भवीन्द्रको अर्को अनुसन्धान सफलः शून्यले गणितमा निम्त्याउने समस्याको कारण र समाधान पत्ता लाग्यो

लाइट नेपाल

बेनी (म्याग्दी), २४ चैत । नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ ।

‘दुर्यान्तर’ नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका युवा वैज्ञानिक भवीन्द्र कुँवरले फेरि अर्को ‘गणितीय सम्बन्ध’ सारीकरण पत्ता लगाएका छन् ।

उनले लामो समयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन् । सारीकरण पत्ता लागेपछि झन्डै पाँच हजार वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अङ्कगणितीय समस्याको समाधान भेटिएको हो ।

विगत लामो समयदेखि पूर्व तथा पश्चिमका गणितज्ञहरुले शून्यका कारण गणितमा समस्या रहेको स्वीकार्दै आएका थिए । उनीहरुले शून्यसम्बन्धी उक्त समस्यालाई गणितीय त्रुटिहरुमा सूचीकृत गर्दै आएका थिए । कुँवरको यस खोजपछि गणितमा उक्त समस्या आउनुका पछि लुकेर रहेको अन्तर्निहित कारण भेटिनुका साथै सम्बन्धित समस्या स्पष्टरुपले निवारण हुन पुगेको हो ।

“अन्य विषयहरुमा खोज गर्ने क्रममा शून्यसँग सम्बन्धित अध्ययन सामग्री पनि सङ्कलन गर्ने र सम्बन्धित खोज गर्ने कार्य गर्दै आएको थिएँ । मन अलिक हतारिएको थियो । अन्तर्तहमा छिपेर रहेको वास्तविक रहस्य भेटिएपछि पनि कारण किटेर निर्णय लिनका लागि पर्याप्त प्रमाणहरुको खोजीमा थिएँ । खोजपछि सम्बन्धित लेख तयार पार्न पनि निकै समय लाग्यो” – खोजकर्ता कुँवरले बताउनुभयो ।

कुँवरले यस खोजका बारेमा स्पष्ट गर्नका लागि एउटा विस्तृत जानकारीसहितको लेखसमेत प्रकाशित गरेका छन् । ‘शून्यको अङ्कगणितीय भूमिका’ शीर्षकको उक्त लेखमा सार, सारीकरण, शून्यको अङ्कगणितीय भूमिका र अर्थ आदि शून्यसँग सम्बन्धित विविध विषयबारे स्पष्ट गरिएको छ ।

लेखमार्फत शून्य जोर सङ्ख्या नहुनुका कारण र प्रमाणहरु दिएका कुँवरले बराबर र शून्यबीचको सम्बन्धको सीमा के हो ? भन्नेबारे पनि स्पष्ट पारेका छन् । शून्यले खेल्ने भूमिकाजस्तै भूमिका खेल्ने एउटा अर्को सङ्केत शून्यजस्तै आकारमा रही स्थानमानका रुपमा कसरी रहेको थियो ? भन्ने कुराको रोचक भेदसमेत उनको खोजमा स्पष्ट गरिएको छ ।

विगत २५ वर्षदेखि विज्ञानका क्षेत्रमा खोज गर्दै आएका कुँवरले २०६७ सालमा ‘भौतिक शास्त्रमा भएका केही त्रुटिहरुका खण्डन र समाधान’ शीर्षकको पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तकमा शून्यले निम्ताएका समस्याबारे तीनवटा छोटा लेख प्रकाशित गरेका थिए ।

शून्यसँग शून्य बराबर हुन्छ भनी मान्दा निम्तिने गणितीय समस्याले वर्षौंदेखि विश्वभरिका गणितज्ञलाई सताएको थियो । त्यसको कारण र समस्याको निवारण सारीकरणको पत्ता लगाइबाट स्पष्ट हुन पुगेको कुँवरले बताएका छन् ।

केही समयअघि दुर्यान्तर पत्ता लगाएका कुँवरले विज्ञानसम्बन्धी पाँचवटा पुस्तक र दर्जनौँ अनुसन्धानपत्र लेखेका छन् । उनले शून्यसँग सम्बन्धित भाव, अभाव र विपरीत भावसम्बन्धी नयाँ धारणा पनि उक्त लेखमा प्रस्तुत गरेका छन् ।

आफ्नो लेखमा चिनियाँ लेखन पद्धति र हिन्दू अरेबिक लेखन पद्धतिको तुलनात्मक अध्ययन गर्दै शून्यको वास्तविकता पहिल्याएका खोजकर्ता कुँवरले आफू गणितको विद्यार्थी भएकाले पनि गणितमा गहिरो रुचि रहँदै आएको बताए ।

शून्य र सङ्ख्या गुणन गर्दा वा शून्यलाई कुनै सङ्ख्याले भाग गर्दा आउने परिमाणले गणितीय समीकरणका सम्बन्धमा गम्भीर प्रश्न खडा गरेको थियो । शून्यले कुनै सन्दर्भहरुमा जुनसुकै सङ्ख्यासँग जुनसुकै सङ्ख्या बराबर हुन्छ भन्ने गलत परिणाम दिने गथ्र्यो । त्यतिबेला (विसं २०६७ मा) पुस्तक प्रकाशन गर्दा आफूलाई शून्यका कारण गणितमा देखिएको त्रुटि औँल्याउन सजिलो लागेको थियो तर समाधान पहिल्याउन सजिलो भएन, निकै समय लाग्यो, जटिल पनि भयो – कुँवरले जानकारी गराए ।

गणित पनि पद, पदावली तथा वाक्यहरुमा निहित अर्थहरुको जगमा उभिएको व्यवस्था हो । यसले नाप, आकार, गणना, वर्गीकरण तथा तुलनाका सन्दर्भमा सप्रमाण वस्तुगत अध्ययन गर्छ । यसमा प्रयुक्त सङ्केतहरु अद्वैतार्थी हुनुपर्दछ । गणित नभएको भए संसारको स्वरुप आजको जस्तो हुन सम्भव थिएन । तर गणितमा पनि अन्य विषयमा झैँ प्रशस्त अपूर्णताहरु छन् । नयाँ खोजहरुले गणितलाई समृद्ध तुल्याउँदै जान्छन् – खोजकर्ता कुँवरले बताए ।

सन् ४७६ मा भारतमा जन्मिएका खगोलशास्त्री तथा गणितज्ञ आर्यभटृले सर्वप्रथम शून्य पत्ता लगाएको मानिन्छ । त्यसपछि सन् ५९८ मा जन्मिएका अर्का खगोलशास्त्री तथा गणितज्ञ ब्रह्म गुप्ताले आफ्नो पुस्तक ‘ब्रह्मस्फूट सिद्धान्त’मा शून्यका विभिन्न सम्बन्ध र स्वरुपबारे स्पष्ट पारेका थिए ।

गुप्ताले त्यतिबेला दिएको मान्यतामा केही सुधार भएपनि शून्यको अङ्कगणितीय स्वरुप र सम्बन्धका सन्दर्भमा त्यसभन्दा पछि थप नयाँ कुराहरु जोडिन सकेका थिएनन् । रासस

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com