रुपन्देहीमा मतदाताको उल्लासपूर्ण सहभागिता

लाइट नेपाल

 

बुटवल, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको आज निर्वाचन रुपन्देही जिल्लामा शान्तिपूर्ण रुपमा शुरु भएको छ ।प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला पाँचवटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि नै मतदान शुरु भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।जिल्लाका सबै मतदानस्थलमा बिहानदेखि नै मतदान गर्न मतदाताको उल्लासपूर्ण सहभागिता रहेको जिल्ला निर्वाचन आयोगका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।जिल्लामा २०८ मतदानस्थलमा ५९८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा आठजना कर्मचारी र चार जना स्वयंसेवक खटाइएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी एक हजार ६६३, सशस्त्र प्रहरी एक हजार ४८, नेपाली सेना ९००, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी दुई हजार ३७८ गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।उनले जिल्लाका प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाका २०८ मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ७५ अतिसंवेदनशील, ४५ संवेदनशील र ८८ सामान्य रहेको र सोहीअनुरुप जिल्लाको सुरक्षालगायत निर्वाचनको व्यवस्थापन मिलाइएको बताए ।

रुपन्देहीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदाता छन् ।रुपन्देही जिल्लाबाट शीर्ष नेतामा नेकपा (एमाले)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका–८ स्थित सडक विभाग मतदानस्थलबाट बिहान ७ः१५ बजे मतदान गर्नुभएको छ ।

यस्तै नेपाली काँग्रेसका नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जिल्लाको क्षेत्र नं १ को तिलोत्तमा नगरपालिकास्थित ज्योति निमावि मतदानस्थलमा बिहान ८ बजे मतदान गरेकाछन् ।यस्तै स्वास्थ्यमन्त्री तथा राष्ट्रिय प्रजातान्त्र पार्टी(प्रजातान्त्रिक) का उपाध्यक्ष दीपक बोहराले बिहान ७ बजे नै सिद्धार्थनगर नगरपालिका–३ स्थित खजना निमावि मतदानस्थलबाट मतदान गरे।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com