइ छ ।

गाउँमा सिजनमा चिउरी प्रशस्त हुने भएकाले मौरीपालन सँगै चिउरीबाट उत्पादन हुने तेल , साबुन लगायतका सामग्री बनाउने पेशामा आवद्ध गर्न सके हायु समुदाय आर्थिक रुपमा छिट्टै सफल हुने देखिन्छ । मेडेपले देशभरी ९,४८२ मह र माहुरीसँग सम्बन्धित लघु उद्यमी सृजना गरेको छ । जसमध्ये रामेछापमा मात्रै २५० मह उत्पादक लघु उद्यमी छन् । जसमध्ये ८० हायु समुदायका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com