कञ्चनपुर र डडेल्धुरामा मतदान शुरु

लाइट नेपाल

भीमदत्तनगर, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर र डडेल्धुरामा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ ।कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले यहाँका तीनवटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा सदस्यका लागि एकसाथ मतदान शुरु भएको जानकारी दिए । कञ्चनपुरमा रहेका ३२० वटै मतदान केन्द्रमा मतदान शुरु भइसकेको मुख्य निर्वाचन अधिकृत आर्चायले बताए।

“सबैतिर मतदान शुरु भइसक्यो,” उनले भने “वर्षातले केही समस्या परिहाले पनि सुरक्षित हिसाबले मतदान जारी रहन्छ ।” उनले बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने बताए । सो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अरु सवारीसाधनलाई भने पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्लाभर शान्तिपूर्ण वातारणमा मतदान भइरहेको बताए ।“अहिलेसम्म सबै निर्वाचन क्षेत्रमा मतदान गर्न मतदाता उत्साहका साथ मतदानस्थल आइरहेका छन् ।” उनले भने “मतदानस्थलदेखि सबैतिर सुरक्षा सर्तकता बढाएका छौँ ।” त्यसका साथै नेपाल भारत सीमासमेत बन्दज गरेर कतिपय स्थानमा नेपाली र भारतीय सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त गस्तीसमेत भइरहेको छ ।निर्वाचनका लागि दुई हजार ५६० जना कर्मचारी खटिएका छन् भने निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब चार हजारको संख्यामा खटिएका छन् । कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेको छ ।

 

डडेल्धुरा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको छ ।डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मतदान केन्द्रमा बिहान सात बजेदेखि उत्साहपूर्ण ढगंले मतदान गर्न मतदाता लाइनमा बसिरहेका छन् । आज बिहान ५ बजे परेको हल्का वर्षाले मतदानलाई प्रभाव पार्ने देखिएको भएता पनि अहिले भने आकाश खुलेको छ ।प्रधानमन्त्री देउवाले ९ बजेपछि मात्र मतदान गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिईन । उनले अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरे । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com