एमालेसंग वडा अध्यक्षमा ४ मतले हारेपछि राजेन्द्र कतार पुगे

लाइट नेपाल डटकम

इलाम, मंसिर २० – ‘ऊबेला अहिलेको जस्तो आमसभा हुन्नथ्यो, एक पार्टीका मानिसले अर्को पार्टीकालाई आरोप लगाउँदैथे,’ इलाम नगरपालिका ४ का राजेन्द्र निरौला २०५४ मा भएको स्थानीय चुनावको सम्झना गर्दै भन्नुहुन्छ, ‘त्यसबेला आमसभामा भाषणको विषयवस्तु हुन्थ्यो, कसरी गाउँको विकास गर्ने ।’


राजेन्द्र २०५४ मा भएको स्थानीय चुनावमा साविक बरबोटे गाविस वडा नम्बर ४ का लागि नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । तर त्यस चुनावमा राजेन्द्र निकटतम प्रतिद्वन्द्वी मात्रै भए । नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भए । ‘मेरा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर विश्वकर्माले ४ मत अन्तरले मलाई जित्नु भएको थियो,’ राजेन्द्रले भन्नुभयो ।

‘त्यो बेला मैले जितेको भए बरबोटे क्षेत्रको मुहार फेर्ने थिएँ, स्थानीय स्रोतसाधनको परिचालन गरी युवा स्वरोजगार अभियान चलाउँथे,’ राजेन्द्रले भन्नुभयो, ‘तर सोचेभन्दा विपरित नतिजा आयो ।’चुनावमा हार बेहोरेपछि राजेन्द्रको मन गाउँमा अडिएन । घरको आर्थिक अवस्था पनि कमजोर थियो । ३२ वर्षको खाइलाग्दो उमेरमा हातमा कुनै जागिर थिएन । निराश हुँदै उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर थियो, २०५६ को संसदीय चुनावमा भाग लिएर आर्थिक व्यवस्थापनका लागि म विदेश हिँडे ।’

राजेन्द्र रोजगारीका लागि कतारको अल्मेरी कम्पनीमा पुग्नुभएको थियो । उहाँले १८ वर्ष त्यही कम्पनीमा काम गर्नुभयो । कतारमा काम गर्दाको अनुभव सुनाउदै उहाँले भन्नुभयो, ‘१८ वर्ष अर्काको देशमा दास बनेर काम गरेँ । काम गर्न सजिलो थिएन । पाँच सय मिटर माथि चढेर पेन्टिङ्ग गर्नु पर्थ्याे। सडकमा बेल्चा चलाउनु पर्थ्याे। सडकका नाली सफा गर्नु पर्थ्याे । घामपानी भन्न पाइन्थ्यो ।’

राजेन्द्र कतारको सनैया भन्ने ठाउँमा काम गर्नुहुन्थ्यो । विदेश रहँदाको पीडा सुनाउँदै राजेन्द्रले नेपालमा गरिखान सक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनुभयो । सनैयामा काम गर्दाको दिन सम्झँदै राजेन्द्रले भन्नुभयो, ‘इलाम सदरमुकाम भन्दा सानो छ त्यो ठाउँ । इलामका मात्र १० हजार युवा त्यहाँ काम गर्छन् ।

जिम्मेवारीमा बसेका नेताहरुले नेपालमा सही नीतिनियम लागु गर्न नसक्दा कैयौं युवा बेरोजगारी समस्या हटाउन विदेशिएको राजेन्द्रको बुझाई छ । त्यसका लागि सही नेतृत्व क्षमता भएका व्यक्ति नागरिकको रोजाईमा पर्नुपर्ने उहाँले बताउनुभयो । ‘नेपालका जनशक्ति नेपालमा नै परिचालन गर्नुपर्छ । यसो गरे नेपालका युवा विदेश जाने होइन, विदेशका युवा नेपाल आउँछन् ।’

१८ वर्षपछि राजेन्द्र गाउँ फर्केर आउनु भएको छ । फोटो सहितको मतदाता नामावलीमा नाम नहुँदा उहाँले २०७४ को स्थानीय तह चुनावमा भोट लाउन पाउनु भएन । तर अहिले मतदाता नामावलीमा उहाँको नाम छ । त्यसैले प्रतिनिधिसभा र प्रदेशसभामा उहाँले मतदान गर्दै हुनुहुन्छ ।

लामो समयपछि भोट हाल्न पाउँदाको खुसी उहाँले लुकाउनु भएन । भन्नुभयो, ‘यो भन्दा ठूलो खुसी मेरा लागी अर्को छैन । नेपाललाई सही नेतृत्व क्षमता भएका व्यक्तिको खाँचो छ । युवालाई परिचालित गर्ने युवा नेता आउनुपर्छ । यसैको खोजीमा निर्वाचन सहभागी हुँदैछु ।’

सुजता सुनुवार/उज्यालो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com